शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १६ असोज/
असोजको महिना किसानहरूका लागि महत्त्वपूर्ण महिना हो ।
कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले दश बिगाहामा धान खेती गर्नुभएको छ । असारमा रोपेको धान भित्र्याउले समय भइसक्दा पनि रामबहादुरको खेतमा पानी कम भएको छैन । “धान पाकेर खेतमै झर्नेजस्तो भैसक्यो, मौसमले अझै साथ दिएको छैन ।” रामबहादुरले भन्नुभयो, “यसरी वर्षा भइरहने हो भने त धान भित्र्याउन निकै समस्या हुने देखिएको छ । आकाशमा बादल मडारियो भने कतै पाकेको धान बाली नस्ट गर्छ कि भन्ने त्रासले मन पनि त्यसैगरी मडारिन्छ ।”
यो समयमा किसानहरु खेतमा हुनुपर्ने भएपनि मौसमको खराबीका कारण खेतमा पकेको धान भित्र्याउन समस्या भएको छ । मौसममा सुधार नभएका कारण किसानहरु त्रासमा छन् । कैलालीको अधिकांश क्षेत्रमा धानको खेती हुन्छ । हिउँदे खेती कम हुनेगरेको भएपनि बर्खे खेती प्रायः सबै किसानहरूले गर्ने गरेका छन् । अहिले दैनिक जसो वर्षा हुनेगरेको छ । वर्षासँगैको हावाहुरीका कारण धान खेतमै ढ्ल्ने र पानीले तल्लो भाग गलेर पराल पनि काम नलाग्ने हुनथालेको छ ।
टीकापुर नगरपालिकाका रतिराम विकले पाँच बिगाहामा धान खेती गर्नुभएको छ । दिनमा मौसम सफा भएपछि उहाँले केही धान काट्नुभयो । तर, राती परेको झरिले सबै काटेको धान भिजाउँदा अहिले धान र पराल कामै नलाग्ने अवस्थामा पुगेको उहाँ बताउँनुहुन्छ । “दिनमा घाम लाग्छ, सुक्छ । राती पानी आउँछ फेरि भिजाउँछ ।” रतिरामले भन्नुभयो, “काटेको धान खेतमै सड्ने भयो, नकाटेको झरेर सकिने भयो । मौसम सफा हुने कुनै छाटकाट देखिएकै छैन ।”
टीकापुर नगरपालिकाका किसान धनसिंह साउँदले २६ बिगाहा क्षेत्रफलमा धान खेती गर्नुभएको छ । लामो समयदेखि कृषिमा लाग्नुभएका साउँद विगतका वर्षहरूमा यतिबेला सबै धान भित्र्याइ सक्नुहुन्थ्यो । “खेतमा धान पाकेर कालो पर्न थालिसक्यो । दैनिकको वर्षाले कतिपय ठाउँमा धान ढलेर बिग्रीसकेको छ ।” साउँदले भन्नुभयो, “यो वर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुने अपेक्षा गरेका थियौं । मौसमले साथ नदिएका कारण खेतमै धान नस्ट हुनथालेपछी चिन्ता बढेको छ ।”
धनसिंहपुर कृषि सहकारी संस्थाले धानको बिउ उत्पादनका लागि ४५ हेक्टरम बिज वृद्धिका लागि धान खेती गरेको छ । बिउको धान समयमै भित्र्याउन नपाए त्यसले भोलि राम्रो उत्पादन दिन नसक्ने भन्दै सहकारीका अध्यक्ष समेत रहनुभएका साउँदले एकदुई दिनमा मौसममा सुधार नआए किसानहरूले ठूलो क्षति बेहोर्नुपर्ने बताएका छन् । “अहिले टीकापुर क्षेत्र बिज वृद्धिमा आत्मनिर्भर भैसकेको छ । तर बदलिँदो मौसमले हामिलाई समयसमयमा चुनौती थप्दै आएको छ ।” साउँदले भन्नुभयो, “बीउ उत्पादनमा लगानी पनि बढी भएको हुन्छ । समयमै भित्र्याउन नसके धान कालो हुने त बिउको लागि उपयुुक्त नहुने भएकोले पनि अहिले मौसमका कारण बीउ उत्पादनमा ह्रास आउँछ कि भन्ने शंका बढेको छ ।”
जानकी गाउँपालिकामा रहेको बिज वृद्धि कृषक सहकारी संस्थाले १ सय ६३ हेक्टरमा बिज वृद्धिको लागि धान खेती गरेको छ । कैलालीकै सबैभन्दा बढि बीउ उत्पादन गर्ने उक्त कृषक सहकारी संस्थाका व्यवस्थापक गोविन्दराज रावले धान खेतमै बिग्रने अवस्थामा पुगेका कारण बिज वृद्धिमा समस्या आउनसक्ने बताउँनुहुन्छ । उहाँले धान खेतमै ढलेर पानीमा सड्न थालेको बन्दै मौसमले किसानहरूलाई चुनौती दिएको बताउनुभयो । “अहिलेको मौसमको कारणले बिज वृद्धिमा कमि आउने संकेत देखिएको छ । धान भित्र्याउने समय भएपनि किसानहरु अझै खेतसम्म पुग्न सकेका छैनन् ।” रावतले भन्नुभयो, “धेरै पाकेको धानलाई पनि बीउको लागि उपयुक्त मान्न सकिँदैन । समयमै धान भित्र्याउन सकिएन भने बिउको लागि रोपेको धान पनि बजारमा बिक्री गर्नुको विकल्प छैन ।”