शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०८ पुस /
कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ का विक्रम चौधरी यसवर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै खुसी हुनुहुन्थ्यो । १२ बिगाहा क्षेत्रफलमा धान खेती गर्नुभएका विक्रम आफ्नो खेतको धान हेरेर आफै मख्ख पर्नुहुन्थ्यो । तर, उहाँको त्यो खुसी धेरै समय रहेन । धान काटेर खेतभरी बनाइएको धान बाढीले बगायो । बाकी रहेको धान सरकारले तोकेको समर्थन मुल्यमा बिक्री गर्न पाएपछि लगानीसम्म आउला भन्ने आशा विक्रमको मरेको थिएन ।
कार्तिकमा भित्र्याएको धान खाद्यको पर्खाइमा पुससम्म घरमै रहयो । अन्ततः खाद्यले किसानको धान खरिदको लागि टीकापुर नगरपालिकाको वडा नं. ७ मा खरिद केन्द्र स्थापना गरि धान खरिद सुरु गरेपछि विक्रम बाढी र डुवानबाट बचाएको २० क्विन्टल धान ट्याक्टरको ट्राली भरेर सत्ती पुग्नुभयो । खाद्यले विक्रमको धान तोकिएको मापदण्डअनुसार नभएको भन्दै फिर्ता गर्यो । “मूल्य पाइन्छ भनेर बाहिर धान बिक्री गरिएन । खाद्यले पनि धान गुणस्तरीय छैन भन्दै फिर्ता गरिदियो ।” विक्रमले भन्नुभयो, “बाढीबाट बचाएको धान बेचेर लगानी उठाउने आस थियो त्यो पनि मर्यो ।”
विक्रम त्यसको एक उदाहरण मात्रै हुनुहुन्छ । कैलालीको दक्षिण पुर्वी क्षेत्रका किसानहरुसँग यो वर्ष गुणस्तरीय धान छैन । अधिकांश धान बाढीमा बगेर गएको भएपनि डुवानमा परेको धान मुस्किलले बचाएको धान खाद्यले धान खरिद नगर्दा अर्को वर्ष धान रोप्नको लागि चाहिने खर्चको जोहो गर्न समस्या हुने किसान सुरेश चौधरी बताउँनुहुन्छ । “ट्राली भरेर खाद्यको खरिद केन्द्रमा धान बिक्री गर्न पुगियो । पछि गुणस्तर पुगेन भनेर धान फिर्ता गरिदियो ।” सुरेशले भन्नुभयो, “बजारमा बिक्री गर्दा १ हजार २ सयमा बिक्री गर्नुपर्ने बाध्यता छ । लगानी नै नउठ्ने भएपछि बिक्री गरेर पनि के गर्नु ?”
टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगौंरा थारुले किसानको धान खरिदको लागि सरकारले खाद्यलाई दबाब दिनुपर्ने बन्दै किसानसँग बाढी र डुवानबाट बचेको धान जुनसुकै हालतमा सरकारले खरिद गर्नुपर्ने बताउनुभएको छ । “किसानलाई गुणस्तरीय धान ल्याउ भन्दा किसानले कहाँबाट ल्याउन सक्छ । किसानसँग जस्तो धान छ, उसले त्यस्तै ल्याउने हो । त्यो धान खाद्यले खरिद गर्नुपर्छ ।” वडा अध्यक्ष रामलालले भन्नुभयो, “स्थानीय सरकारले किसानहरूको धान खरिद गर्नसक्ने क्षमता छैन । प्रदेश वा संघीय सरकारले तत्काल किसानको खेतमा जस्तो धान उत्पादन भएको छ, त्यो धान खरिद गर्नुको विकल्प छैन ।” उहाँले टीकापुर नगरपालिका वडा नं. ७ सत्तीमा धान खरिदको लागि आएको खाद्य संस्थानले किसानको धान खरिद नै नगरी फर्किएको बताउँदै त्यस्ले किसानहरूमा झनै पीडा थपिएको बताउनुभयो ।
नेपाल खाद्य संस्थान कैलालीले गत मंसिर २२ गतेबाट किसानहरूको धान खरिद सुरु गरेको थियो । आजसम्म खाद्यले १४ क्विन्टल धान मात्रै खरिद गरेको छ । खाद्य संस्थान कैलालीले पहिलो चरणमा ३५ हजार क्विन्टल किसानले उत्पादन गरेको धान खरिदका जिम्मा पाएको थियो । पहिलो चरणमा धनगढी र सत्तीबाट धान खरिद सुरु गरेको भएपनि सत्तीमा पहिलो दिनमै किसानहरूसँग विवाद भएपछि धान खरिद बन्द गरिएको खाद्य संस्थान कैलालीका प्रमुख इन्जिला बस्नेतले बताउनुभएको छ । “हामीले धान खरिद बन्द गरेका छैनौं । किसानहरूसँग गुणस्तरीय धान नभएका कारण धान खरिद बन्द भएजस्तै छ ।” कार्यालय प्रमुख बस्नेतले भन्नुभयो, “हामिलाई जस्तो निर्देशन आएको छ त्यसैअनुसार काम गर्ने हो । अब एक क्विन्टल धानबाट ६४ दशमलव ०५ प्रतिशत चामल निस्कनु पर्छ । त्यो अहिले खरिद भएको धानबाट निस्कने कुनै सम्भावना छैन ।
उहाँले किसानहरुले पहिले काटेको धान बाढी र डुवानले बिगारेको र पछि काटेको धान बढी पाकेर बिग्रेको कारणले पनि किसानसँग खाद्यले खरिद गर्ने खालको धान नभएको बताउनुभयो । कैलालीमा मोटा धान खरिदकालागि मात्रै परिपत्र भएको बताउँदै बस्नेतले जुन धान २ हजार ७ सय ५२ रुपैयाँमा खरिद गर्दै आएको बताउनुभएको छ ।
“हामिले भनेर केही हुँदैन । केन्द्रबाट आएको निर्देशन अनुसार हामिले काम गर्ने हो ।” बस्नेतले भन्नुभयो, “तोकिएको मापदण्ड भन्दा तलमाथि भएको धान खरिद भएको अवस्थामा हामिले पनि कार्वाही भोग्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा आफैलाई जोखिममा राखेर धान खरिद गर्न सक्ने अवस्था पनि भएन ।” उहाँले यो वर्ष किसानहरूसँग खाद्यले तोकेको मापदण्डअनुसारको धान नभएकोले अब धान आउने सम्भावना पनि निकै कम भएको बताउनुभएको छ । खाद्य संस्थान डिपो कार्यालय टीकापुरको मातहतमा टीकापुरमा मात्रै ४/५ ठाउँबाट धान खरिद हुँदै आएको मा अहिले खाद्य संस्थान डिपो कार्यालय टीकापुरको गोदाम चामलले भरिएको छ ।