खानेपानीको वार्षिक साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी १९ भदौ /
२०४५ सालमा स्थापना भएको भजनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उपभोक्ता संस्थाका अध्यक्ष नैन बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घबहदुर सोडारीले तीन तहको सरकारको विकासमा समन्वय हुन नसक्दा त्यसले समस्या ल्याएको बताएका छन् । उनले विकासका आयोजनामा समन्वय नभएकै कारण कैयौं आयोजना अलपत्र अवस्थामा परेको बताउँदै त्यसलाई निराकरण गर्नको लागि पनि तीन तहका सरकारको समन्वय आवश्यक रहेको बताएका हुन ।
“हामीलाई सबैभन्दा बढी समस्या सार्वजनिक खरिद ऐनले पारेको छ । आज सार्वजनिक खरिद ऐनकै कारण ठेकेदारहरु बलियो भएका छन् ।” मन्त्री सोडारीले भने, “त्यसलाई परिमार्जन गर्नु अपरिहार्य छ । साथै योजनालाई समयमै सम्पन्न गर्नका लागि पनि तीन तहको सरकारको समन्वय आवश्यक छ ।” कार्यक्रममा प्रदेश सांसद बिरभाम चौधरीले विकासका एजेन्डामा सबैको एउटै मत नभएका कारण समस्या भएको बताउँदै त्यसले विकासका गतिविधिम दीर्घकालीनसम्म असर पार्दै गएको बताएका छन् ।
“हामी विभिन्न आस्थाको राजनीति गर्छौ, त्यो ठिक छ । तर सार्वजनिक संस्था र विकासका कुराहरूमा राजनीति नगरौं ।” सांसद चौधरीले भने, “आज बिचार र आस्थाका कारण मन बाझिएकै कारण हामिले सोचेको परिणाम ल्याउन सकेका छैनौं ।” उनले भजनीको मुख्य समस्या नै कान्द्रा नदी भएको बताउँदै योजना र बजेट हुँदाहुँदै पनि ठेकेदारको लापरबाहीका कारण उपेक्षित उपलब्धि हासिल हुन नसकेको बताएका छन् । उनले सामाजिक संस्थालाई बलियो बनाउन सके विकासको अनुभुती आफै हुने बताउँदै संस्थालाई सबल बनाउनको लागि उपभोक्ताहरुको भुमिका निकै महत्त्वपूर्ण हुने बताएका छन् ।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भजनीले विकासको अनुभुती गर्न अझै नपाएको बताएका छन् । उनले भजनीको मुख्य समस्याको रुपमा खानेपानी रहेको बताए । “नागरिकहरु बाढी र डुवानका कारण आक्रान्त छन् । बस्ने बाँस छैन, खाने गाँस छैन, पिउने पानी छैन ।” नगर प्रमुख चौधरीले भने, “संघ र प्रदेशले नगरपालिकासँग समन्वय गर्न चाहदैन । आज भजनीका नागरिकहरू अस्तव्यस्त अवस्थामा हुँदा पनि प्रदेश र संघ सरकारले केही सोच्न सकेको छैन ।” उनले कान्द्रा नदीको पुल नबनेकै कारण हजारौं नागरिकहरूले सास्ती खेप्नुपरेको बताउँदै त्यसमा संघ र प्रदेश सरकार जिम्मेवार नदेखिएको आरोप समेत लगाएका छन् ।
नगर प्रमुख चौधरीले खानेपानीको क्षेत्र विस्तारका लागि प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गर्दै विकासका सवालमा कोहि पनि कसैको बाधक हुन नहुने बताएका छन् । प्रदेश र संघ सरकारले भजनीलाई हेर्ने दृष्टिकोण नै फरक भएको बताउँदै स्थानीय तहको बजेटले हुन नसक्ने डुवान र कटानको समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।
संस्थाका सचीव टीकाराम जोशीले सञ्चालन गरेको कार्यक्रमको स्वागत संस्था कि सदस्य अनिता चौधरीले गरेकी थिइन् । संस्थाले आर्थिक वर्ष २०७८/०७९ को ११ लाख ६२ हजार तीन सय ८९ रुपैयाँ ७२ पैसा बराबरको आयव्यय प्रस्तुत गरिएको छ । साधारणसभाले संस्था स्थापना गरि अहिलेसम्मको अवस्थामा पुर्याउन महत्त्वपूर्ण योगदान गर्ने संस्थापक अध्यक्ष स्व रामनाथ उपाध्याय र संस्थापक सचीव इन्द्रकुमार मल्ललाई सम्मान गरिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *