शेयेर गर्नुहोस
टीकापुर २२ चैत /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था खानेपानी संस्थाको अवलोकनका लागि मुस्ताङ पुगेको छ ।
खानेपानी संस्थाका पदाधिकारी, पाँचजना कर्मचारी, सल्लाहकार समितिका पदाधिकारी र लेखा समितिका पदाधिकारी सहित १७ जनाको टोली खानेपानी अवलोकन गर्ने भन्दै मुस्ताङ भ्रमणमा पुगेको हो । बेनी खानेपानी आयोजनाको अवलोकन गरेको भ्रमण टोलीले मुस्ताङमा आयोजनाको अवलोकन नगरे पनि दर्शन गर्ने बताइएको छ ।
संस्थाका अध्यक्ष खड्ग धामीले मुस्ताङ खानेपानी अवलोकन गर्न नभई दर्शनका लागि गएको बताएका छन् । “हामी बेनि खानेपानीको अवलोकन गर्न पुगेका थियौं । त्यहाँबाट मुस्ताङ दर्शन गर्न पुगेका हौं ।” उनले भने, “भ्रमण अन्य आयोजनाको विषयमा अध्ययन गरेर त्यसको राम्रो पक्षलाई संस्थामा कार्यान्वयन गर्ने गरी भ्रमण तय भएको हो ।”
संस्थाबाट चाढे चार लाख रुपैयाँ विनियोजन गरेर संस्थाका पदाधिकारीहरु भ्रमणमा गएको संस्थाका लेखा अधिकृत डम्बर विकले जानकारी दिएका छन् । उनका अनुसार विनियोजित बजेट मध्ये चार लाख रुपैयाँ निकासा लिएर टोली भ्रमणमा गएको हो । भुक्तानी भएको रकम संस्थाका कोषाध्यक्ष हिरासिंह विष्टको नाममा पेश्की बापत भुक्तानी भएको छ
उपभोक्ताको माझमा यसभन्दा पहिलेका कार्यसमितिले हुँदा नहुँदा खर्च गरेको भन्दै आफ्नो कार्यकालमा संस्थाको बजेट फजुल खर्च नगर्ने प्रतिबद्धता व्यक्त गरेको वर्तमान कार्यसमितिको रबैया पनि पुरानै भएको उपभोक्ताले गुनासो गरेका छन् । खानेपानी संस्थाका सचीव प्रकाश खड्काले खानेपानी भ्रमणको औचित्य बारे टीकापुर फर्केपछि मात्रै बोल्ने बताए ।










