शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १३ भदौ /
कैलालीको टीकापुरमा केरामा देखिएको टिआर ४ (पानामा) रोगको प्रारम्भिक अध्ययन सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले गरेको केराको नमुना परिक्षणमा पानामा रोगको संक्रमण देखा परेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण संगठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले केरामा देखिएको पानामा रोगको प्रारम्भिक स्थलगत अध्ययन सुरु गरेको हो ।
राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्रका बैज्ञानिक डा. रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ । कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालयका प्रमुख सहित किसानहरूसँग छलफल चलाएको छ । प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनको लागि आचारसंहिता सहित कार्यान्वयनका लागि सरोकारवालाहरुसँग छलफल गरेको हो ।
छलफलका क्रममा कार्यदलका संयोजक कृषि बैज्ञानिक डा.रामबहादुर खड्काले किसानलाई हतोत्साहित नभएर सावधानी अपनाउन आग्रह गर्नुभएको छ । उहाँले कृषिमा सबैभन्दा ठूलो महामारीको रुपमा पानामा रोग देखिएको बताउँदै त्यसको संक्रमण अन्य बारीमा फैलिन नदिन किसान सचेत हुनुपर्ने बताउनुभएको हो । “हामीले नमुना लिएर परिक्षण गरेका बारीहरुमा अहिले पुग्दा स्थिति डरलाग्दो देखिन्छ । त्यहाँ ६०/६५ प्रतिशत बिरुवामा संक्रमण फैलिएको छ ।” डा. खड्का भन्नुहुन्छ, “त्यस क्षेत्रलाई नष्ट गर्नु राम्रो हुन्छ भने अन्य क्षेत्रमा विशेष सावधानी आवश्यक छ । अन्य क्षेत्रमा पनि स्थलगत अवलोकन गर्दा संक्रमण फैलिएको जस्तो देखिएको छ ।”
माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले किसानलाई दिएको छ । कार्यदलका सदस्य बरिस्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा संकलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ । “रोगको संक्रमण पुष्टि भैसकेपछि हतोत्साहित नभएर रेखदेख गर्नुपर्छ । बारी बाहिरको सामाग्री बारीमा नलिने र भित्रको सामाग्री बाहिर नलिने व्यवस्था मिलाउन सक्नुपर्छ ।” पौडेलले भन्नुभयो, “विशेषगरी सवारीसाधन र पानीबाट बढी जोखिम भएका कारण बारीमा सवारीसाधनमा रोक लगाउन जरुरी छ ।”
कार्यदलको टोलीले गरेको अध्ययनले अधिकांश केरा बारीमा रोगको संक्रमण फैलिएको देखाएको छ । कतिपय ठाउँमा केरामा लक्षण नदेखिए पनि माटोबाट सरेको जीवाणुको लक्षण देखिन ६ महिनासम्म लाग्ने बताएको छ भने बिरुवाबाट ३/४ महिनामै लक्षण देखिने गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र जोशीले किसान आफै जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । उहाँले किसानले आफ्नो बारीको निगरानी बढाउनुपर्ने र स्थानीय सरकारले किसानसँगको समन्वयलाई बढाउनुपर्ने बताउनुभयो ।
कैलाली केरा उत्पादक संघका अध्यक्ष दिपेन्द्र थारुले किसान रोगको सक्रमण देखिएपछि सचेत भएको बताउनुभयो । उहाँले किसानको समस्या तत्कालीन नभई दीर्घकालीनसम्म रहनेमा चिन्ता व्यक्त गर्नुभयो । “केरा किसानहरु विगतमा पनि प्राकृतिक विपतिका कारण ठूलो नोक्सानी बेहोर्दै आएका छौँ । अब अहिलेको रोगले त एक दिन पक्कै पनि केरा किसान विस्थापित हुन्छन् ।” उहाँ भन्नुहुन्छ, “अब राज्यले हामीलाई विकल्प दिनुपर्छ । केरा नष्ट गर्नुपर्ने भए पनि हामी गर्न तयार छौँ तर हामीसँग व्यवसायमा भएको स्रोतसाधन थन्क्याएर बस्न सक्ने अवस्था छैन । भएका स्रोतसाधनले काम पाउनुपर्यो । हामी केरा व्यवसाय छोडेर अर्को व्यवसाय गर्न तयार छौँ । विकल्प राज्यले खोज्नुपयो ।”
सुदुरपश्चिम प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले जोखिम विश्लेषण कार्यदलले बनाएको आचारसंहिताको कार्यान्वयनमा किसानले ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले सानो लापरबाहीले रोगको संक्रमण देशभर फैलिन सक्ने चिन्ता व्यक्त गर्नुहुँदै टीकापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । “टीकापुर नगरपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरौं । त्यसैअनुसार अगाडि बढौँ । डराएर, हतोत्साहित भएर समस्याको समाधान हुदैन । तत्काल रोगलाई एक ठाउँबाट अर्को ठाउँसम्म सर्न नदिऔँ ।” मन्त्री चौधरी भन्नुहुन्छ, “त्यसपछि सरकारले गर्नुपर्ने काम के हो त्यसको पहिचान गरेर अगाडि बढौला । तिनै तहको सरकारको समन्वयमा काम गरौंला ।”
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तिनै तहको सरकारको समन्वयमा मात्रै केरामा देखिएको रोग निदानको उपाय खोज्न सकिने बताउनुभयो । उहाँले बिज्ञको टोलीको अध्ययनपछि आवश्यक रणनीति स्थानीय सरकारले पनि अपनाउने बताउनुभएको छ । नेपालमा हाल वार्षिक करिब १५ अर्बको केरा उत्पादन हुँदै आएको छ । त्यसमा कैलालीको हिस्सा धेरै छ । पछिल्लो समय रोगको संक्रमण देखिएपछि भारतको सिमावर्ती क्षेत्रका भन्सारमा कडाई समेत गरिएको छ । पानामा रोगको संक्रमणको लक्षण देखिएको महसुस भएपछि टीकापुरमा रहेको सुदुरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसको ल्याबमा परिक्षणका लागि नमुना पठाउन पनि कार्यदलले किसानलाई सुझाव दिएको छ ।