काँग्रेस भन्छ, टीकापुरमा गठबन्धन चाहिँदैन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २८ चैत
नेपाली काँग्रेस टीकापुरले स्थानीय तहको निर्वाचनमा कुनै पनि हालतमा गठबन्धन हुन नहुने बताएको छ ।
नगरपालिकामा काँग्रेस एकै चुनाव लड्न सक्षम रहेको बताउँदै गठबन्धनको आवश्यकता नरहेको बताएको हो । नगरपालिकामा आउने स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट मेयरका आकांक्षी राजकुमार हमालले टीकापुर नगरपालिकाको हकमा नेपाली काँग्रेसलाई कसैको साथ नचाहिने बताएका छन् । उनले काँग्रेस आफै चुनाव लड्न सक्षम रहेको बताउँदै गठबन्धन भएको अवस्थामा पनि गठबन्धनबाट पुर्ण साथ पाइन्छ भन्ने विश्वास नरहेको बताएका छन् । “पार्टीमा उम्मेदवारका लागि हामी धेरै आकांक्षी हौंला । तर अन्तिममा टिकट पाउने भनेको एक जनाले मात्रै हो । त्यसलाई सहयोग गर्नु र पार्टीको उम्मेदवारलाई जिताउनु हामी सबैको कर्तव्य हो ।” हमालले भने, “यो कर्तव्यबाट कोहि पनि विमुख हुने छैनौं । हामी एक्लै पनि चुनाव लड्न सक्षम छौं । नेतृत्वले त्यसैअनुसारको समन्वय र निर्णय गरोस् ।”
काँग्रेसबाट मेयरकै आकांक्षी जंगबहादुर साउँदले पनि पार्टी भित्र देखिने गरेको आन्तरिक द्वन्दलाई समाधान गर्दै जानुपर्ने आवश्यकता रहेको बताउँदै टीकापुरमा चुनावी गठबन्धन काँग्रेसका लागि मान्य नहुने बताएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत मेयरका उम्मेदवार रहेका साउँदले पार्टीका नेता कार्यकर्ता इमानदार भएको खण्डमा जित सुनिश्चित रहेको बताउँदै जितकै लागि टीकापुरमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । “हामी गठबन्धनको पक्षमा छैनौं । हामीलाई गठबन्धन चाहिदैन ।” साउँदले भने, “यदि गठबन्धन भएको अवस्थामा सबैभन्दा बढी घाटा नेपाली काँग्रेसले नै बेहोर्नुपर्ने छ । पार्टी सक्षम भएको ठाउँमा गठबन्धन गरिनु हुँदैन भन्ने कार्यकर्ताको माग पनि हो ।”
नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको अवस्थामा त्यसले पार्टीलाई नै घाटा हुने भएको बताउँदै काँग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताहरुले चुनावमा गठबन्धन नचाहेको बताएका छन् । “गठबन्धन भए कस्तो परिणाम आउँछ त्यो त पछिको अवस्थाले थाहा होला तर गठबन्धन नभएको अवस्थामा गठबन्धन भएको भन्दा पनि राम्रो परिणाम हामी ल्याउन सक्छौं ।” शाहले भने, “नेतृत्वले निर्णय गर्दा कार्यकर्ताको भावनाअनुरूप निर्णय गर्नुपर्छ । पार्टील्प संगठन बलियो भएको ठाउँमा गठबन्धन हुनुहुँदैन ।”
नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेश ख का सभापति बलिराम चौधरीले मेयर उपमेयरका लागि गठबन्धन भएपनि वडा तहमा गठबन्धन हुन नहुने बताएका छन् । “सकेसम्म आफ्नै क्षमताले हामिले चुनावमा जानुपर्छ । होइन भने पनि वडा तहमा गठबन्धन हुनुहुँदैन ।” चौधरीले भने, “यसले हामीलाई नै घाटा हुन्छ भने हाम्रो बैसाखी टेकेर हिड्न खोज्नेलाई फाइदा हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *