शेयेर गर्नुहोस
टीकापुर १० जेठ /
गौशालामा व्यवस्थापन गरिएका गाईको गोबरबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम टीकापुरमा सुरु भएको छ ।
टीकापुर नगरपालिकाको आर्थिक सहयोग तथा समन्वय र सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्धन समिति टीकापुरको आयोजनामा भएको तालिम सुरु भएको हो । तालिम उद्घाटन गर्दै कैलाली क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले गोबरको प्रयोग गरी आर्थिक आत्मनिर्भर हुनुका साथै महिलालाई घरमै बसेर आयआर्जन गर्ने माध्यम बन्ने भएकाले तालिम उपयोगी हुने विश्वास व्यक्त गरेकी छन् । उनले गाई संरक्षण गरी आयर्जनका कार्य गर्न थालेकोमा गौशाला व्यवस्थापन समितिलाई धन्यवाद दिएकी छन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले जन्मदिने माता, गौमाता, नदी लगायत ५ प्रकारका माताहरूको संरक्षण गर्न सके परिवार र संस्कृति संरक्षण हुने बताउँदै गौशालाको विकासका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमका प्रशिक्षक एकता मेहताले स्थानीय स्तरमै पाइने गोबरको प्रयोगले विभिन्न सामग्री निर्माण गरी पुरातन संस्कृतिको संरक्षण गर्दै महिला सशक्तिकरणमा ठूलो योगदान दिन सकिने विश्वास व्यक्त गरे ।
टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडले पालिकाको नीति कार्यक्रममा वातावरण संरक्षण, सांस्कृतिक संरक्षण, सामाजिक विकास जस्ता कुरा समेटिएकाले स्थानीय सरकारले स्थानीय स्रोतको प्रयोग गरी वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यो तालिम उपयोगी ठानेर सहयोग गरिएको उल्लेख गरेकी छन् । गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहले उत्पादन उत्पादन र बजारीकरणका लागि फिनिसिङ राम्रो दिन सकियोस् भनी एडभान्स खालको तालिम आयोजना गरिएको बताए ।
कार्यक्रमका सहभागीहरुले पशु चौपायाको संरक्षणसँगै वातावरण संरक्षण, फोहोर व्यवस्थापन जस्ता कार्यमा सहयोग हुने बताएका छन् । तालिममा टोल विकास संस्थाका ५० जना सहभागी छन् । नौ दिनसम्म सञ्चालन हुने तालिम दुई समूहमा विभाजन गरिएको छ । टीकापुर नगरपालिकाका संघसंस्था समन्वय शाखा प्रमुख अमृता रावलले सञ्चालन गरेको कार्यक्रमको स्वागत गौशाला व्यवस्थापन समितिका सचिव महेन्द्र गिरीले गरेका थिए । तालिम सहजीकरण गर्न भारतबाट प्रशिक्षक आएका छन् । लोक संस्कृति मञ्च र अंश वेलफेयर अर्गनाइजेनस इन्दोर भारतका ४ जना महिलालाले प्रशिक्षण दिनेछन् ।









