खानेपानी संस्थाको सप्ताह व्यापी कार्यक्रम सुरु

शेयेर गर्नुहोस


टीकापुर १२ मंसिर /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सप्ताह व्यापी सरसफाई कार्यक्रम सुरु भएको छ ।
सप्ताह व्यापी कार्यक्रमको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले सरसफाई मानव जिबनसँग प्रत्येक्ष जोडिएको क्षेत्र भएको बताउँदै त्यसमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन् । “सरसफाई एउटैले गरेर सफल हुँदैन । त्यसमा नागरिकहरू आफै सचेत हुनुपर्छ ।” मन्त्री रावलले भने, “मानव जिबनको प्रत्यक्ष जोडिएको विशेष भएकाले पनि सबै गम्भीर हुनुपर्छ ।”
उनले सरसफाईको क्षेत्रमा स्थानीय सरकार बढी जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् । मन्त्री रावलले स्थानीय सरकार जति जागरुक भयो, त्यती नै सामाजिक सरोकारका विषयमा काम सफल हुने बताएका छन् । “स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्छ भने त्यसमा अन्य संस्थाहरुको पनि समन्वय हुन जरुरी हुन्छ ।” डा रावलले भने, “अहिले पनि जनचेतनाको अभावका कारण कैयौं नागरिकहरुलाई फोहोर व्यवस्थापनमा जिम्मेवार हुन सकेका छैनन् । पहिला नागरिकहरुमा जनचेतना फैलाउन जरुरी छ ।”
अबका दिनमा फोहोरलाई फोहोर नसम्झी मोहोरमा बदल्नका सक्नुपर्ने बताउँदै मन्त्री रावलले प्लास्टिकजन्य फोहोरलाई विस्थापित गरिनुपर्ने बताएका छन् । उनले टीकापुर खानेपानीलाई सकारात्मक र सफल आयोजनाको रुपम स्थापित गर्न लागिपर्न आग्रह समेत गरेका छन् । कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले फोहोर व्यवस्थापनमा नागरिकहरु सचेत हुन नसक्दा समस्या भएको बताएका छन् । उनले फोहोर व्यवस्थापन गर्दा फोहोरको वर्गीकरण गर्न सके राम्रो हुने बताउँदै त्यसमा स्थानीय सरकार गम्भीर रहेको बताएका छन् ।
“यस्ता कार्यक्रमले स्थानीय सरकारको ध्यानाकर्षण समेत गराउने गरेको छ । स्थानीय सरकारले पनि आफ्नो स्रोतसाधनले भ्याएको गरिरहेको पनि छ ।” वडा अध्यक्ष विकले भने, “सामाजिक सरोकारका विषयमा हामी सबैले सँगै हातेमालो गर्नुपर्छ । अर्कोतिर एउटा स्थानीय सरकारले चाहेर मात्रै पनि सबै कुरा सम्भव नहुन सक्छ ।” खानेपानी संस्थाका संस्थापक अध्यक्ष नवराज रावलले सरसफाई सप्ताहले नागरिकहरुलाई जनचेतना फैलाउने काम हुने बताएका छन् । उनले शहरमा मात्रै नभई ग्रामीण क्षेत्रमा पनि सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताएका छन् ।
सरसफाई सम्बन्धी सप्ताह व्यापी कार्यक्रमका संयोजक सरिता रावल थापाको अध्यक्षतामा भएको प्रभात फेरि तथा उद्घाटन कार्यक्रममा नेकपा समाजवादी पार्टीका टीकापुर नगर अध्यक्ष रंग अधिकारी लगायतले बोलेका थिए । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत नगर सरसफाई तथा टोल कमिटीलाई सरसफाई सामाग्री वितरण, सरसफाई सम्बन्धि अभिमुखिकरण कार्यक्रम, पुर्ण घरधुरी अनुगमन, हाजिरी जवाफ लगायतका कार्यक्रम सञ्चालन गरिने संस्थाका अध्यक्ष नरेश कुमार खत्रीले बताएका छन् । संस्थाका सचीव मनिष बलायरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य भानुभक्त जैशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *