शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १५ मंसिर /
कैलालीको टीकापुर नगरपालिकाले समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । विकासका काममा निर्माण कम्पनीको लापरबाहीका कारण अधिकांश आयोजना अलपत्र पर्ने गरेको र पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेका योजनाको काम गर्दै आएका निर्माण कम्पनीलाई नगरपालिकाले कारबाही गर्ने भएको हो ।
पटकपटक समय थप्दै जाने र काम नगर्ने परिपाटी तोड्न नगरपालिकाले आयोजनाको म्याद थप गर्ने परिपाटीको अन्त्य गर्ने बताएको छ । त्यस्तो कुनै भवितव्यं घटना विना आयोजनाको म्याद नथप्ने बताएको छ । नगरपालिकाका नगर उप प्रमुख खडक बहादुर शाहले मंसिरसम्म अन्तिम पटकका लागि थपिएको कुनै पनि आयोजनाको म्याद पुनः थप नहुने बताउनुभएको छ । उहाँले आफुहरुले पहिलेदेखि नै योजनाको म्याद थप नहुने बताउँदै आएको भन्दै गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका आयोजनाको म्याद मंसिर मसान्तसम्मका लागि थपिएकोमा त्यो नै अन्तिम हुने बताउनुभएको हो
“म्याद थप गर्ने परिपाटीले आयोजनाको काम समयमा सम्पन्न नहुने गरेको छ । निर्माण कम्पनीहरुसँग सम्झौता भएबमोजिमको समयभित्र काम सम्पन्न हुनुपर्छ ।” नगर उप प्रमुख शाहले भन्नुभयो, “कुनै पनि आयोजनाको म्याद थप गर्ने पक्षमा नगरपालिका छैन र थप पनि गर्दैन । हो, त्यस्तो कुनै भवितव्यं घटना भयो सबै कामकारबाही बन्द गर्नुपर्ने अवस्थामा भने सोच्नुपर्छ ।” उहाँले साउनमा अन्तिम पटक म्याद थप भएका आयोजनाको काम मंसिर मसान्तसम्म सम्पन्न नभए निर्माण कम्पनीले नियमानुसारको जरिवाना तिर्नुपर्ने बताएका बताउनुभयो ।
सम्झौता बमोजिम काम सम्पन्न नभई म्याद पनि नथपिएको अवस्थामा निर्माण कम्पनीसँग योजनाको सम्झौता भएको रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक जरिवाना तिर्नुपर्ने व्यवस्था छ । त्यो पनि नतिरेको खण्डमा ठेक्का तोड्ने र निर्माण कम्पनीको बैंक ग्यारेन्टी जफत गरिनुका साथै कालो सुचीको प्रक्रियामा जाने नगर उप प्रमुख शाह बताउनुहुँन्छ । “हामीले बोलेको कुरा फेरबदल हुँदैन । समयमा काम सम्पन्न नगर्नेलाई कारबाही हुन्छ ।” नगर उप प्रमुख शाहले भन्नुभयो, “गतवर्षका आयोजनालाई मंसिर मसान्त अन्तिम हुनेछ भने नयाँ आर्थिक वर्षका योजनको हकमा भने बैशाख मसान्त अन्तिम हुनेछ ।”
नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न आफुहरुलाई अप्ठ्यारो नहुने बताउनुभयो । उहाँले कार्यपालिकाको निर्णय अनुसार काम गर्नुपर्ने भन्दै कार्यपालिकाले निर्णय फेरबदल नगरे १२ वटा निर्माण कम्पनी मंसिरपछि जरिवाना पर्ने अवस्था देखिएको बताउनुभयो । “केही आयोजनाको काम अहिलेसम्म ५० प्रतिशत पनि भएको छैन । अब १५ दिनमा त्यो काम सम्पन्न हुने सम्भावना पनि छैन ।” इन्जिनियर रावलले भन्नुभयो, “जनप्रतिनिधिले निर्देशन दिएपछि कारबाही हुन्छ ।”
अहिले साउन पछी म्याद थप भएका १८ वटा आयोजनाको काम भैरहेको छ । १८ मध्ये ६ वटा आयोजनाको काम भने अन्तिम चरणमा पुगेको बताइएको छ ।