शेयेर गर्नुहोस
टीकापुर ०८ जेठ /
नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले नेपाली काँग्रेस नफुट्ने प्रतिक्रिया दिएका छन् ।
खासगरी निवर्तमान सभापति शेरबहादुर देउवा सहितको गुटले देशभर फरक ढंगबाट कार्यक्रम सञ्चालन गर्न थालेपछि पार्टी फुटको संघारमा गएको आकलन गरिए पनि पार्टी नफुट्ने डा. रावलले बताएका हुन । “हामीले पार्टी भित्र सबैको हैसियत मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि दबाब स्वरुप कार्यक्रम सञ्चालन सुरु गरेका हौँ ।” उनले भने, “पार्टी भित्रका तिक्ततालाई हटाएर पार्टीमा सबैको भुमिका सुनिश्चित गर्न यस्तो गर्न परेको हो ।” पार्टीको साधारण सदस्य भएर बस्ने तर पार्टी फुटाउने पक्षमा कोहि नरहेको उनको भनाइ छ ।
स्थानीय तहसम्म पनि पार्टी विभाजनको पक्षमा कोहि नरहेको उल्लेख गर्दै पार्टीका कार्यकर्ताबाट सबैको सम्मानजनक भुमिका सहित कार्यविभाजनको माग आएको डा. रावलको प्रतिक्रिया छ । “बिहिवार टीकापुरमा नेता तथा कार्यकर्ताहरुसँग पनि छलफल भएको थियो । छलफलका क्रममा पार्टीलाई एकताबद्ध ढंगबाट लैजान सुझाव आएको छ ।” उनले भने, “त्यस्तै सुझाव तथा प्रक्रिया संकलन गर्न र वर्तमान पार्टी नेतृत्वलाई दबाब सिर्जना गर्नकै लागि सातवटै प्रदेशमा अन्तरक्रिया तथा प्रदेश भेला आयोजना गरिन लागेको छ ।”
काँग्रेसको देउवा समुहले सुदुरपश्चिम प्रदेशमा यहीँ जेठ १० गते प्रदेश भेला आयोजना गर्ने तयारी गरेको छ । सातवटै प्रदेशमा हुन प्रदेश भेलाले पार्टीमा एकताको सन्देश दिने विश्वास डा . रावलले गरेका छन् । सम्पर्क कार्यालय स्थापनाको विषय भने रावलले पार्टी भित्रका अन्तरविरोधहरुलाई कम गर्दै पार्टी सुदृढीकरणका लागि भएको बताए । “सम्पर्क कार्यालय त अन्य नेताहरूले पनि खोलेका छन् । यो खासै ठुलो कुरा होइन ।” उनले भने “ठूलो कुरा काँग्रेसलाई मजबुत बनाएर देशको बलियो शक्ति बनाउनु हो ।”








