शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर २१ भदौ /
टीकापुरमा किस्मत कञ्चन बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा आएको छ ।
कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना गरिएको सहकारीमा ३० जना सेयर सदस्यको एक करोड २५ लाख सेयर पुँजीबाट सहकारी सञ्चालनमा आएको हो । किसानहरूको आर्थिक स्तरलाई बढाउनको लागि सहकारी सञ्चालन गरिएको सहकारीका प्रबन्धक राजेन्द्र शाहीले बताएका छन् । “हामिले धान र गँहुको खेती गर्ने किसानहरूलाई लक्षित गरेर सहकारी स्थापना गरेका हौं । किसानलाई उनीहरुले गरेको खेतिको आधारमा ऋण प्रवाहको काम सहित अन्य क्षेत्रमा समेत हाम्रो लगानी रहने छ ।” प्रबन्धक शाहीले भने, “हामिले एक बिघा क्षेत्रमा धान लगाएका किसानलाई २५ हजार देखि पाँच बिघा क्षेत्रमा धान लगाएका किसानलाई बिना धितो एक लाख सम्म ऋण प्रवाह गर्दै आएका छौं ।” त्यसमा सहकारीले १५ प्रतिशतसम्म ब्याज लिने गरेको छ ।
कृषि उत्पादनलाई बढाउनका लागि किसानहरूलाई लगानी गर्ने माध्यमको रुपमा सहकारीलाई लिइएको शाहीले बताए । साथै सहकारीले किसानहरूले उत्पादन गरेको बस्तु खरिद समेत गर्ने बताइएको छ । बजार मूल्य भन्दा केही थप मुल्यमा खरिद गरिने सहकारीका प्रबन्धक शाही बताउँछन् । “किसानलाई हामिले लगानी गर्छौं । किसानले उत्पादन गरेको खाद्यान्न हामी नै खरिद गर्छौं ।” शाहीले भने, ” त्यतिमात्र होइन, सहकारीको १० हजार बिघामा धान उत्पादन गर्ने लक्ष्य समेत रहेको छ ।”
सुदुरपश्चिमका सबै जिल्लामा शाखा विस्तारसँगै काम गर्ने लक्ष्य सहकारीको रहेको बताउँदै शाहीले कञ्चन खाद्य उद्योग आफैसँग भएका कारण पनि सहकारीले खरिद गरेको खाद्यान्न बाहिर पठाउनु नपर्ने बताएका छन् ।