को बन्ला प्रदेशको मुख्यमन्त्री

शेयेर गर्नुहोस


टीकापुर १८ साउन /
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेस भित्र हानथाप चलिरहेका बेला प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने चर्चा बढेको छ ।
काँग्रेस भित्र मुख्यमन्त्रीको हानथाप चले पनि प्रकाशबहादुर देउवाको सम्भावना बलियो देखिएको छ । नेकपा एमाले र कांग्रेसबिच भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री काँग्रेसले पाउने भएपछि कांग्रेस भित्र मुख्यमन्त्रीको हानथाप चलिरहेका बेला देउवाको सम्भावना भने बलियो देखिएको हो । उसो त, पूर्वमुख्यमन्त्री समेत रहेका काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री देउवा र प्रदेश सभा सदस्य बहादुर सिंह थापा गरी ३ जना मुख्यमन्त्रीका दाबेदार छन् । उनीहरूले नेताहरूसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन् । तर पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक निर्णय भने आउन बाँकी छ । प्रकाश देउवा सभापति देउवाका भतिजा समेत हुन् । मुख्यमन्त्रीको दाबेदार थापाले अन्तिममा देउवालाई समर्थन गर्ने सम्भावना पनि बलियो छ ।
शाह बाहेकलाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको अवस्थामा संसदीय दलको जिम्मेवारी पनि फेरबदल हुने बताइएको छ । आज काँग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक समेत आह्वान गरिएको छ । सोही बैठकबाट सबै जिम्मेवारी तय हुने बताइएको छ । सुदूरपश्चिम संसदीय दलभित्र प्रकाश देउवा प्रभावशाली मानिन्छन् । शक्ति केन्द्र निकट मानिने उनको पक्षमा बहुमत सदस्य रहेको बताइएको छ । निवर्तमान मुख्यमन्त्रीले पहिलो कार्यकालमा संतोषजनक काम गर्न नसकेको भन्दै अहिले पनि आलोचना भैरहेको छ ।
सुदूरपश्चिममा नेपाली काँग्रेसका १८ जना प्रदेश सभा सदस्य छन् । यहाँ काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)को संयुक्त सरकार बन्ने देखिएको छ । यसैबिच आजै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाइएको छ । मुख्यमन्त्री सोडारीले पठाएको पत्रका आधारमा प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *