कार्यपालिका सदस्य दुई भागमा विभाजित

शेयेर गर्नुहोस


टीकापुर २० चैत /
टीकापुर नगरपालिकामा जनप्रतिनिधि बीचको किचलो पुनः सुरु भएको छ ।
तत्कालीन नगर प्रमुख रामलाल डगौरा थारुले पदबाट राजिनामा दिएपछि नगरपालिकाको बहुमत कार्यपालिकाको बैठकले कार्यपालिका सदस्य रामबहादुर नगार्जीलाई कार्यवाहक नगर प्रमुख बनाउने निर्णय गरेदेखि अर्को पक्षले कार्यवाहक नगर प्रमुखले बोलाएको कार्यपालिका बैठक बहिष्कार गरेसँगै किचलो पुनः सुरु भएको हो । तत्कालीन माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित केही कार्यपालिका सदस्यले नगार्जीलाई कार्यवाहक नगर प्रमुखमा स्विकार गरेका छैनन् ।
१७ जना कार्यपालिका सदस्य रहेको नगरपालिकाको बिहिवार आव्हान भएको कार्यपालिका बैठकमा ८ जना कार्यपालिका सदस्य उपस्थित भएनन् । बोलाएको कार्यपालिका बैठक दीर्घबहादुर ठकुल्ला, यज्ञप्रसाद न्यौपाने, लौटन चौधरी, लालबीर चौधरी, बलबिर थारु, कैलाशपती चौधरी, रुपमती डगौरा थारु र सरस्वती तिरुवा सहभागी भएनन् । सरस्वती तिरुवा कार्यपालिका बैठकमा पुगेर हस्ताक्षर नगरी बाहिरिएको पाइएको छ । तत्कालीन उन्मुक्ति पार्टीका दुईजना र एकजना माओवादी केन्द्रका कार्यपालिका सदस्यको समर्थनमा नगार्जी कार्यबाहक नगर प्रमुख बने पनि बाँकीले नगार्जीलाई अझै स्वीकार गरेको देखिँदैन ।
बैठक बिहिवार ८ बजेका लागि बोलाइएको भए पनि अपराह्न ३ बजेपछि मात्रै कार्यपालिका बसेको थियो । दिनभर सहभागी नभएका कार्यपालिका सदस्यलाई सहभागी गराउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।६३ औं कार्यपालिका बैठकको रुपमा आव्हान गरिएको बैठकले कुनै निर्णय नगरेर अर्को बैठक चैत २२ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ । कार्यपालिका बैठकले ६३ औं कार्यपालिका बैठकमा प्रस्ताव गरिएका प्रस्ताव ६४ औं बैठकमा पेश गर्ने भनिएको छ ।
उता वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले आवश्यक तयारी गरेर निर्णयमा पुग्ने बताएका छन् । उनले बाहिर रहेका कार्यपालिका सदस्यसँग आवश्यक छलफल र तयारी गरेर आगामी दिनको योजना तयार गरिने बताए । “अब बहुमत सदस्यले पनि कार्यपालिका चलाउन सकिन्छ भन्ने मानसिकताका साथ अगाडि बढेका साथीहरू कसरी चल्नुहुन्छ हेरौं ।” उनले भने, “हामी एकपटक आफ्ना साथीहरू छलफल गरेको मात्रै के गर्ने भन्ने टुंगोमा पुग्ने छौँ ।”
बहुमत भए नगरपालिकाका कामकाज सञ्चालन गर्न सकिन्छ र कार्यपालिका बैठक चल्छ भन्ने गलत प्रवृतिका विरुद्ध आफुहरुको असहमति रहेको न्यौपानेले बताएका छन् । २२ गते आव्हान भएको कार्यपालिका बैठकमा सहभागी हुने कुरामा पनि अहिले नै ठ्याक्कै भन्न नसकिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *