अतिक्रमित जग्गा माथी चल्यो डोजर

शेयेर गर्नुहोस


टीकापुर १५ वैशाख /
टीकापुर नगरपालिकाले बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सुरु गरेको छ ।
देशभर अतिक्रमित जग्गा खाली गराउने सरकारको निर्णय अनुसार टीकापुर नगरपालिकाले पनि सार्वजनिक जग्गा खाली गराउन थालेको हो । सोमबार टीकापुर जमरा हुँदै छ लेनको मुख्य सडक छेउछाउमा पर्ने अतिक्रमित जग्गा नगरपालिकाले डोजर लगाएर खाली गरेको छ । जमरा पुल किनारमा रहेको नर्सरी र मासु पसल सञ्चालनमा आएका टहरा हटाइएको छ भने वडा पाउ रहेको भानु चोकको टहरा समेत भत्काइएको छ ।
त्यतिमात्र नभई सार्वजनिक स्थानमा अर्थात पसल बाहिर राखिएका सामाग्रीहरु हटाउन पनि नगरपालिकाले व्यापारीहरुलाई अल्टिमेटम दिएको छ । गत चैत २६ गते एक सुचना जारी गर्दै नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको थियो । त्यसक्रममा केही स्थानहरू स्थानीयले स्वस्फूर्त रुपमा हटाए पनि कैयौंले हटाएका छैनन् । बजार क्षेत्रको सौन्दर्यतालाई ध्यानमा राख्दै सबै सार्वजनिक क्षेत्र खाली गराउन नगरपालिकाको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिएका छन् ।
“टीकापुर योजनाको शहर हो । त्यो योजनालाई मिचेर कसैले कुनै कार्य गर्न पाउँदैन ।” उनले भने, “सार्वजनिक स्थान खाली गर्ने क्रमलाई निरन्तरता दिन्छौं र शहरको सुन्दरतालाई थप मजबुत बनाउने लक्ष्य हाम्रो हो ।” उनले अझै पनि सार्वजनिक जग्गामा बनेका संरचना आफै हटाउन आग्रह गरेका छन् । “हामीले भत्काउँदा सामाग्रीहरुमा क्षति हुनसक्छ ।” उनले भने, “त्यो भन्दा पहिले नै संरचना खाली गरेपछि हामीलाई पनि सहज हुन्छ ।”
नगरपालिकाका कार्यबाहक नगर प्रमुख रामबहादुर नगार्जीले बजार क्षेत्रको अतिक्रमण हटाउने विषयमा नगरपालिका कडाइका साथ प्रस्तुत हुने बताएका छन् । उनले संघ सरकारले दिएको निर्देशन अनुसार मापदण्ड विपरीत निर्माण भएका संरचना खाली गर्न कसैको अवरोध नहुने पनि जिकिर गरे । “हामीले हरेक नागरिकहरूलाई जानकारी गराएर मात्रै अतिक्रमण हटाउन थालेका छौँ ।” उनले भने, “मेरो क्षेत्रअधिकार भित्र पर्ने र जनसरोकारका विषयमा नागरिकहरूको पक्षमा रहेर काम गर्छु । यो अतिक्रमण हटाउने कुरा पनि नागरिकको पक्षमा छ ।”
शिविरमा जग्गा कारोबार बढ्यो
सरकारले सुकुम्बासी वस्ती खाली गराउन थालेपछि टीकापुर स्थित सुकुम्बासी शिविरमा जग्गाको किनबेच सुरु भएको पाइएको छ । लामो समयसम्म सुकुम्बासी शिविरमा बसोबास गर्दै आएका तर बाहिर जग्गा जमिन भएका टाठाबाठाले सोझासाझालाई सस्तोमा जग्गा किनबेच गर्न थालेको पाइएको हो । यो विषयमा नगरपालिकालाई पनि अनौपचारिक जानकारी प्राप्त भएको बताइएको छ ।
सुकुम्बासीको पहिचान गर्नका लागि भए पनि सुकुम्बासी शिविर खाली गर्ने सरकारको रणनीति अनुसार पाँच हजार भन्दा बढी परिवार बस्दै आएको सुकुम्बासी शिविर सरकारले बल प्रयोग गरेर खाली गराउन सक्ने र बाहिर जग्गाको स्रोत भएका टाठोबाठोले जग्गा नपाइने आशंकामा सस्तोमा जग्गा बिक्रीवितरण गर्ने गरेको खबर आएको प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *