शेयेर गर्नुहोस
टीकापुर १४ माघ /
“हाम्रो निरन्तर प्रयासपछि सेती लोकमार्ग अन्तर्गत टीकापुर शुन्य किलोमिटर देखि १० किलोमिटरसम्मकाे लागि ४९ करोड ९९ लाख थप बजेटकाे सुनिश्चितता भएको छ ।”
माथिका शब्दहरूलाई पछिल्लो समय कैलालीको पुर्वी क्षेत्रबाट राजनीतिक गर्नेहरूको सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएका शब्द हुन । अर्थ मन्त्रालयको माघ ११ गते सार्वजनिक भएको पत्रअनुसार सेती लोकमार्ग (दक्षिण खण्ड) टीकापुर – लोडे- चैनपुर – चेतेज सडक खण्ड का लागि बजेट विनियोजन हुँदा त्यो बजेट आफ्नो बलबुताले आएको भन्दै समाजका प्रबुद्ध ब्याक्तीहरुले दाबी गरेपछि त्यसको आलोचना सामाजिक सञ्जाल मार्फत नै भएको छ ।
नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नं. २ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य झपट रावलको नाम जोड्दै एकिन्द्र भण्डारी लेख्छन् “यो एउटा विकासको कोसेढुङ्गा सावित भएको छ । अस्ति आफ्नो निर्वाचन क्षेत्रमा आउँदा निवर्तमान प्रतिनिधि सभा सदस्य झपट बहादुर रावलले यस विषयमा गम्भीरता पुर्वक लागिपरेको बताउनुभएको थियो । आज परिणाम हामीले देख्न पाउँदा गर्व महसुस भएको छ । सामाजिक नेतृत्व झुटको पुलिन्दा हुन भन्ने जनस्तरबाट गुनासो जबर्जस्त बन्दै गएको बेला यी र यस्ता परिणाममुखी तत प्रकारका मिथ्या र मन गणन्ते आरोप निस्तेज गरेको मात्रै छैन, आमसर्वसाधारणमा खुशीको वर्षात गरिदिएको छ ।”
त्यस्तै माननीय शेरबहादुर कुँवरको सचिवालयले पनि उक्त बजेट आफ्नो पहलले भएको बताएको छ । सामाजिक सञ्जाल मार्फत कुँवरको सचिवालयले भनेको छ, “लामो समयको अथक मिहेनत र प्रयासपछि सेती लोकमार्ग टीकापुर, लोडे, चैनपुर सडकलाई ४९ करोड ९९ लाख बजेटको सुनिश्चितता भएको छ ।” त्यस्तै सामाजिक अगुवा नवराज रावलले पनि उक्त विषयमा आफ्नो भनाई राख्न भ्याएका छन् । उनले लेखेका छन्, “हाम्रो निरन्तरको प्रयासपछि सेती लोकमार्ग टीकापुर शून्य किलोमिटर देखि १० किलोमिटरसम्मको लागि ४९ करोड ९९ लाख थप बजेटको सुनिश्चितता ।”
त्यतिमात्र नभई सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नाम पनि सेती लोकमार्गको लागि सुनिश्चित भएको बजेटमा समेटिएको छ । सामाजिक सञ्जाल मार्फत लोकेन्द्र प्रताप साउँदले लेखेका छन्, “राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सेती लोकमार्ग अन्तर्गतको दक्षिण खण्ड दुर्गौली – प्रतापुर – सडकपुर बौनियाका लागि अर्थ मन्त्रालयले ४९ करोड ९९ लाख बजेटको सुनिश्चितता गरेको छ । यस कार्यलाई टुंगोमा पुर्याउन अहोरात्र खटिने मानवीय मुख्यमन्त्री, उहाँको सचिवालयको टिमलाई धेरै धेरै धन्यवाद । यो योजनालाई यहाँसम्म पुर्याउन लागिपर्ने निवर्तमान माननीय झपट बहादुर रावल, माननीय अरुणकुमार चौधरी लगायत प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याउने नेता कर्मचारी तथा सुभचिन्तक सबैलाई धेरै धन्यवाद ।”
माथिका कुराहरू एउटा प्रतिनिधिमुलक मात्रै हुन । समाजका लागि काम गर्ने अठोट बोकेर जनतासामु बाचा कसम खाएर नेतृत्व तहमा पुगेकाहरुको काम यो भन्दा अरु केही हुनुपथ्यो र ? नेतृत्वको दायित्व भित्र पर्ने कुराको बढाइचढाइ गरेर नेतृत्वमा नै अंकुश लगाउने काम भैरहेको भन्दै त्यसको व्यापक आलोचना हुँदै आएको छ । सस्तो लोकप्रियता कमाउने नाममा समाजका प्रबुद्ध ब्याक्तीहरुले आफ्नो हैसियत आफै गुमाउने गरेको यस्ता तिता यथार्थले पुष्टि गर्ने गरेको स्थानीयको आरोप छ ।