शतप्रतिशत नतिजा आउने समय भएको छैन : थारु

शेयेर गर्नुहोस


टीकापुर ०८ वैशाख /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले विकासका चरणहरुको सुरुवातमै शतप्रतिशत नतिजा खोज्दा उपलब्धि नदेखिएको बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ७ को नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै नगर प्रमुख थारुले नेपालको संविधान र संघीयता कार्यान्वयनकै चरणमा रहेको बताउँदै अहिले नै शतप्रतिशत उपलब्धि नदेखिने बताएका हुन । “हामीले शुन्यबाट सुरु गरेको काम अहिले नै सयमा पुर्याउन सकिँदैन । त्यसलाई सयमा पुर्याउन अझै दशक लाग्छ ।” नगर प्रमुख थारु भन्छन्, “हामीसँग भएको स्रोतसाधनले एकैपटक सबै कुरा पूरा हुन सक्ने स्थिति छैन । त्यसमा धैर्यता सबैमा आवश्यक छ ।”
नराम्रो कुरामा रचनात्मक विरोध गर्दै सकारात्मक कुराहरूमा सबैको साथ सहयोग चाहिने नगर प्रमुख थारुले बताए । उनले देशमा स्थिर सरकार बन्न नसक्दा पनि कैयौं सम्भावनाहरु अझै उपलब्धि विहीनको अवस्थामा रहेको बताए । “आज सरकार स्थिर हुन नसक्दा पनि विकासका कैयौं सम्भावनाहरु कमजोर बन्न पुगेका छन् । पहिले त संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई कार्यान्वयनमा ल्याउँदै स्थिर सरकार हामीलाई चाहिएको छ ।” नगर प्रमुख थारुले भने, “त्यसपछि मात्रै परिणाम मुखी काम हुन सक्छ । जनताको भावनाअनुसार काम हुनसक्छ ।”
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले नयाँ भवनबाट सेवाग्राहीले पाउने सेवा सुविधा सहज र सरल हुने विश्वास व्यक्त गरेका छन् । उनले प्रशासनिक कामकाजका लागि फराकिलो संरचना हुँदा काममा सहजता हुने बताएका छन् । साविक नारायणपुर गाविसका पुर्व अध्यक्ष फकिरसंह कडायतले समयअनुसार परिवर्तन आवश्यक रहेको बताउँदै सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भनिए पनि त्यसको प्रत्याभूति जनताले अझै गर्न नसकेको बताएका छन् । कडायले राजनीतिक अस्थिरताका कारण जनतामा अहिलेको व्यवस्था प्रती आकर्षण भन्दा वितृष्णा बढी देखिँदै गएको बताएका छन् ।
समाजसेवी नरेश्वर धमलाले भौतिक संरचना विकासको एउटा पाटो भएको बताउँदै अन्य क्षेत्रमा पनि विकास देखिने गरी काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । उनले विकासका काम जनताले महसुस हुनेगरी गर्न आवश्यक रहेको बताए । भानु सामुदायिक पुस्तकालयका अध्यक्ष मनीराम ढुंगानाले संरचनागत विकाससँगै वडालाई संविधानले दिएका अधिकारको कार्यान्वयन गर्ने अधिकार पनि दिनुपर्ने बताएका छन् । उनले नयाँ संरचनासँगै भएका पुराना संरचनाहरुको संरक्षण गर्ने दायित्वबाट पञ्छिन नहुने बताएका छन् ।
नेपाली काँग्रेसका टोप बहादुर केसीले भवन विकासको एउटा आधार रहेको बताउँदै त्यसलाई कार्यान्वयनमा पनि त्यसैअनुसार लैजानुपर्ने बताएका छन् । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले नयाँ प्रशासनिक भवनले सेवाग्राहीहरुलाई प्रवाह हुने सेवामा सहजता हुने विश्वास व्यक्त गरेका छन् । उनले सकारात्मक कुरामा सबैले साथ दिनुपर्ने पनि बताए । “हाम्रा सबै कामहरू राम्रा छन् भन्ने पनि छैन । राम्रा काममा साथ र नराम्रो काममा सुझाव पाउन सक्यो भने समाजलाई धेरै कुरा दिन सकिन्छ ।” उनले भने, “हामीमा समन्वय र सहकार्यको आवश्यकता छ । त्यसमा कुनै क्षेत्र, वर्ग र आस्थामा नभई एकताबद्ध हुन आवश्यक छ ।”
जिल्ला समन्वय समिती कैलाली र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा वडा कार्यालयको भवन निर्माण भएको हो । ९२ लाखको लागतमा निर्माण भएको वडा कार्यालयको प्रशासनिक भवनको ६० प्रतिशत जिल्ला समन्वय समिती र ४० प्रतिशत टीकापुर नगरपालिकाको लगानि रहेको छ । यो सँगै अब वडाको प्रशासनिक भवन नयाँ बन्न वडा नं. १, ३ र ८ बाँकी रहेको छ । वडा नं. १ मा जग्गाको अभावमा भवन निर्माण हुन सकेको छैन भने वडा नं. ३ मा पनि जग्गाको समस्याका कारण भवन निर्माण हुन सकेको छैन । उता वडा नं. ८ मा साविक गाविसको भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्दै आएको छ ।
वडा सदस्य राजकुमार चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक रामभजन चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *