खबरदारी पूरा गर्न सरकारमा सहभागी भयौं : मन्त्री रावल

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २८ चैत /
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले विगतमा प्रदेश सरकारलाई गरिँदै आएका खबरदारीलाई पूरा गर्नको लागि नेपाली काँग्रेस प्रदेशमा सरकारमा सहभागी भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस टीकापुर नगर समितिले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विगतका दिनहरुमा आफुहरु सरकारको प्रमुख प्रतिपक्षीको भुमिकामा रहँदै सरकारले गर्न नसकेका कामहरूमा खबरदारी मात्रै गरेको र अब त्यतिबेला गरेका खबरदारीले पनि पूरा हुन नसकेका कामहरूलाई पुर्णता दिनको लागि सरकारमा सहभागी भएको बताउनुभएको हो । “संघीयताको नयाँ अनुभवमा अहिले नागरिकहरूमा प्रदेश सरकारको आवश्यकता नभएको महसुस भएको अवस्थामा नागरिकहरूलाई प्रदेश सरकारको भुमिका छ, भन्ने मानसिकताको विकास गर्नुपर्ने छ ।” मन्त्री रावलले भन्नुभयो, “अब हाम्रो कार्यकालको केही महिना मात्रै बाँकी रहँदा प्रदेश सरकारको अनुभुती हुने गरि नागरिकहरूलाई काम गरेर देखाउने अठोटका साथ काँग्रेस सरकारमा सहभागी भएको छ ।”
उहाँले बाँकी रहेको अवधीमा थुप्रै कामहरु गर्नुपर्ने भएको बताउँदै सरकारमा सहभागी हुँदा अवसरभन्दा चुनौती बढी रहेको बताउनुभएको छ । रावलले टीकापुरको शान्ति सुरक्षालाई मजबुत बनाएर अगाडि बढ्नु पर्ने समेत बताएका छन् । मन्त्री रावलले आफुले जिम्मेवारी पाएको मन्त्रालयले गृह पनि हेर्ने भएकोले टीकापुरमा शान्ति सुरक्षालाई मजबुत बनाएर टीकापुरको सकारात्मक सन्देश बाहिर पुर्याउनु पर्ने बताएका छन् ।

उहाँले संघीय सरकारदेखि सबै प्रदेश सरकारमा गठबन्धन रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन सँगै जाने बताउनुभएको छ । “देशको संबिधान र लोकतन्त्र नै खतरामा परेको बेला जसरी लोकतन्त्रको रक्षाको लागि पाँच दल एक ठाउँमा आउनुभयो छ । अब त्यसलाई नै निरन्तरता दिनको लागि पनि स्थानीय तहको निर्वाचनमा गठबन्धनका साथ जानुपर्छ ।” मन्त्री रावलले भन्नुभयो, “कतिपय ठाउँमा गठबन्धन हुनु हुँदैन भन्ने कुरा पनि आएको छ । तर केन्द्रिय समितिले गरेको निर्णय हामी सबैले मान्नुपर्छ ।”
नेपाली काँग्रेस टीकापुर नगर सभापति नरेशकुमार खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत नगर उपसभापति सुरत रावलले गरेका थिए भने सञ्चालन नगर सचीव प्रकाश शाहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *