शेयेर गर्नुहोस
झलनाथ खनाल,भजनी २० असार /
कैलालीको भजनी नगरपालिका वडा नं. १ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण भएको छ । गौशाला बनेपछि चौपायाको सास्तीले खेती गर्न छोडेका किसानलाई राहत भएको छ । किसानलाई खेती जोगिँदा राहत भएपनि व्यवस्थापन गरिएको भनिएका चौपायालाई भने निकै सकस छ । खाने आहारा छैन । बस्नको लागि वर्षातको समयमा ओभानो ठाँउ छैन । गौशालाको सास्तीले चराउन लिएका कैयौं चौपाया गौशाला फर्किदैनन ।
भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आउनुभएको छ । उहाँ गौशालामा चौपायाको मलमुत्र व्यवस्थापन गर्ने काम गर्नुहुन्छ । २०७४ सालदेखि त्यहीँ काममा लाग्नुभएकी बोहरालाई चौपायालाई प्रयाप्त आहारा नहुँदा कहिलेकाही निकै चिन्ता हुन्छ । “दैनिक साझ बिहान हामी गौशालामै हुन्छौं । आफ्नो काम गर्छौ । गौशालाको अवस्था हेर्दा निकै दया लाग्छ ।” बोहरा भन्नुहुन्छ, “खानलाई आहारा छैन । घाममा चौपायालाई बस्न छहारी छैन भने पानीमा ओत लाग्ने ठाउँ छैन ।”
बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमुत्र व्यवस्थापनको काम गर्नुहुन्छ । गर्मीको समयमा मलमुत्र व्यवस्थापन संकलन गर्न सहज हुने गरेको भए पनि वर्षातको समयमा निकै कठिन हुने उहाँ बताउनुहुँन्छ । “काम नगरी हुँदैन । दिनभर काम गरेन भने घरमा चुलो बल्दैन ।” बिर्मादेवी बताउनुहुँन्छ । “समयमा पाउनुपर्ने पैसा पनि पाइँदैन । जति राम्रो काम गरेपनि काम राम्रो भएन भनेर गुनासो आइरहन्छ ।” उहाँले चौपायाका लागि ट्रस्ट निर्माण हुन सकेको भए चौपायालाई पनि राम्रो र त्यसबाट उत्पादन भएको मलमुत्रको व्यवस्थापनमा पनि राम्रो हुने बताउनुभयो ।
सामुदायिक चौपायाको व्यवस्थापन गर्ने एउटा समिती छ । त्यो समितिले चौपाया चराउनको लागि गोठाला पनि राखेको छ । मलमुत्र व्यवस्थापन गर्ने र गोठाला गरी ७ जना गौशालामा कार्यरत छन् । तिनको पारिश्रमिक भजनी नगरपालिकाले बेहोर्दै आएको छ । प्रती ब्याक्ती ९ हजारका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन् । फुलराम चौधरी त्यो चौपायाको गोठालोको रुपमा एक वर्षदेखि काम गर्दै आउनुभएको छ । चरनको भरमा बाचेका चौपायालाई जंगलमा थेग्न निकै मुस्किल हुने गरेको उहाँ बताउनुहुँन्छ ।
“खानेकुरा केही छैन । भोका चौपाया चरन खोज्दै भौतारिँदा तिनलाई सम्हाल्न गाह्रो हुन्छ ।” चौधरी भन्नुहुन्छ, “खानेकुरा भए साझ बिहान आहारा दिन सकेको भए चौपाया खान नपाएर मर्ने अवस्था आउने थिएन होला ।” उहाँले आफुहरु पाँचजना गोठाला भएपनि चौपायाको चापले समस्या हुनेगरेको बताउनुभयो । चौपायाको आहाराको लागि नगरपालिकाले दुई लाख ६८ हजारको पराल खरिद गरेको थियो । त्यो पराल केही महिनामै सकियो । त्यसपछि चौपाया चरनको भरमा बाचिरहेका छन् ।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताउनुहुँन्छ । उहाँले नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाचेको स्वीकार गर्नुभयो । “गौशालामा दुई सय ५० भन्दा बढी चौपाया छन् । ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो ।” देशरामले भने, “हाम्रो समितीमा त्यत्रो पैसा छैन । थोरैले पुग्ने अवस्था छैन । त्यहीँ चरनको विकल्पमा चौपाया बाचेका छन् ।”
उसो त गौशाला व्यवस्थापन समितिले गौशालामा उत्पादन भएको गोबर बिक्री गर्दै आएको छ । यसपटक पनि गोबरबाट एक लाख २५ हजार समितिले आम्दानी गरेको छ । अझै केही गोबर बिक्री गर्न बाँकी पनि छ । प्रती ट्याक्टर ट्रालीको पाँच हजारका दरले गोबर बिक्री हुन्छ । त्यसबाट भएको आम्दानी त्यसैमा खर्च हुनेगरेको अध्यक्ष चौधरीले बताउनुभयो । व्यावसायिक रुपमा काम गर्ने भन्दै भजनीका स्थानीय केही युवाहरुले सुरु गरेको गौशाला पछि उहाँहरुले नसकेर छोडेपछि नगरपालिकाको मातहतमा सञ्चालन गर्नुपरेको थियो । नगरपालिकाले वर्षमा १५ लाख भन्दा बढी रकम चौपाया व्यवस्थापनका नाममा खर्च गर्दै आएको छ ।
उसो त यो समस्या भजनी नगरपालिकाको मात्रै होइन । कैलालीका अधिकांश स्थानिय पालिकामा गौशाला छन् । त्यहाँको समस्या पनि भजनीको भन्दा फरक छैन । निर्वाचनका समयमा चौपाया व्यवस्थापनलाई चुनावी एजेण्डा बनाएका जनप्रतिनिधिले केही हदसम्म व्यवस्थापनको काम त गरेको देखिन्छ, तर चौपाया व्यवस्थापनको नाममा भोकै प्यासै चौपाया दैनिक मरिरहेका छन् । चौपाया व्यवस्थापन व्यवस्थापन जस्तो मात्रै भएको स्थानीय रामप्रसाद शर्मा बताउनुहुँन्छ । “चौपाया व्यवस्थापन भयो त्यो राम्रो कुरा हो । त्यसमा बर्सेनि भैरहेको स्थानीय तहको खर्च हर्दा त्यो उपलब्धि बिहिन क्षेत्रमा लगानी भैरहेको छ ।” शर्माले भन्नुभयो, “चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोडेर स्थानीय क्षेत्रमा रोजगारीको अवसरको रुपमा रुपान्तरण गर्न सक्नुपर्छ । अनि मात्रै भएको लगानीले पनि सार्थकता पाउने छ ।”
टीकापुर नगरपालिकामा भने स्थानीय युवाहरुले गौशाला व्यवस्थापनको काम अगाडि बढाएका छन् । व्यावसायिक रुपमा काम गर्ने उद्देश्यका साथ लागेका युवाहरुले चौपायाको आहाराको लागि घाँस खेती पनि सुरु गरेका छन् । नगरपालिकाको समन्वयमा सुरु भएको चौपाया व्यवस्थापनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।