शेयेर गर्नुहोस
टीकापुर १६ भदौ
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई राहत स्वरुप सहयोग गरेको छ ।
सरसफाइ संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा एक लाख ५१ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो । विपदको यो दुःखद् घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत संस्थाले व्यक्त गरेको छ ।
बाढीपहिरोमा घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अझै सम्पर्कविहीन तथा बेपत्ता रहनुभएका नागरिकहरूको सकुशल उद्धारका लागि हार्दिक प्रार्थना गर्दै विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मानवीय भावनाका साथ सहयोग गरेको संस्थाका सचीव प्रकाश खड्काले जानकारी दिएका छन् ।
संस्थासँग आबद्ध ९ हजार तीन सय १८ उपभोक्ताको सामूहिक भावना र ऐक्यबद्धताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनको भनाई छ ।
“रकम कुनै एक व्यक्ति, पदाधिकारी वा संस्थाको मात्र सहयोग होइन ।” उनले भने, “यो ९ हजार ३ सय १८ उपभोक्ता, समग्र टीकापुरवासी र हाम्रो संस्थाको साझा मानवीय भावना र सहयोगको प्रतीक हो ।”
कठिन समयमा एकले अर्काको दुःखमा साथ दिने, सकेको सहयोग गर्ने र पीडितको जीवन बचाउने अभियानमा एकजुट हुने संस्कार नै नेपालीपन भएको बताए ।










