शेयेर गर्नुहोस
टीकापुर १८ फागुन /
टीकापुर स्थित घण्टाघर सञ्चालनको तयारी भएको छ ।
निर्माण सम्पन्न भएर पटकपटक सञ्चालनका लागि प्रयास गरिए पनि सञ्चालन हुन नसकेको घण्टाघर सञ्चालनमा आउने भएको हो । नगरपालिकाले ठेक्का मार्फत घण्टाघर सञ्चालनको तयारी थालिएको हो । कैयौंपटक ठेक्का प्रक्रियामा जाँदा पनि ठेक्का नपरेको घण्टाघर सञ्चालनको जिम्मेवारी दाउरा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसले पाएको छ । जिम्मेवारी पाएपछि दाउरा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसका सञ्चालक विनोद शर्माले त्यसको रङरोगन लगायतको काम सुरु गरेका छन् ।
घण्टा घरमा लगाइएका फुटेका सिसा लगायतको मर्मतसम्भारको काम नगरपालिकाले गरिरहेको छ भने बाँकी काम सञ्चालन गर्ने संस्थाले गरिरहेको छ । घण्टाघरमा विद्युत जडान भएको छ । विद्युत जडान भएपछि घण्टा घरका घडीले समय दिन थालेका छन् । “एउटा घडीमा केही समस्या भएर होला एकिन समय दिएको छैन भने बाँकी घडीले समय दिन थालेका छन् ।” शर्माले भने, “पार्टी प्यालेस सहितको रेस्टुरेन्ट सञ्चालनका लागि घण्टा घर सञ्चालन प्रयोग हुने छ ।” उनले नयाँ वर्षसम्म उद्घाटन गर्ने गरि आवश्यक व्यवस्थापनको काम भैरहेको बताएका छन् ।
सञ्चालनमा ल्याउन नसकेको भन्दै निकै विरोध खेपेको घण्टाघर सञ्चालनमा आउन लागेको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिएका छन् । उनले आम्दानी मात्रै नहेरी बनेको संरचनाको संरक्षण र सम्बर्द्धन गर्न सक्नु पनि महत्त्वपूर्ण हुने बताएका छन् । मर्मतसम्भार भैरहेको घण्टाघरको अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत धितालले नगरपालिका भित्र ठूलो लगानी भएर अलपत्र परेका संरचनालाई सञ्चालनमा ल्याएर त्यसको संरक्षणमा नगरपालिकाले काम ध्यान दिन थालेको बताएका छन् ।
नगरपालिकामै करोडौं खर्च भएका मानव मलमुत्र प्रशोधन केन्द्र, गोबरबाट ग्यास उत्पादन गर्ने योजना सहित निर्माण भएको बायो ग्यास प्लान्ट लगायतका अन्य संरचना पनि प्रयोगविहीन बनिरहेका छन् ।










