शेयेर गर्नुहोस
टीकापुर १० वैशाख /
टीकापुरमा कायाकल्प क्रिया (शंख प्रच्छ्यालन) को अभ्यास गरिएको छ ।
कार्यक्रम पतञ्जली योग समिती, टीकापुरको आयोजनामा टीकापुर स्थित सिटी हलमा सम्पन्न गरिएको हो । त्यसको साथै षट्कर्म अन्तरगत नेती तथा बस्तीको अभ्यास समेत सम्पन्न भएको छ । जस अन्तरगत ४४ जनाले कायाकल्य क्रियाबाट लाभ लिएका छन् भने १५ जनाले जल नेती र रबर नेती गरेका छन् । त्यसैगरी १० जनाले बस्ती अन्तरगत एनिमियाको अभ्यासबाट आफ्नो शरिरको शुद्धिकरण गरेका पतञ्जली योग समिती टीकापुरका अध्यक्ष छबिलाल जैशीले जानकारी दिएका छन् ।
मानिसको आन्द्राको आकृति शंखाकार हुने भएकोले आन्द्रालाई पानीको माध्यमबाट शुद्ध गर्नुलाई कायाकल्प क्रिया (शंख प्रच्छ्यालन) भनिन्छ । पतञ्जली योग समितीका योग प्रशिक्षकहरु हेमन्त ओझा, तारा खरेल, सर्वनन्द चपाई, छबिलाल जैशी, जीवन रिमाल लगायतले योग साधक तथा सह योग शिक्षकहरुलाई शुद्धिकरणका प्रक्रियाहरुमा सहजीकरण गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मिहरु कलावती तिमिल्सिना, मञ्जु पौडेल, मनोज कुमार साउद लगायतले स्वास्थ्य जाँचमा सहजिकरण गरेका थिए । कार्यक्रमको तयारी तथा व्यवस्थापन सह योग शिक्षक राजेन्द्र प्रसाद भट्राईको संयोजकत्वमा कृष्ण बुढा, झपट बुढा लगायतको टोलीले गरेको थियो । ‘हामी हरेक दिन वस्त्रहरु सफा गर्छौ, घरहरु सफा गर्छौ तर एक दिन सफा गरेनौं भने हाम्रा वस्त्र तथा घरहरु फोहोर हुन्छन् । त्यस्तै हाम्रो पेटमा पनि सानो आन्द्रा तथा ठूलो आन्द्रा गरि जम्मा ३२ फिट लामो आन्द्रा हुन्छन् । यसलाई सफाई गर्ने प्राय अरु विधि वा यन्त्रहरु नपाउने हुनाले सफा गरिँदैन । हरेक दिनको खान पानको क्रियामा ती आन्द्रामा सुक्ष्म मलको पत्र बन्न जान्छ । यहि पत्रबाट हामीलाई चाहिने रसको अवशोषण र निश्कासन हुन पाउँदैन जसले गर्दा पेटमा सड्छ र विकार उत्पन्न हुन्छ ।’ – योग प्रशिक्षक ओझाले भने, ‘त्यसैले हरेक व्यक्तिले प्रत्येक ६ महिनामा एक पटक कायाकल्पको अभ्यास अनिवार्य गर्नुपर्नेहुन्छ ।’
कायाकल्पको अभ्यासमा गरिने आसनहरु गर्न असमर्थ व्यक्तीहरुलाई बस्तीको अभ्यासबाट शुद्धिकरण गर्न सकिन्छ । जलनेती र रबर नेतीबाट नाकको सफाई तथा बस्तीबाट आन्द्राको सफाईको कार्य गर्ने गरिन्छ । पतञ्जली योग समिती, टीकापुरले नियमित रुपमा योग अभ्यासका साथै शरिर शुद्धिकरणका अन्य परम्परागत अभ्यासहरुलाई आवश्यकता अनुसार समय समयमा संचालन गर्दै आएको पतञ्जली योग नगरसमिती टीकापुरका अध्यक्ष जैशीले बताइन्। पछिल्लो समय योग तथा आयुर्वेदको माध्यमबाट स्वास्थ्य लाभ लिन चाहने मानिसहरु योगमा जोडिन थालेका छन् । विशेष गरेर मधुमेह, उच्च रक्तचाप, मेरुदण्डको दुखाइ, शरिर दुख्ने, नशाको समस्या, डिप्रेसन, उच्च शारिरीक तौल लगायत शारिरिक तथा मानसिक समस्या भएका व्यक्तिहरुले योगबाट लाभ लिइरहेका छन् भने कुनैपनि समस्या नभएपनि रोगी भएर कष्टकर जीवन निर्वाह गर्नुभन्दा रोगले नछुँदै योगमा जोडिनु उपयुक्त हुने टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन बिकले बताए । बिकले शंख प्रच्छ्यालन गर्दा आफुले शरिरीक सहजता अनुभव गरेको समेत बताएका छन् ।