बाढी र डुवानको दीर्घकालीन समाधान हुन्छ : देउवा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०६ कार्तिक /

कर्णाली नदीका कारण आएको बाढीले क्षति पुर्याएको क्षेत्रमा प्रधानमन्त्री देउवा सहितको टोलिले निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुवानको समस्यालाई दीर्घकालीन रुपमा समाधान हुनेगरी पहल गरिने बताउनुभएको छ । शुक्रवार कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ बनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुवानको समस्या दीर्घकालीन रुपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताउनुभएको हो ।
“अहिले बाढी, पहिरो र डुवानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिको समयमा तत्काल राहत, उद्दार र नागरिकहरूलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको छ ।” प्रधानमन्त्री देउवाले भन्नुभयो, “त्यसपश्चात दीर्घकालीन रुपमा राहतको लागि सरकारले योजना बनाएर अगाडि बढ्छ ।” उहाँले बर्सेनि कैलालीमा बाढी र डुवानको समस्या झेल्दै आएका नागरिकहरुलाई दीर्घकालीन रुपमा व्यवस्थापन हुनेगरी सरकारले योजना बनाउने बताउँदै बाढी र डुवानका कारण किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको अवस्थामा उहाँहरुका लागि दीर्घकालीन राहत प्याकेजको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले विपत्तिका कारण भएको धनजनको क्षतिलाई प्रत्यक्ष रुपमा निरीक्षण गरिएको बताउँदै प्रभावित क्षेत्रको बस्तु स्थितिलाई नजिकबाट नियालेका कारण पनि अहिलेको समस्यालाई समाधानका लागि सरकारले तत्काल योजना बनाएर अगाडि बड्ने बताउनुभएको छ ।
सोही सन्दर्भमा टीकापुर नगरपालिका, नेपाली काँग्रेस नगर समिति, नेकपा माओवादी केन्द्र, बाढी पिडित शिविर, नागरिक समूह लगायतले बाढी र डुवानको समस्याको दीर्घकालीन समाधानका लागि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाले खाद्यान्न र बन्दोबस्तीका राहत सामाग्रीहरु, क्षति हुनपुगेको बालिनाली,पशुपंक्षी, मत्स्य लगायतका सम्बन्धित कृषकहरुलाई क्षतिपूर्ति, राहत तथा अनुदान प्याकेजको व्यवस्था, डुवान भइ बचेको धान बाली सरकारले तोकेको समर्थन मुल्यमा खरिदबिक्री गर्ने व्यवस्था, क्षति पुगेका सडक लगायतका भौतिक संरचनाहरुको पुर्ननिर्माण लगायतका माग राखिएको छ ।
शुक्रबार प्रधानमन्त्री देउवा, अर्थ मन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगाएतको टोलिले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको बाढी ग्रस्त क्षेत्रको निरिक्षण गर्नुभएको हो ।
कैलालीमा बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा हजारौं परिवार विस्थापित भएका छन् भने, सयौं बिगाहा क्षेत्रफलमा लगाएको अन्न तथा तरकारी बाली पुर्णरुपमा नस्ट भएको छ ।
टीकापुर नगरपालिकामा कार्तिक १ गतेदेखि ३ गतेसम्मको वर्षातका कारण वडा नं. १ देखि ९ सम्म प्रभावित घरधुरी २ हजार, ३ सय ४५, विस्थापित घरधुरी १ हजार ५ सय ९६ रहेको बताइएको छ । शुक्रबारसम्म ५ हजार, ७ सय ३४ जनाले बिधालयमा, ९ सय ७५ जनाले सडक छेउमा, ३ सय १५ जनाले आफन्तकोमा र १ हजार १ सय ९० जनाले अन्य स्थानमा आश्रय लिएर बसेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा बाढी र डुवानका कारण ८ हजार २ सय २४ जना विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *