शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १४ भदौ /
नेपाल जेसीजको आयोजनामा हुन लागेको क्षेत्र घ सम्मेलनको तयारी तिब्र पारिएको छ ।
टीकापुर जेसीजको आतिथ्यताका यहीँ भदौ २४ र २५ गते हुन लागेको क्षेत्र घ सम्मेलनको तयारी तिब्र पारिएको हो ।
नेपाल भित्रका ५५ शाखाको सहभागिता रहने उक्त सम्मेलनलाई टीकापुरले एक महत्त्वपूर्ण र ऐतिहासिक महत्त्वका साथ हेरेको बताउनुभएको छ । उहाँले २०७२ सालको टीकापुर घटनापछि टीकापुर प्रती बाह्य क्षेत्रको हेर्ने दृष्टिकोण राम्रो नभएको बताउँदै त्यसलाई चिर्नको लागि पनि सम्मेलनको भुमिका महत्त्वपूर्ण हुने बताउनुभएको हो ।
नगर प्रमुख थारुले सम्मेलनले टीकापुर प्रतिको बाह्य रुपमा देखिएको नकारात्मक प्रभावलाई समेत निरुत्साहित गर्ने बताउनुभएको छ । “यो नगरपालिकाका लागि गौरवको कार्यक्रम हो । यसले आर्थिक देखि पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा निकै महत्त्वपूर्ण भुमिका रहनेछ ।” नगर प्रमुख थारुले भन्नुभयो, “हाम्रो क्षेत्रको कला संस्कृतिको संरक्षण र पहिचानलाई समेत सम्मेलनले झल्काउने छ ।”
नगरपालिकाका नगर उपप्रमुख खडक शाहले सम्मेलन टीकापुरलाई चिनाउने महत्त्वपूर्ण माध्यम हुने बताउनुभएको छ । उहाँले जेसीजको सम्मेलनलाई टीकापुरसँग जोडिएको बताउँदै त्यसलाई सफलतापुर्बक सम्पन्न गर्न सबैको भुमिका आवश्यक रहने बताउनुभएको छ । “देशभरका युवाहरूको सहभागिता टीकापुरमा हुने भएकोले सम्मेलनलाई फलदायी बनाउनु हामी सबैको कर्तव्य हुनेछ ।” नगर उपप्रमुख शाहले भन्नुभयो, “स्थानीय सरकारले गर्नुपर्ने काममा कुनै कमि रहने छैन । समग्र टीकापुरले आफ्नो कार्यक्रम भनेर लाग्नुपर्ने छ ।” नगरपालिकाको वडा नं. १ का वडा अध्यक्ष मोहन विकले जेसीजको सम्मेलनले टीकापुर क्षेत्रको कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
सम्मेलनमा नवलपरासीको गैंडाकोटदेखि पश्चिमका ५५ शाखाबाट एक हजार भन्दा बढी युवाहरूको सहभागिता रहने टीकापुर जेसीजका अध्यक्ष टोप प्रकाश विकले जानकारी दिनुभएको छ । “सम्मेलनको करिब ७० प्रतिशत काम पूरा भैसकेको छ । अब आन्तरिक व्यवस्थापनका कामहरू बाँकी छन् । त्यो पनि निरन्तर भैरहेको छ ।” अध्यक्ष विकले भन्नुभयो, “यो आवास लगायत यातायातका साथै आएका पाहुनाहरुलाई टीकापुर क्षेत्रका पर्यटकीय स्थलको अवलोकन जस्ता कार्यको योजनाका साथ काम भैरहेको छ ।” सम्मेलन युवाहरुका साझा मुद्दाका विषयमा र अनुभव आदानप्रदान लगायत महत्त्वपूर्ण विषयवस्तु माथीको छलफलमा केन्द्रित हुने बताउनुभएको छ ।
क्षेत्र घ सम्मेलनका निर्देशक नवराज रावलले जेसीजको सम्मेलन टीकापुरको लागि अवसर र चुनौती दुबै भएको बताउनुभएको छ । उहाँले टीकापुरको बाहिरी सन्देश राम्रो नभएको बताउँदै राम्रो भए त्यसले भित्री टीकापुर बाहिरको प्रचार जस्तो नभएको र नराम्रो भए त्यसै कुरालाई पुष्टि गर्ने भएकोले सम्मेलन निकै संवेदनशील हुने बताउनुभएको छ । “अवसरलाई आत्मसात गर्दै चुनौतीलाई पन्छाएर अघि बढ्नुको विकल्प छैन ।” निर्देशक रावलले भन्नुभयो, “त्यसका लागि सबैले यो कार्यक्रम हाम्रो हो भन्ने भावनाले सहयोग गर्नुपर्छ ।”
नेकपा एमालेका टीकापुर नगर अध्यक्ष ध्रुव खत्रीले टीकापुर चिनाउनको लागि क्षेत्र घ सम्मेलन निकै उपयोगी हुने बताउँदै त्यसका लागि टीकापुरको अहिलेको वस्तुस्थितिलाई स्थानीय सरकारले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हरि तिमिल्सिनाले टीकापुरलाई चारैतिरबाट घेराबन्दी गर्ने काम भएको छ, त्यसलाई चिरफार गर्ने काम क्षेत्र घ सम्मेलनले गर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीका कैलाली जिल्ला सदस्य झपट सोडारीले क्षेत्र घ सम्मेलनमा सहभागी हुने अधिकांश युवा व्यावसायिक रुपमा मजबुत रहेको बताउँदै त्यसले टीकापुरमा लगानी गर्ने बाताबरण समेत बनाउन सक्ने बताएका छन् ।
नेपाल जेसीजले प्रत्येक बर्ष युवा सम्मेलन गर्दै आएको छ । टीकापुर जेसीजले दोस्रोपटक क्षेत्र घ सम्मेलन गर्न पाउने अवसर पाएको हो । यसभन्दा पहिले २००१ मा टीकापुर जेसीजको आतिथ्यतामा क्षेत्र घ सम्मेलन भएको थियो । सम्मेलनमा ९३ लाख खर्च हुने अनुमान गरिएको छ ।