केबुलकार सुपको समृद्धि बन्नेछ : राणा

शेयेर गर्नुहोस


टीकापुर १३ पुस /
परराष्ट्र मन्त्री आरजु राणाले केबुलकार सञ्चालन हुनुले सुदुरपश्चिमको समृद्धिको आधार तयार भएको बताएकी छन् ।
चिसापानीमा निर्माण हुन लागेको जाल्पादेवी केबलकारको शिलान्यास गर्दै मन्त्री राणाले केबुलकार सुदुरपश्चिमको समृद्धिको आधार बन्ने बताएकी हुन । “सुदुरपश्चिम क्षेत्रमा निजि क्षेत्रको यो सबैभन्दा ठूलो लगानी हो । त्यो पनि प्रदेशको प्रवेशद्वारमा ।” उनले भनिन्, “यो लगनी पर्यटन क्षेत्रका लागि मात्रै नभई समग्र सुदुरपश्चिम प्रदेशको समृद्धिको आधार बन्ने विश्वास लिएकी छु ।”
उनले आफैमा पनि सुदुरपश्चिम सम्भावना बोकेको प्रदेश भएको भन्दै त्यसमा लगानीको अभाव रहँदै आएको बताइन् । “हाम्रो समृद्धिको आधार कृषि, पर्यटन र जल नै हो । ती तिनै क्षेत्रले सुदुरपश्चिमलाई छोएको छ ।” उनले भनिन् “त्यसमा लगानी चाहिएको छ । आज एउटा क्षेत्रको लगानीले समग्र क्षेत्रलाई सँगै समेटेर लैजाने छ ।”
देशमा समृद्धि ल्याउनकै लागि दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताउँदै विकासका काममा अप्ठ्यारो नीति नियमलाई सहज बनाउँदै समृद्धिको यात्रा तय गर्ने काम भएको मन्त्री राणाले बताइन् । उनले वर्तमान सरकार जिम्मेवार भएर गम्भीर रुपमा काम गरिरहेको बताएकी छन् । “हामीले देश सहि बाटोमा अगाडि बढ्न सकेन अनि जनताले सोचेको परिवर्तन गर्न सकिएन भनेर अहिले ठुला दुई दल एक हुनुपरेको हो ।” उनले भनिन्, “हामीले जनताको अपेक्षाअनुसारको काम गर्दै आएका छौँ । त्यसको परिणाम विस्तारै देखिँदै जाने छ ।”
शिलान्यास कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष तथा लगानीकर्ता चन्द्रप्रसाद ढकालले केबुलकार सञ्चालनमा आएपछि यसक्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । पश्चिममा पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा केबुलकार स्थापित हुने उनको भनाइ छ । उनले पाँच सय भन्दा बढीले प्रत्यक्ष काम पाउने बताउँदै सुदुरपश्चिम क्षेत्रको सम्भावनालाई मजबुत बनाउने बताए । “हामीले सातवटै प्रदेशलाई समेट्ने गरी केबुलकार सञ्चालन गर्ने लक्ष्य लिएका छौँ ।” उनले भने, “त्यसका लागि राज्यले लगानीमत्री वातावरण सिर्जना गरिदिनुपर्छ । “
अध्यक्ष ढकालले देशको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै पर्यटन पुर्वाधारमा ध्यान दिन आग्रह गरेका छन् । “नेपाल आएको पर्यटकलाई बढी दिन नेपालमा बसाउने वातावरण बनाउन सक्यो भने उसले बढी भन्दा बढी खर्च गर्ने स्थिति बन्यो भने देश आफै समृद्धिको बाटोमा जान्छ ।” उनले भने, “त्यसका लागि राज्यले निजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाइदिनुपर्छ । राज्य आफैले पनि लगनी गर्ने र लगानीकर्तालाई प्रोत्साहन गर्ने काम गर्नुपर्छ ।”
झण्डै ६ अर्ब लागतमा निर्माण हुने केबुलकारको चिसापानी देखि राजकाँडासम्मको दुरु तीन दशमलव पाँच किलोमीटरको हुनेछ । उक्त दुरी केबुलकारबाट १० मिनेटमा पुरा गर्न सकिनेछ भने एकदिनमा झण्डै ६ हजार मानिसले आवतजावत गर्न सक्नेछन् । केबुलकारमा कैलाली जिल्ला समन्वय समितिका पूर्व सभापति सूर्यबहादुर थापाको लगानीमा निर्माण गर्न लागिएको हो । परियोजना एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *