शेयेर गर्नुहोस
टीकापुर २५ असोज /
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई उद्यमसँग जोड्न सके मात्रै देश समृद्ध हुने बताउनुभएको छ । पार्टीको मेची महाकाली जागरण अभियानका क्रममा कैलालीको टीकापुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्नुहुँदै पुर्व प्रधानमन्त्री नेपालले कृषि क्षेत्रलाई उद्यमसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो ।
“आज हाम्रो प्रमुख समस्या रोजगारी बनेको छ । रोजगारीकै कारण दैनिक हजारौं दक्ष जनशक्ति देश बाहिर पलायन भैरहेको छ ।” अध्यक्ष नेपाल भन्नुहुन्छ, “त्यसलाई रोक्नका लागि सरकार गम्भीर बनोस् । होइन भने भोलि देश खाली हुने स्थिति आउने निश्चित छ । त्यसका लागि कृषि क्षेत्रको विकासमा आगामी यात्रा तय गर्नुको विकल्प छैन ।” राज्यको सम्पत्तिको दोहन गर्दै राज्यका निकायलाई प्रभावमा पारेर सुनौला अवसरलाई कार्यान्वयन गर्न नदिने तत्वका कारण देश खतरामा परेको भन्दै तिनै तत्त्वका कारण भएका सम्भावनाहरुको पनि उपलब्धि शुन्य हुने गरेको बताउनुभयो ।
उहाँले राजनीतिक वितृष्णा र युवामा देखिएको निरासाले देशको भविष्यलाई अन्योलमा पार्न सक्ने भन्दै त्यसलाई निरुत्साहित गर्नकै लागि पार्टीको जागरण अभियान सुरु भएको बताउनुभयो । वर्तमान व्यवस्थालाई मास्नको लागि केही विरोधी शक्तिहरु सलबलाउन थालेको बताउँदै अध्यक्ष नेपालले त्यसको रक्षाका लागि सबैले एक ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभएको छ । समाजवादले समुन्नत समाज निर्माण गर्दै जनताको माझमा प्रेम र आपसी सद्भाव कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीका महासचिव तथा पुर्व मन्त्री घनश्याम भुसालले संविधानको पुर्ण कार्यान्वयन नै समृद्धिको प्रमुख आधार हुने बताउनुभएको छ । जनसभामा बोल्दै पार्टीका महासचिव भुसालले शिक्षा, स्वस्थ्य क्षेत्र निकै बिग्रेको बताउँदै बेरोजगारीका कारण देश खाली हुने अवस्थामा पुगेको बताउनुभयो । “बेरोजगारीका कारण देश खाली हुने अवस्थामा पुगेको छ । यस्तै अवस्था रहे अबको १० वर्षपछिको अवस्था के होला ? सोच्न अहिले नै पर्छ ।” महासचिव भुसाल भन्नुहुन्छ, “हाम्रा हरेक नीति रोजगारीसँग जोडिन आवश्यक देखिएका छन् । रोजगारी भएपछि मात्रै देश समृद्ध बन्न सक्छ ।” रोजगारीका अवसर कृषि क्षेत्रबाट मात्रै सम्भव रहेको बताउँदै त्यसका लागि कृषिसँग सरकार नजिक हुनुपर्ने भुसालले बताउनुभयो ।
उहाँले संविधान विरोधीहरुका कारण देश ठूलो भुमरीमामा फस्ने चिन्ता समेत व्यक्त गर्नुभएको छ । “आज केही विरोधी तत्वका कारण देश ठूलो दुर्घटनामा फस्ने चिन्ता बढ्दै गएको छ ।” उहाँ भन्नुहुन्छ, “हामी गम्भीर र जिम्मेवार बन्नुपर्छ । हामीले जनतालाई ऐतिहासिक सन्देश दिनकै लागि अभियान सुरु गरेका छौँ ।”
कार्यक्रममा पार्टीकी केन्द्रिय सचीव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज मदनकुमारी शाह (गरिमा) ले पार्टीको मेची महाकाली अभियानले जनता जनाउने काम गर्ने बताएकी छन् । उनले राष्ट्रियता कम्जोर हुँदै गएको बताउँदै त्यसका लागि खबरदारी गर्न जनता जगाउने काम अभियानले गर्ने बताएकी हुन । “देशमा भ्रष्टाचार व्याप्त छ । विभेदको वातावरण बन्दै गएको छ । सामाजिक सद्भाव भड्किने स्थिति बन्दै गएको छ ।” उनले भनिन्, “यो अवस्थामा हामी सबै सचेत र सजग हुनुपर्छ । आपसमा लडाएर त्यसको फाइदा लिने अर्कै हुन्छ ।”
उनले राष्ट्रियताको विषयम सरकार मौन बस्न नहुने बताएकी छन् । “हामी सरकारमा छौँ, भनेर चुप बस्ने स्थिति हुँदैन । राम्रा कामहरूलाई समर्थन गर्दै नराम्रो कामलाई खबरदारी गर्ने कर्तव्य हाम्रो हो ।” शाहले भनिन्, “राष्ट्र र राष्ट्रियता बलियो बन्न सकेपछि मात्रै हाम्रो स्वाभिमान बलियो बन्ने हो । हामी बलिया बन्ने हो ।” पार्टीका प्रदेश सदस्य रामप्रसाद चौधरी, पोलिटव्युरो सदस्य गणेश विक लगायतले बोलेका थिए । नेपाल परिषद सदस्य सुर्यचन्द्र भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन टीकापुर नगर कमिटी अध्यक्ष रंग अधिकारीले गरेका थिए ।