काँग्रेस भन्छ, टीकापुरमा गठबन्धन चाहिँदैन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २८ चैत
नेपाली काँग्रेस टीकापुरले स्थानीय तहको निर्वाचनमा कुनै पनि हालतमा गठबन्धन हुन नहुने बताएको छ ।
नगरपालिकामा काँग्रेस एकै चुनाव लड्न सक्षम रहेको बताउँदै गठबन्धनको आवश्यकता नरहेको बताएको हो । नगरपालिकामा आउने स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट मेयरका आकांक्षी राजकुमार हमालले टीकापुर नगरपालिकाको हकमा नेपाली काँग्रेसलाई कसैको साथ नचाहिने बताएका छन् । उनले काँग्रेस आफै चुनाव लड्न सक्षम रहेको बताउँदै गठबन्धन भएको अवस्थामा पनि गठबन्धनबाट पुर्ण साथ पाइन्छ भन्ने विश्वास नरहेको बताएका छन् । “पार्टीमा उम्मेदवारका लागि हामी धेरै आकांक्षी हौंला । तर अन्तिममा टिकट पाउने भनेको एक जनाले मात्रै हो । त्यसलाई सहयोग गर्नु र पार्टीको उम्मेदवारलाई जिताउनु हामी सबैको कर्तव्य हो ।” हमालले भने, “यो कर्तव्यबाट कोहि पनि विमुख हुने छैनौं । हामी एक्लै पनि चुनाव लड्न सक्षम छौं । नेतृत्वले त्यसैअनुसारको समन्वय र निर्णय गरोस् ।”
काँग्रेसबाट मेयरकै आकांक्षी जंगबहादुर साउँदले पनि पार्टी भित्र देखिने गरेको आन्तरिक द्वन्दलाई समाधान गर्दै जानुपर्ने आवश्यकता रहेको बताउँदै टीकापुरमा चुनावी गठबन्धन काँग्रेसका लागि मान्य नहुने बताएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत मेयरका उम्मेदवार रहेका साउँदले पार्टीका नेता कार्यकर्ता इमानदार भएको खण्डमा जित सुनिश्चित रहेको बताउँदै जितकै लागि टीकापुरमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । “हामी गठबन्धनको पक्षमा छैनौं । हामीलाई गठबन्धन चाहिदैन ।” साउँदले भने, “यदि गठबन्धन भएको अवस्थामा सबैभन्दा बढी घाटा नेपाली काँग्रेसले नै बेहोर्नुपर्ने छ । पार्टी सक्षम भएको ठाउँमा गठबन्धन गरिनु हुँदैन भन्ने कार्यकर्ताको माग पनि हो ।”
नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको अवस्थामा त्यसले पार्टीलाई नै घाटा हुने भएको बताउँदै काँग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताहरुले चुनावमा गठबन्धन नचाहेको बताएका छन् । “गठबन्धन भए कस्तो परिणाम आउँछ त्यो त पछिको अवस्थाले थाहा होला तर गठबन्धन नभएको अवस्थामा गठबन्धन भएको भन्दा पनि राम्रो परिणाम हामी ल्याउन सक्छौं ।” शाहले भने, “नेतृत्वले निर्णय गर्दा कार्यकर्ताको भावनाअनुरूप निर्णय गर्नुपर्छ । पार्टील्प संगठन बलियो भएको ठाउँमा गठबन्धन हुनुहुँदैन ।”
नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेश ख का सभापति बलिराम चौधरीले मेयर उपमेयरका लागि गठबन्धन भएपनि वडा तहमा गठबन्धन हुन नहुने बताएका छन् । “सकेसम्म आफ्नै क्षमताले हामिले चुनावमा जानुपर्छ । होइन भने पनि वडा तहमा गठबन्धन हुनुहुँदैन ।” चौधरीले भने, “यसले हामीलाई नै घाटा हुन्छ भने हाम्रो बैसाखी टेकेर हिड्न खोज्नेलाई फाइदा हुनेछ ।”

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *