कला र संस्कृति विना समृद्धि असम्भव छ : जोशी

शेयेर गर्नुहोस


टीकापुर ०८ असार /
सुदुरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले कला र संस्कृतिलाई पन्छाएर विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।
खप्तड साँस्कृतिक परिवारको आयोजनामा सुरु भएको खप्तड नृत्य ताराको फाइनल कार्यक्रममा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जोशीले संस्कृतिलाई पन्छाएर विकास र समृद्धि सम्भव नहुने बताएका हुन । “म सरकारलाई आग्रह गर्न चाहन्छु । कला र संस्कृतिको क्षेत्रमा पनि बजेट विनियोजन हुनुपर्छ ।” उनले भने, “कला र संस्कृतिको विकास विनाको समृद्धि असम्भव हो ।”
सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान पहिचानको खोजीमा रहेको बताउँदै जोशीले त्यस्ता पहिचान झल्काउने संघसंस्थाको हक हितमा लागि आफू लडिरहेको बताएका छन् । केही कानुनी अड्चनका कारण विगत लामो समयदेखि चलायमान हुन नसकेको प्रज्ञा प्रतिष्ठानको विधान संशोधन गरेर सबैको साझा बनाउने प्रयत्न भएको उनको भनाई छ । “प्रतिष्ठानलाई सबैको साझा बनाउन सकेका थिएनौं । अहिले विधान संशोधन गरेर सबैको साझा बनाउने प्रयास गरिरहेका छौँ ।” जोशीले भने, “त्यसो भएको खण्डमा हाम्रा सबै कला, संस्कृति र पहिचान त्यसैभित्र समावेश हुनेछन् ।” कार्यक्रममा उनले टीकापुरमा बृहत् साहित्य महोत्सव सञ्चालनका लागि १० लाख बजेट विनियोजन गरिएको पनि बताए ।
कार्यक्रममा टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले खप्तड नृत्य तारा एउटा नयाँ अवसरको रुपमा सुरुवात गरिएको बताउँदै त्यसलाई स्थापित गरिनुपर्ने बताएका छन् । उनले यस्ता विभिन्न सकारात्मक गतिविधिले समाजलाई सकारात्मक बाटोमा लैजान मद्दत गर्नुका साथै व्यक्तित्व विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै वीरेन्द्र बिद्यामन्दिर माद्यामिक बिधालयका सहप्राचार्य डा योगेन्द्र बजगाईले प्रज्ञा प्रतिष्ठानले गर्ने कार्यक्रमहरुमा टीकापुरलाई पनि समेट्न आग्रह गरेका छन् । कार्यक्रममा उनले बालबालिकाले असल संस्कार सिक्नु पनि शिक्षा भएको बताए ।
खप्तड नृत्य ताराको उपाधी संस्कृतिलाई
खप्तड नृत्य ताराको उपाधी न्युलाइट एजुकेसन होमकी संस्कृति थापामगरले हात पार्न सफल भएकी छिन । जेठ २४ गतेबाट औपचारिक रुपमा सुरु भएको नृत्य ताराको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई उछिन्दै थापामगरले उपाधी हात पारेकी हुन । उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार, प्रमाणपत्र, गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । त्यसैगरी प्रतियोगिताको दोस्रो स्थान कर्णाली माद्यामिक बिधालयकी छात्रा आयुशा शाहीले हासिल गरेकी छन् । उनले २५ हजार नगद सहितको पुरस्कार प्राप्त गरेकी छन् ।
त्यसैगरी भृकुटी शिक्षा सदन टीकापुरकी घृतेशा थारुले तेस्रो स्थान हासिल गर्दै १५ हजार नगद सहितको पुरस्कार प्राप्त गरेकी छन् भने प्रतियोगितामा शान्त्वना स्थान महेन्द्रशिशु माद्यामिक बिधालय धर्मापुरकी प्रेङ्का विकले ५ हजार नगद सहितको पुरस्कार प्राप्त गरेकी छन् । फाइनल पुग्ने २५ जना प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
परिवारका अध्यक्ष नवराज रिमालको अध्यक्षतामा भएको फाइनल कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष झनकराज तिमिल्सिनाले गरेका थिए भने सञ्चालन महासचिव भक्तराज देवकोटाले गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *