शेयेर गर्नुहोस
भजनी ३१ जेठ /
जोशीपुर गाउँपालिकामा यस चालू आर्थिक वर्षमा गाउँपालिकाको सिमाक्षेत्रमा चारवटा प्रवेशद्वार निर्माण सम्पन्न हुने भएका छन् ।
यसभन्दा पहिलेका जनप्रतिनिधिहरुले विनियोजन गरेको बजेटबाट गाउँपालिकाको सिमाक्षेत्रमा उक्त प्रवेशद्वार निर्माण हुन लागेका हुन । निर्माण हुन लागेका प्रवेशद्वार मापदण्ड निर्माण भैरहेको पाइएको छ । गाउँपालिकाले बनाएको इस्टिमेटमा प्रवेशद्वार निर्माणमा कतै इट्टाको प्रयोग गर्ने भनिएको छैन । तर निर्माण कम्पनीले भने दुई नम्बर इट्टाको प्रयोग गरेको पाइएको छ । गाउँपालिकाका सब इन्जिनियर भतर विस्टले प्रवेशद्वार निर्माणमा आर सीसी ढलान गर्नुपर्ने कुरा उल्लेख भएको बताउँदै इट्टा लगाउनु मापदण्ड विपरीत हुने बताएका छन् ।
दुईपटक सम्म म्याद थप हुँदा पनि काम सम्पन्न हुन नसकेको प्रवेशद्वारको भैरहेको कामको गाउँपालिकाका प्राविधिकले अनुगमन समेत गरेको पाइएको छ । अनुगमनका क्रममा पनि गाउँपालिकाका प्राविधिकहरुले प्रवेशद्वारमा इट्टा प्रयोग भएको पत्तै पाएनन् । “केही दिन अगाडि हामीले प्रवेशद्वारको अनुगमन गरेका थियौं । त्यो बेलासम्म त्यहाँ इट्टाको प्रयोग भएको थिएन ।” सब इन्जिनियर विष्टले भने, “अहिले त्यस्तो भएको छ भने त्यसलाई सुधारका लागि हामी भन्छौं ।” सब इन्जिनियर विष्टले जे भने पनि वडा नं. ३ स्थिति भजनी नगरपालिकासँग सिमा जोडिएको लक्कडमा निर्माण भैरहेको प्रवेशद्वारमा निर्माण कम्पनीले एक हप्ता अगाडि त्यसरी इट्टा प्रयोग गरेर काम गरेको पाइएको छ ।
जे एस निर्माण सेवा कञ्चनपुरले २०७८ माघ २० गते चारवटा प्रवेशद्वार निर्माणको ठेक्का पाएको थियो । हालसम्म ठेक्का लिएर कामै सुरु गर्न नसकेको निर्माण कम्पनीले यहीँ बैशाखमा काम सुरु गरेको हो । जेठ मसान्तसम्मको म्याद रहेको आयोजनाको काम सम्पन्न हुन अझै एक महिना लाग्ने देखिएको छ । “ठेक्का लियौं त्यसपछि महंगी निकै बढ्यो । काम गर्न सकिने अवस्था रहेन ।” निर्माण कम्पनीका साइड इन्चार्ज जनक देउवाले भने, “त्यसपछि घरायसी समस्याले काममा झन ढिलाइ भयो । अब असार १५ भित्र काम सम्पन्न गर्छौं ।” आयोजनाको सम्झौता १३ लाखमा भएको थियो ।
स्थानीयले भने गाउँपालिकाले फजुलमा प्रवेशद्वारको नाममा पैसा सक्ने काम गरेको आरोप लगाएका छन् । “१३ लाखमा एउटा सडकको काम गर्न सकिन्थ्यो । त्यो प्रवेशद्वारको कुनै अर्थ छैन ।” स्थानीय बिरबहादुर चौधरीले भने, “जहाँ जनतालाई प्रत्यक्ष लाभ हुन्छ त्यसमा नभई यस्ता कामले गाउँपालिकाको आलोचना हुने गरेको छ । यो गलत कार्य हो ।”