शेयेर गर्नुहोस
झलनाथ खनाल, भजनी २५ कार्तिक /
खाद्य संस्थान डिपो कार्यालय टीकापुर यो समयमा सुनसान छ । किसानहरूले उत्पादन गरेको धान खरिद गर्नुपर्ने अहिलेको समयमा खाद्य संस्थान सुनसान हुनुले किसानहरूलाई पिर पर्नु स्वभाविक हो ।
नेपाल सरकारले किसानहरूले धान खेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य संस्थानले खरिद गर्नुपर्ने भएपनि धानको सिजन सकिएर किसानहरु हिउँदे खेतिको तयारीमा लाग्दा समेत खाद्यले धान खरिदको प्रक्रिया अगाडि बढाउन सकेको छैन । सरकारले प्रति क्विन्टल मोटा धानको २ हजार ७ सय ५१ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ दररेट निर्धारण गरेको छ । तर किसान अहिले प्रति क्विन्टल एक हजार दुई सयमै धान बिक्रि गर्न बाध्य छन् ।
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ बनगाउँका गणेश चौधरीले यो वर्ष ४० क्विन्टल धान उत्पादन गर्नुभयो । खाद्य संस्थानले धान खरिद गरिदिन्छ कि भन्ने, आशामा बसेका गणेशको त्यो आशा पूरा हुन सकेन । हिउँदे बाली लगाउने समय भैसक्दा पनि खाद्य संस्थानले धान खरिदका लागि कुनै प्रक्रिया अगाडि नबढाएपछी उहाँले सस्तोमा धान बेच्न बाध्य भएको बताउनुभएको छ । “हिउँदे खेतीको समय भैसक्यो । त्यहीँ धान बेचेर बीउ र मल किन्नु पर्छ । अब खाद्यलाई कुर्ने हो भने हिउँदे बाली लगाउन ढिला हुन्छ ।” गणेशले भन्नुभयो, “बाहिर प्रती क्विन्टल दुई हजार दुई सयमा धान बिक्री गर्न बाध्य भएका छौ । त्यो पनि वर्षातमा नभिजेको धान ।”
टीकापुर नगरपालिका वडा नं. ५ का रामकृष्ण चौधरीको सबै खेत बाढिले डुवायो । काटेको धान जसोतसो केहि भएपनि बचाउन सफल हुनुभएका रामकृष्णले बाढबाट बचाएको धान प्रती क्विन्टल एक हजार दुई सयमा बिक्री गर्नुभएको छ । “यहीँ पनि नबेचौँ भने हिउँदे बालिका लागि मलखादको जोहो कसरी गर्ने ? बेच्दा पनि लागत नै आउँदैन ।” रामकृष्णले भन्नुभयो, “हामी किसानहरूलाई यो वर्ष कहिल्यै माथी उठ्न नसक्ने गरि डुवाएको छ । राज्यबाट केही राहत पाइएला कि भनेको त्यसको पनि आश मात्रै भयो ।”
अहिले धान खरिद केन्द्रहरूले धान हेरेर दररेट निर्धारण गर्ने गरेका छन् । किसानहरूले पहिला धानको नमुना ल्याएर खरिद केन्द्रमा देखाउनु पर्ने र त्यसपछि मात्रै धानको मूल्य निर्धारण हुने गरेको हो । पौडेल राइस् मिल टीकापुरका सञ्चालन रामहरि पौडेलले अहिले न्युनतमा एक हजार दुई सय देखि दुई बढीमा दुई हजार दुई सयसम्म धानको मूल्य निर्धारण गरिएको बताउनुभएको छ । उहाँले धानको अवस्था हेरेर मात्रै मूल्य निर्धारण गर्न सकिने बताउनुभएको छ । “कस्तो धान आउँछ भन्ने अहिले कुनै एकिन नै हुँदैन । पहिला धान हेर्छौ त्यसपछि मात्रै मूल्य निर्धारण गर्छौं ।” रामहरिले भन्नुभयो, “भिजेको धान खरिद गरेर हामिहरुलाई पनि फाइदा छैन । तैपनि अन्तिममा पशुपालक किसानहरुलाई धानाको रुपमा भएपनी कुटाएर बिक्री गर्न सकिने अवस्था रहन्छ ।”
अर्का वेस्ट एण्ड क्लासिक खाद्य उद्योगका सञ्चालन मिलन बटालाले धानको खास मूल्य नै नभएको बताएका छन् । उहाँले पहिला गल्ला समितिले धानको मुल्य तोक्ने गरेको बताउँदै अहिले आफू अनुकुल धान खरिद केन्द्रले धानको मूल्य तोकेको बताउनुभएको छ । “धानको दररेट एकनासको छैन । आफ्नो मनलाग्दी दररेट कायम गरिएको छ । एक खरिद केन्द्रले प्रति क्विन्टल एक हजारमा खरिद गर्न चाहेको धान अर्कोले एक हजार पाँच सय पनि दिएको पाइन्छ ।” बटालाले भन्नुभयो, “सबैभन्दा बढी मारमा अहिले किसान छन् । हामिले लामो समयसम्म त्यही बाढीमा भिजेको धान स्टक राखेर कुटाउने हो भने ७५ प्रतिशत चामल निस्किहाल्छ ।”
खाद्य संस्थान धनगढीकी प्रमुख इन्जिला बस्नेतले मन्त्रालयबाट धान खरिदका लागि बजेट र परिपत्र आउन ढिलाइ भएका कारण किसानहरूको धान खरिदमा समस्या भएको बताउनुभएको छ । उहाँले मंसिर पहिलो सातासम्म धान खरिदका लागि प्रक्रिया अगाडि बढ्न सक्ने भन्दै बजेट कार्यान्वयनमा ढिलाइ भएका कारण समय लागेको बताउनुभएको छ । “हामिले आएको निर्देशन अनुसार काम गर्ने हो । जुन निर्देशन मन्त्रालयबाट आउँछ, त्यहीँ अनुसार काम गर्छौं ।” कार्यालय प्रमुख बस्नेतले भन्नुभयो, “धानको खरिदको मापदण्ड कस्तो आउँछ त्यसैअनुसार धान खरिद हुन्छ । पुरानो मापदण्ड अनुसार अधिकांश किसानको धान खाद्यले खरिद गर्न सक्दैन होला ।”