केही दिनभित्र विमानस्थल सञ्चालनमा आउँछ : थारु

शेयेर गर्नुहोस

टीकापुर ०४ मंसिर/
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले केही दिनभित्र टीकापुर विमानस्थल सञ्चालनमा आउने बताएका छन् ।
रिभर साइड यातायात प्रालीले “नमस्ते टीकापुर” सिलिपर भिआइपी बस सेवाको बुधबार उद्घाटन गर्ने क्रममा नगर प्रमुख थारुले केही दिनभित्र विमानस्थल सञ्चालन हुने बताएका हुन । “तारा एयर र यति एयरसँग कुरा भएको छ । उहाँहरु हाम्रो प्रस्ताबमा सकारात्मक हुनुहुन्छ ।” नगर प्रमुख थारुले भने, “केही दिनमा विमानस्थल पुनः सञ्चालन हुन्छ । टीकापुरबाट काठमाडौंको हवाइ सेवा सञ्चालनमा आउँछ ।”
राज्यले टीकापुरलाई सधै बेवास्ता गर्दै आएको बताउँदै नगर प्रमुख थारुले प्रदेश सरकारको भुमिका पनि संघीय सरकारकै जस्तो देखिएको उल्लेख गरेका छन् । “हामीलाई पटकपटक केन्द्र सरकारले आश्वासन दिने भन्दा अरु सहयोग गरेको छैन ।” नगर प्रमुख थारु भन्छन्, “त्यहीँ व्यवहार प्रदेश सरकारले पनि देखाएको छ । भन्दा १५/२० करोड खर्च गर्न सक्छौं भनेर आश्वासन दिन्छ, माग्दा केही दिँदैन ।”
उनले स्थानीय सरकारले आफ्नो सिमित स्रोतसाधनबाट भए पनि नागरिकहरूलाई सहज सेवा उपलब्ध गराउने कुरामा प्रतिबद्ध रहेको बताए । नगर पुरानै सम्झौताअनुरूप विमानस्थल सञ्चालन हुने बताए । “विमानस्थलको स्तरोन्नति अनि धावनमार्ग कालोपत्रेका लागि केन्द्र सरकारलाई आग्रह गर्दागर्दै केही सीप लागेन ।” उनले भने, अन्तिममा निजि क्षेत्रसँग समन्वय गरेर भए पनि नागरिकहरूलाई आवश्यक सुविधा दिनका लागि हामी गम्भीर भएर लागेका छौँ ।”
उनले निजि क्षेत्रको लगानी देश निर्माणमा महत्त्वपूर्ण रहने बताउँदै निजि क्षेत्रको लगानी विना समृद्धिको परिकल्पना गर्न नसकिने बताएका छन् । “निजि क्षेत्रको लगानी समृद्धिको प्रमुख आधार हो । त्यो बिना समृद्धिको कल्पना गर्न सकिँदैन ।” उनले भने, “तर, सरकार निजि क्षेत्रको प्रवर्द्धन अनि अभिभावकत्वबाट विमुख हुँदै गएको देखिन्छ ।” भिआइपी बस सेवाले स्थलमार्गबाट काठमाडौं यात्रा गर्ने यात्रुलाई थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।
गतवर्ष कार्तिक १२ गतेबाट टीकापुर विमानस्थल सञ्चालनमा आएको थियो । सुरुमा हप्ताको दुई दिन हवाई सेवा सुरु भएको विमानस्थलबाट केही दिनपछि हप्ताको तीन दिन सेवा सुरु गरिएको थियो । १५ सिटको जिम्मा नगरपालिकाले लिएर सञ्चालन भएको विमानस्थलमा नगरपालिकाले गत वर्ष ७ लाख भन्दा बढी रकम टिकटमा खर्च गरेको थियो । त्यहीँ सम्झौतामा विमानस्थल सञ्चालन भए यसपटक पनि त्यहीँ हाराहारीमा नगरपालिकाले खाली सिटको पैसा तिर्नुपर्ने अनुमान गरिएको छ ।
जानकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष कमल महतोले पछिल्लो समय यात्रुहरूलाई सहजताको लागि बस सेवा प्रभावकारी बन्दै गएको बताएका छन् । उनले यात्रुहरूले सहज अनि आनन्दमय यात्रा गर्नेमा विश्वास व्यक्त गरेका छन् । रिभर साइड यातायात प्रालीले टीकापुरबाट छ वटा सिलिपर भिआइपी बस सेवा सुरु गरेको प्रालिका अध्यक्ष गणेश ओलीले जानकारी दिएका छन् ।
एक करोड ५० लाख लागतमा तयार भएका बस आरामदायी र यात्रुको चाहनाअनुसार सञ्चालनमा ल्याइएको बताए । उनले विमानस्थल अनि जहाज नभई नागरिकहरुका लागि सुलभ अनि सहज यात्राका लागि स्तरीय यातायात मार्ग आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *