शेयेर गर्नुहोस
भजनी १७ वैशाख /
भजनी नगरपालिकाले शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउने काम गर्दै आएको छ ।
वार्षिक परिक्षाको नतिजालाई हेर्दा निकै कमजोर नतिजा दिँदै आएको नगरपालिकाले शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाएको हो । शैक्षिकसत्र २०८३ को भर्ना अभियान मंगलबारबाट सुरु भए पनि नगरपालिकाले संस्थागत बिधालयले कक्षा वृद्धिका लागि दिएको निवेदनको सुनुवाइमा ढिलाई गर्दा बिधालयको भर्ना कार्यक्रम प्रभावित बनेको छ ।
नयाँ शैक्षिकसत्र सुरु हुनुभन्दा पहिले नै बिधालयको अनुगमन गरेर बिधालयलाई कक्षा वृद्धिको विषयमा जानकारी दिएको भए आज त्यो अन्योलता आउने थिएन । “हामीले यसवर्षबाट ९ कक्षा मागेका थियौं । आन्तरिक सबै तयारी पूरा भए पनि नगरपालिकाको निर्णयको प्रतीक्षामा छौँ ।” मल्टिपल मन्टेश्वरी स्कुलका संस्थापक राज बुढाले भने, “बिधालय भर्ना सुरु हुँदासम्म निर्णय नहुँदा सम्पर्कमा आएका बिद्यार्थीलाई के गर्ने भन्ने अन्योलता छ ।” उनले शैक्षिक क्षेत्र नगरपालिकाको शिक्षा शाखाकै कारण कम्जोर बन्दै आएको बताएका छन् ।
यसवर्ष नगरपालिकामा ६ वटा संस्थागत बिद्यालयले कक्षा वृद्धिका लागि नगरपालिकामा निवेदन दिएका थिए । त्यसमध्ये अझै एउटा बिधालयको अनुगमन हुन नसकेको नगरपालिका शिक्षा शाखाका उपसचिव सुर्यबहादुर सिंहले बताएका छन् । “एउटा बिधालयको अनुगमन हुन बाँकी छ । त्यो भएपछि हामी त्यसको प्रतिवेदन कार्यपालिकामा पठाउछौँ ।” उनले भने, “त्यसपछि अनुमति दिने नदिने कुराको निर्णय कार्यपालिकाले गर्ला ।” उनका अनुसार यति दिनमा निर्णय आउने भन्ने कुनै निश्चित छैन ।
मंगलबार मात्रै कार्यपालिका बैठक बसेको थियो । त्यो बैठकमा संस्थागत बिधालयको कक्षा वृद्धिका लागि शिक्षा शाखाले तयारी गर्न सकेन । शिक्षा शाखाको लापरबाहीका कारण बिद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने चिन्ता मल्टिपलका संस्थापक बुढाले गरेका छन् । “हाम्रो बिधालयमा ९ कक्षा सुरु भएपछि यतै अध्ययन गर्ने भनेर आएका बिद्यार्थी नगरपालिकाको लापरबाहीले अन्योलमा छन् । अन्य बिधालयमा पनि यस्तै होला ।” उनले भने, “चैत महिनाभित्र नै सम्पन्न गर्नुपर्ने काम वैशाख सकिन लाग्दासम्म हुँदैन भने शिक्षामा नगरपालिका जिम्मेवार छ कसरी भन्ने ?”
खासगरी नगरपालिकाको शिक्षा शाखा मनोगत रुपमा चल्दै आएको छ । साँघुरो एक कोठामा चारवटा टेबल राखेर सबै काम त्यहीँबाट हुँन्छ । त्यतिमात्र नभई परिक्षाको प्रश्नपत्र त्यसैभित्र तयार पारिन्छ । शिक्षा शाखामा उपसचिवलाई प्रायः काम विहिन बनाइएको छ । शिक्षा अधिकृत चेपुवामा शिक्षाका उपसचिव सिंह परेका छन् । किनभने शिक्षा सम्बन्धि हरेक नीति निर्माण देखि शैक्षिक गतिविधिमा सिंहको भुमिका लगभग शून्य छ । शिक्षा समितीमा समेत सिंहको सहभागिता रहँदैन । यस विषयमा सिंहले बोल्न भने चाहेनन् ।









