किसानहरू भन्छन् : के खाएर बाँच्ने होला ?

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०४ कार्तिक /
जानकी गाउँपालिका वडा नं. ८ का लालबिरे कामीले दशैको पछिल्लो दिन आठजना कामदार लगाएर दुई बिगाहामा लगाएको धान एकै दिन काटेर सक्नुभयो । प्रतिब्याक्ती पाँच सयका दरले आठजनाको लालबिरेले चार हजार रुपैयाँ तिर्नुपर्यो । उहाँले दुई बिगाहा क्षेत्रफलको धान काटेपनि भित्र्याउन भने पाउनुभएन ।
“गत वर्षको भन्दा धान राम्रो थियो । यसवर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो । लालबिरेले भन्नुभयो, “खेतमा लगाएको एक दाना धान पनि भित्र्याउन पाइएन । सबै बाढीले बगायो । अब के खुवाएर परिवार पाल्ने ? आफुले के खाने ?” टीकापुर गरपालिका वडा नं. ३ शंकरपुरका लक्ष्मण बस्यालले आकाशको पानी पर्दा थोरै भएपनि आशा जिवित रहेको बताउँदै जमरा कोलोको बाढी खेतमा पसेपछि धानको एक मुठ्ठा पनि खेतमा नबचेको बताउनुभएको छ । उहाँले जमरा कुलोमा लगाइएको बाढका कारण पनि शंकरपुर क्षेत्र बढी डुवानमा पर्नेगरेको भन्दै सम्झे पनि आखामा रसाउने गरेको बताउनुभएको छ । “वर्षभरी खाने धान पुरै बगाएर लगि सक्यो अब हामिले के खाने ? किनेर खानसक्ने क्षमता छैन । हामी दिनभरी मजुरी गरेर खाने मान्छे त्यसमाथिको अहिलेको महँगाईमा ।” बस्यालले भन्नुभयो, “खेत रोप्दा लागेको ॠण पनि तिर्न सकेको छैन । कसरी ॠण तिर्ने कसरी परिवार पाल्ने ? अहिलेको समयले निकै चुनौती दिएर गएको छ ।”
टीकापुरकै आशिष जनालाले पनि दशैको पछिल्लो दिन तीन बिगाहा क्षेत्रफलको धान कामदार लगाएरै काट्नुभयो । परिवारसँग दशैको बेला गरेको रमाइलो आशिषका लागि अर्को दिनसम्म टिकेन । कोरोनाको कारण भारतमा मजदुरी गरेर परिवार पाल्ने आशिष आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर गाउँ फर्किएको सुनाउनुहुन्छ । उहाँले आफ्नो र आफ्ना अन्य परिवारको सबै जग्गामा खेती सुरु गरेको पहिलो बर्षमै आशिषलाई समयले निकै ठूलो चुनौती दिएर गएको छ । “कोरोनाले परदेशबाट लखेट्यो । स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ ।” आशिषले भन्नुभयो, “अब कता जाने ? कतै ठाँउ नै छैन । लागेको ॠण र परिवारलाई कसरी पाल्ने ? निकै अप्ठ्यारो मोडमा पुगिएको छ ।”
कर्णाली नदीले कटान गरेर बाढी गाउँमा पस्दा नगरपालिकाको सूर्यपुर, बसन्ता, बटनपुर, फाँटा, सत्ती, कर्मीडाँडा, सिमरेनी, अरुणाफाँटा लगायतका गाउँमा बढी असर पारेको छ । सो क्षेत्रमा बढी मात्रामा खेती हुने गर्छ । केही वर्ष पहिले बाढीले निकै प्रभावित हुने सो क्षेत्रमा ७ वर्षयता बाढी देख्नु परेको थिएन । आकाशको पानी पर्दासम्म पराल नभएपनि धान बचाउन सकिन्छ कि भन्ने आशा किसानहरूमा थियो । तर त्यो आशा पुर्ण रुपमा निराशामा परिणत भयो । कर्णाली नदिको उर्लदो भेल खेतमा पसेपछि आफुहरु मुख दर्शक बन्नु बाहेक केही नभएको किसान सिताराम चौधरी बताउँनुहुन्छ।
“हामिले चाहेर रोक्न पनि नसकिने । पानीमा तैरिरहेको धानलाई संकलन गर्न पनि नसकिने ।” सितारामले भन्नुभयो, “एकाएक बाढी खेतमा पसेपछि पानीमा तैरेको धान कर्णालीमै मिसियो । अब चिन्ता बढ्न थालेको छ । के खाने ? परिवारलाई के खुवाउने र पशु चौपायालाई के खुवाएर पाल्ने ?”
जग्गा भाडामा लिएर कुखुरा फर्म सञ्चालन गर्दै आउनुभएका लक्ष्मीप्रसाद अधिकारीको फर्ममा रहेका करिब ५ सय कुखुरा बाढिले बगायो । आफ्नै देशमा केही गर्नुपर्छ भनेर लाग्नुभएका अधिकारीको सपना बाढीले पूरा हुन दिएन । “सँगैका साथिहरु बिदेश जानुपर्छ भनेर सधै कर गर्थे । मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर सम्झाए पनि सबै साथिहरु बिदेशमा राम्रो कमाउँदै छन् । आफुले ऋण जोखो गरेर जग्गा भाडामा लिएर फर्म सञ्चालन गरे त्यो पनि बाढिले बगायो ।” अधिकारीले भन्नुभयो, “अब आफ्नो लगानी त टाढाको कुरा भयो जग्गा भाडा पनि कताबाट तिर्ने भन्ने चिन्ता छ ।”
टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा मात्रै हजारौं बिगाहा क्षेत्रफलमा लगाइएको धानबाली पुर्णरुपमा नस्ट भएको छ । बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै दुई सय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्ध समेत भत्काएको छ। कर्णाली नदीले पनि ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तिमा पसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *