शेयेर गर्नुहोस
टीकापुर १७ मंसिर
जनताका हरेक समस्या समाधान गर्दै आफ्नो क्षेत्र समृद्ध बनाउने अठोट लिएर निर्वाचन जितेका जनप्रतिनिधि जनताका ती समस्याका अगाडि निरीह बन्दै आएका छन् ।
निर्वाचनको समयमा जनमत आफ्नो अनुकूल बनाउन हुँदा नहुँदा एजेण्डा बनाएर निर्वाचन जितेका जनप्रतिनिधि जनताका दु:खका अगाडि निरीह बनेका हुन । खासगरी कृषि प्रधान देशमा कृषि क्षेत्रलाई अब्बल बनाउने अठोट निर्वाचनमा सबै उम्मेदवारको हुन्छ । तर निर्वाचित भैसकेपछी आफ्नो स्वार्थमा केन्द्रित हुने जनप्रतिनिधि जनताको सेवक कहिल्यै बन्न सकेका छैनन् ।
अहिले त्यहीँ किसानहरूमा त्यहीँ समस्या बल्झिँदै गएको छ । किसानहरु एक बोरा मलका लागि रातभर यो चिसोमा खुला आकाश मुनि रात बिताउन बाध्य छन् । जनप्रतिनिधि ती किसानले पाएको पीडा सामाजिक सञ्जाल वा मिडियामा हेरेर विवश छन् । स्थानीय जनप्रतिनिधिले चाहेर किसानले सहजै मल पाउन सक्ने स्थिति पनि वर्तमान समयमा छैन । तर जनप्रतिनिधिको झुठो आश्वासन आज पनि जीवित नै छ ।
“बोल्ने बेला मनपरि बोल्न सक्ने सरकारले किन किसानका समस्या समाधान गर्न सक्दैन ? एक बोरा मलका लागि लुछाचुडी गर्नुपरेको छ ।” सोमबार रातभर एक बोरा मलका लागि लाइन लागेकी विष्णु थारु भन्छन्, “कम्तिमा किसानलाई समयमा मल पुर्याउने काममा सहजीकरण र सरकारले गरोस् ।” उनले स्थानीय देखि प्रदेश हुँदै संघ सरकारसम्म जनताका प्रतिनिधि हुँदा पनि किसानको समस्या समाधान हुनुको साटो बर्सेनि बढ्दै गएको बताएका छन् ।
युवा समाजसेवी अर्जुन सोबले देशमा कुनै तहमा सरकार नभएको बताए । उनले किसानहरूलाई एक बोरा मल पाउन मुस्किल भएको बेला सरकारका निकायमा भएकाहरु भ्रष्टाचार र बार्गेनिङमा बेस्त रहेको आरोप लगाए । “हाम्रा आगनमा सरकार छ तर त्यो सरकारको आँखाले किसानका पीडा कहिल्यै देख्दैन ।” उनले भने, “अनि सरकार छ भनेर कसरी भन्नू । बरु कतै बार्गेनिङ हुने कुरामा सायद सरकार देखिन्थ्यो होला ।”
समस्या भजनीमा मात्रै होइन, जताततै त्यस्तै छ । किसानले मल नपाएका कारण किसान समस्यामा छन् । गहुँ सिँचाइ गरेर मलका लागि किसान भौररिएका छन् । जोशीपुर गाउँपालिकामा सोमबार किसानले गाउँपालिका घेराउ नै गरे । गाउँपालिका घेराउ गरेपछि गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी निरीह देखिन्थे । किनभने उनीसँग कुनै विकल्प थिएन । बरु किसानलाई आश्वासन दिएर मल बिक्रि गर्ने सहकारीको अनुगमनमा अध्यक्ष चौधरी निस्केका थिए ।










