कोही पुरानै विमानस्थल सञ्चालनका लागि त कोही सार्नुपर्ने भन्दै पुगे मन्त्रालय

शेयेर गर्नुहोस

झलनाथ खनाल, टीकापुर १८ पुस /
विमानस्थलका लागि चालू आर्थिक वर्षमा बजेट नपरेपछि टीकापुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद, टीकापुर नगरपालिका तथा राजनीतिक दलका नेताहरुले सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमा भेट्न ब्यस्त देखिएका छन् ।
गत आइतबार नागरिक उड्डयन प्राधिकरण क्यानको मन्त्री आलेको अध्यक्षतामा बसेको बैठकले सुदुरपश्चिमका १० वटा विमानस्थलका लागि बजेट विनियोजन गर्ने निर्णयलाई कार्यान्वयनका लागि मन्त्री परिषदमा लैजाने निर्णय गरेको भएपनि त्यसमा टीकापुर विमानस्थलका लागि बजेट नपरेको भन्दै टीकापुरबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलको सामाजिक संजालमा आलोचना हुन थालेपछि बजेटको माग गर्दै मन्त्री आलेलाई भेट्न जानेको लर्कै लागेको हो ।
सोमबार नै सुदुरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा एक समुहले सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरेको तस्बिर सामाजिक संजालमा पोस्ट भयो । तस्बिरमा टीकापुर विमानस्थलका पुर्व अध्यक्ष टीकाराम जैशी,संबिधान सभा सदस्य हरि ज्ञवाली लगाएतको सहभाता रहेको देखिन्थ्यो । त्यसपछि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल पनि टीकापुर विमानस्थलको विषयमा बुझ्न बिहीवार मन्त्री आलेलाई भेट्न पुगे । नगर प्रमुख रावलसँग नेकपा माओवादी केन्द्रका टीकापुर नगर अध्यक्ष खडक शाह पनि साथमा देखिन्थे । समुहगत रुपमा नभई फरकफरक समूह बनाएर जाँदा विकासका सम्भावनाहरुमा विश्वास दिलाउन कठिन हुने कुरा यसभन्दा पहिलेका भेटहरुबाट बुझिएको भएपनि त्यहीँ क्रम यसपटक पनि दोहोरिएको छ ।
सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले विमानस्थलका लागि बजेट नपरेपछि तत्काल मन्त्रीलाई भेट्नुपर्ने भएको कारण सबैसँग समन्वय गर्न नसकिएको बताएका छन् । उनले मन्त्रीसँगको भेटमा स्थानीय सरकारले समन्वय नगरेकै कारण विमानस्थलका लागि बजेट नपरेको प्रतिक्रिया दिएको बताउँदै अहिले तत्कालकोलागि २ करोड बजेट विनियोजन गर्ने निर्णय भएको र विमानस्थल निर्माणको कामलाई क्रमागत रुपमा लैजाने सहमति भएको बताए ।
“विकासका लागि पैसाको अभाव रहेन छ । अभाव समन्वयको रहेछ । स्थानीय सरकारले प्रदेश र संघसँग समन्वय गर्न सकेको अवस्थामा बजेटको लागि समस्या नहुने रहेछ ।” डा. रावलले भने, “विमानस्थलमा पनि त्यही भयो । हामीले समन्वय गर्यौं योजना बन्यो तर स्थानीय तहको चासो नभएका कारण बजेट परेन ।” डा. रावलले पुरानै विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने सहमति भएको बताउँदै टीकापुरको विकासका लागि राजनीतिक दल तथा अन्य सरोकारवालासँग स्थानीय सरकारको समन्वय आवश्यक रहेको बताएका छन् ।
उता टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले विमानस्थलका लागि बजेट विनियोजनको मौखिक सहमति मात्रै भएको बताए । उनले विमानस्थलका विषयमा विभिन्न खालका टिकाटिप्पणी हुन थालेपछि मन्त्रालयसम्म पुगेको बताउँदै अहिलेको विमानस्थल प्राबिधिक रुपमा सञ्चालन गर्न नसकिने प्रारम्भिक प्रतिवेदन आएकोले विमानस्थल सार्ने कुरामा छलफल भएको बताएका छन् । “विगतमा अहिलेको विमानस्थल प्राविधिक रुपमा असफल भएको भन्दै निर्णय गर्ने र त्यही विमानस्थल सञ्चालनको माग राख्नु राजनीतिक प्रतिशोध मात्रै हो ।” नगर प्रमुख रावलले भने, ” आफू अनुकूलको काम गर्ने परिपाटीका कारण समन्वय अभाव भएको मात्रै हो । हामी टीकापुरको विकासका लागि जोसँग पनि समन्वय गर्न तयार छौँ । अब दुई करोड बजेट आएकै अवस्थामा पनि विमानस्थलको के स्तरोन्नति गर्न सकिन्छ त ? “
नगर प्रमुख रावलले मन्त्री आलेसँग विमानस्थल सार्ने कुरामा छलफल भएको र केही दिनमा आफै स्थलगत अनुगमनमा आउने त त्यस्को सर्वे टोलि पठाउने आश्वासन आफुले पाएको बताएका छन् । “अब पहाडी जिल्ला र नेपालगन्जसम्म हवाई उडानका लागि सानो १६ सिटे जहाज सञ्चालनमा ल्याउने गरी विमानस्थल सुचारु गर्नेहो भने मात्रै हो । नभए भविस्यलाई हेरेर विमानस्थलको स्तरोन्नति गर्ने हो भने सार्नुपर्ने कुरा यसभन्दा पहिलेको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।” नगर प्रमुख रावलले भने, “यसमा सबैको सहमति हुन पनि जरुरी छ । सस्तो लोकप्रियता कमाउने उद्देश्यले स्थानीय सरकारलाई दोष दिएर भविस्यलाई नहेर्ने हो भने त्यसको असर लामो समयसम्म पर्न सक्छ ।” उनले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अनुसार जग्गा अधिकरण गरेर विमानस्थलको दुरि बढाउनु भन्दा कम लगानिमा विमानस्थल सार्न सकिने र त्यसका लागि सर्वे टोलिले सर्वे गरेपछि विमानस्थलको काम अगाडि बढ्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *