कला संस्कृतिले सामाजिक एकता कायम गर्छ : थारु

शेयेर गर्नुहोस


टीकापुर ०७ वैशाख /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले कला र संस्कृतिले सामाजिक एकताको काम गर्ने बताएका छन् ।
खप्तड साँस्कृतिक परिवारको चौथो केन्द्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले कला र संस्कृतिले सामाजिक एकता कायम गर्न ठूलो मद्दत गर्ने गरेको बताएका हुन । “हाम्रा आआफ्ना कला र संस्कृति छन् । तिनको संरक्षण र सम्मान सबैले गर्न सक्नुपर्छ ।” उनले भने, “जब एकले अर्काको कलासंस्कृतिको सम्मान गर्न सक्छ, त्यहाँ सामाजिक एकता सहितको सामाजिक सद्भाव कायम हुन्छ ।”
नगर प्रमुख थारुले समाजमा सामाजिक तथा साँस्कृतिक क्षेत्रमा काम गर्ने उद्देश्य बोकेका संघसंस्थाहरुलाई समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव पनि दिएका छन् । उनले त्यसरी एकताबद्ध रुपमा आउन सके नगरपालिकाले पनि सहयोग र समन्वय गर्न सहज हुने विश्वास उनको छ । “हिजो नगरपालिका आफैले बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । त्यसमा यसक्षेत्रका संघसंस्थालाई समेटेर काम गरेका थियौं ।” नगर प्रमुख थारुले भने, “अब नगरपालिकाले कार्यक्रम गर्दैन, समन्वय सहकार्य गरेर अगाडि बढ्ने छ । त्यसका लागि संघसंस्थाको एकता हुन जरुरी छ ।”
साँस्कृतिक संघसंस्थाहरुलाई पहिचान झल्किने गरी समाजमा प्रस्तुत हुन पनि नगर प्रमुख थारुले आव्हान गरेका छन् । कार्यक्रममा नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावल, वडा नं. १ का निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्य, समाजसेवी सुभनाथ देवकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । साँस्कृतिक परिवारका अध्यक्ष गणेश साउँदको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष नवराज रिमालले गरेका थिए, भने सञ्चालन महासचिव भानुभक्त जैशीले गरेका थिए ।
अधिवेशनको उद्घाटन सत्रमा वरिष्ठ देउडा गायक राजाराम भाटलाई अभिनन्दन गरिएको छ । विगत लामो समयदेखि स्वस्थ्य समस्या झेल्दै आएका भाटलाई परिवारले देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट ११ हजार नगद आर्थिक सहयोग पनि गरिएको छ । त्यसैगरी देउडा गायक महेन्द्र विक र परिवारका संस्थापक अध्यक्ष तथा वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मीलाई पनि अभिनन्दन गरिएको थियो । सोही अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए ।
अधिवेशनले नवराज रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा झनकराज तिमिल्सिना, उपाध्यक्ष भानुभक्त जैशी र रवीन्द्र विष्ट चयन भएका छन् । महासचिवमा भक्तराज देवकोटालाई जिम्मेवारीमा ल्याइएको छ । त्यसैगरी सचीवमा माधवी घर्तीमगर र कोषाध्यक्षमा तुल्सी देवकोटा रहेका छन् । परिवारको सदस्यमा चरण साउँद, कल्पना जैसी, हरि सुनार, रामप्यारी चौधरी र यज्ञराज सिमखडा चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *