शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २१ फागुन /
सुदुरपश्चिम प्रदेशका तराईका जिल्लाको मुख्य समस्याको रुपमा सामुदायिक चौपाया व्यवस्थापन बनेको छ ।
छाडा छोडिएका सामुदायिक चौपाया व्यवस्थापनका लागि स्थानीय तहले प्रमुख प्राथमिकताका साथ काम गरिरहेको भएपनि त्यसको समाधान हुन सकेको छैन । चौपायाका कारण सबैभन्दा बढी चिन्तित किसान छन् । किसानले लगाएको अन्न बाली चौपायाले सखाप पार्न थालेपछि स्थानीय तहको निर्वाचनको समयमा पनि सामुदायिक चौपाया व्यवस्थापन गर्ने मुद्दा प्राथमिकताका साथ उठ्ने गरेको छ ।
स्थानीय सरकारले जति नै प्रयास गरेपनि सामुदायिक चौपाया व्यवस्थापन हुन सकेको छैन । व्यवस्थापन भएका चौपायाको अवस्था झन निकै दयनीय छ । दैनिक चौपाया भोकभोकै मरेका छन् । कैलालीको टीकापुर नगरपालिकाले वडा नं. ५ मा पर्ने खोटेना भुराखानी सामुदायिक वनमा गौशाला निर्माण गरेको छ । त्यहाँ करिब चार सय चौपाया छन् । चौपायाको आहारामा निकै समस्या भएको छ । चौपायाले आहारा नपाउँदा भोकले रुखका बोक्रा समेत सखाप पारेका छन् । चौपाया व्यवस्थापन गरेको क्षेत्रमा रहेका अधिकांश रुखका बोक्रा छैन । भोक सहन नसकेर चौपायाले रुखका बोक्रा खानुपर्ने अवस्था छ ।
“चौपाया भोकले मर्दै छन् । चौपायाको मुख पुग्नेसम्म रुखका बोक्रा छैनन् । गौशालामा पुग्दा जहाँ पनि स्थिति यस्तै छ । ” इन्जिनियर एकराज पण्डित भन्नुहुन्छ, “व्यवस्थापन भनेको यहीँ हो त ? यो व्यवस्थापन चौपायाको संरक्षणमा नभई मार्ने माध्यम मात्रै भएको छ ।” उहाँले स्थानीय सरकारले चौपाया व्यवस्थापन मात्रै गरेको बताउँदै त्यसको संरक्षण र चौपायाका लागि चाहिने आवश्यक आहाराको व्यवस्थापनमा निकै कन्जुस्याइँ गरेको पाइएको बताउनुभयो ।
स्थानीय नरबहादुर रावल चौपाया व्यवस्थापन मात्रै ठूलो कुरा नभएको बताउँदै तिनको खानेकुरामा ध्यान दिन आवश्यक हुने बताउनुहुँन्छ । “सामुदायिक चौपायामा सबै गाई छन् । हामी घरमा त्यहीँ गाईलाई लक्ष्मीको रुपमा पुजा गर्छौं । बाहिर त्यहीँ गाई हाम्रालागि शत्रु बनेको छ ।” रावलले भन्नुभयो, “व्यवस्थापन भएको चौपायाको संरक्षण गर्न सके यसबाट स्थानीय सरकारले राम्रो आम्दानी गर्न सक्छ ।” रोजगारीको अवसर सिर्जना गर्न सक्छ । त्यसैअनुसार चौपायालाई आम्दानीसँग जोड्न सके मात्रै चौपायाले पूरा आहारा पाउन सक्ने स्थिति रहने उहाँको भनाइ छ ।
टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरी वडामा समस्या ल्याएर आउने मध्ये सबैभन्दा बढी सामुदायिक चौपायाको ल्याएर आउने गरेको बताउनुहुँन्छ । वडाको स्रोतसाधनले चौपाया व्यवस्थापन गर्न नसकिने भन्दै वडा अध्यक्ष चौधरीले सबैभन्दा ठूलो समस्या र बहसको विषय चौपाया बनेको बताउनुभयो । “नागरिकहरूको माझमा होस् वा कार्यपालिकाको बैठकमा किन नहोस् सबैभन्दा बढी उठ्ने विषय नै सामुदायिक चौपायाको कुरा हो ।” वडा अध्यक्ष चौधरीले भन्नुभयो, “एउटा नगरपालिका र जनप्रतिनिधिले चाहेर मात्रै चौपाया व्यवस्थापन गर्न कठिन छ । हाम्रो स्रोतले भ्याउने स्थिति पनि छैन ।”
टीकापुर नगरपालिकाले मात्रै वार्षिक २० लाखका दरले चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएको छ । चौपायाको आहारा, काम गर्ने कामदारको ज्याला जस्ता विषयमा सो रकम खर्च हुँदै आएको छ । अझै बजेटको अभाव चौपाया व्यवस्थापनमा भएको नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारु बताउनुहुँन्छ । नगरपालिकाले गरेको काम पनि दीर्घकालीन हुन नसकेको भन्दै नगर प्रमुख थारुले दिगो व्यवस्थापनका आवश्यक रहेको बताउनुभएको छ । “दीर्घकालीन योजनाका साथ उत्पादनमुलक बनाउने गरी गौशालाको व्यवस्थापन गर्नुपर्छ । यसमा नगरपालिका मात्रै नभई अन्य निजि संस्थाले पनि समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ ।” नगर प्रमुख थारु भन्नुहुन्छ, “हामीले गरेको नाफा घाटा नहेरी आवश्यकताको आधारमा काम गर्दै आएका छौं । उत्पादनमूलक रुपमा काम गर्ने कुनै निकाय आए त्यसलाई हस्तान्तरण गर्न पनि सकिन्छ ।”
उता सुदुरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी कैलालीमा लागुऔषध दुर्व्यसन पछिको अर्को जटिल समस्याको रुपमा सामुदायिक चौपाया रहेको बताउनुहुँन्छ । उहाँले युवाहरु लागुऔषध दुर्व्यसनका कारण समाज अराजक बन्दै गएको र चौपायाको कारण किसानले खेती गर्न छोड्दा दीर्घकालीन रुपमा यसको निकै ठिलो मूल्य चुकाउनु पर्ने बताउनुभयो । “हामीले देख्यौं गौशालामा चौपाया निकै जोखिममा छन् । खानेकुरा छैन । पानी छैन नुन छैन ।” प्रदेश सभा सदस्य चौधरीले भन्नुभयो, “हाम्रै कारण सयौं चौपाया मरिरहेका छन् । यो भन्दा ठूलो पाप के हुनसक्छ ?”