घेराबन्दी भएको नगर प्रमुखको आरोप, के भन्छन् निसानी, म पाएको जिम्मेवारी पूरा गर्छु : लौटन

शेयेर गर्नुहोस


झलनाथ खनाल,टीकापुर २३ फागुन /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले आफूमाथि चौतर्फी घेराबन्दी हुन थालेको बताएका छन ।
बिहिवार पत्रकार सम्मेलन गर्दै नगर प्रमुख थारुले टीकापुरको विकास नचाहने तत्वले आफुलाई चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका हुन । ‘केही राम्रा कामहरूको सुरुवात हुँदा मलाई चौतर्फी घेराबन्दी गर्ने प्रयत्न हुन थालेको छ । टीकापुरको विकासको वाधक नै सधैं त्यहीँ तत्व हो । टीकापुर पछि पर्नाको कारण पनि त्यहीँ हो ।” उनले भने “त्यस्ता व्यक्तिहरुलाई समयमा चिन्न सकिएन भने टीकापुरले समृद्धिको यात्रा तय गर्न सक्दैन ।”
बुधबार प्रमुख तीन राजनीतिक दल र नगर प्रमुख थारुकै पार्टी नागरिक उन्मुक्ति पार्टीका केही व्यक्तिले आफू अनुकुललाई राखेर राजनीतिक दलले गोप्य बैठक मार्फत पूर्वाग्रह साँधेको बताएका छन् । “गुटबन्दी सिर्जना गरेर जात, भेग, लिङ्गका आधारमा विभाजन गर्न खोजिँदैछ ।” उनले भने, ‘चाहे जोसुकै पार्टीबाट आए पनि जनताको जनमत पाएर नेतृत्वमा आएका व्यक्ति विकासका काम गर्न आएका हुन । यस्तो गुटबन्दीले कसरी विकास हुन्छ ?’
पत्रकार सम्मेलनमा नगर प्रमुख थारुले अनगुमन समितिको संयोजक दीपक निसानीले असहयोग गरेका कारण वाध्य भएर अर्को संयोजक बनाउनु परेको बताए । संयोजक निसानीले पटकपटक भन्दा पनि विमानस्थलमा भएको कामको अनुगमन नगरेर असहयोग गरेको उनको भनाई छ । “अनुगमन नभएका कारण विमानस्थलमा भएको कामको समयमा भुक्तानी गर्न नसक्दा कठिनाई भोग्नु पर्यो । पटकपटक भन्दा पनि काम गरेन । विकासका काममा वाधा गरियो ।” नगर प्रमुख थारुले भने, ‘कामै नगर्ने हो भने समितिमा राख्न उचित ठानिएन, अनि विकल्पमा अर्कोलाई जिम्मेवारीमा ल्याइएको हो ।”
टीकापुरमा जहाज सञ्चालन गर्ने कुरा आफ्नो व्यक्तिगत काम नभई टीकापुरको विकाससँग जोडिएको विषय भएको बताउँदै नगर प्रमुख थारुले अनुगमन समितिको संयोजक फेर्ने कुरा कार्यपालिकाको बैठकमा एजेण्डाका रुपमा आएर छलफल भएको दावी गरेका छन् । सञ्चारकर्मीले अब बनाउन खोजेको संयोजक समेत तपाईको विपक्षमा रहेको छन नि भन्ने जिज्ञासामा उनले अहिले बनाइएको व्यक्ति विपक्षीमा हुँदा त्यसमा कुनै अर्को व्यक्ति संयोजकका रुपमा आउने बताए । अनुगमन समितिको संयोजक रहेका उपप्रमुख खडकबहादुर शाह निलम्बनमा परेपछि कार्यपालिका सदस्य निसानीलाई संयोजकको जिम्मेवारी दिईएको थियो ।
नगरपालिका घाटामा चलेको भन्ने भ्रममा नपर्न आग्रह गर्दै कार्यान्वयन हुन नसकेका योजना, गत वर्षको अल्या रकम र केही टेन्डर स्वीकृत गर्दा कबोल रकमबाट बचत रकमबाट योजना बनाइएको थारुले बताएका छन् । उनले कार्यान्वयन नहुने बजेट संशोधन गर्ने अधिकार नगर प्रमुखसँग रहेको बताउँदै वडाध्यक्षलाई समेत वडामा रहेको बजेट संशोधन गर्ने अधिकार रहेको बताए ।
थारुको कार्यशैलीको विरोधमा उनकै पार्टीका नेताहरु समेत उभिएका छन । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले राजनीतिक दल, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको बैठकमा उपस्थित भएर निर्णयमा हस्ताक्षर समेत गरेका छन । नगर प्रमुख थारुले केन्द्रीय सदस्य विश्वकर्मालाई अनुशासनहिन काम गरेको बताउँदै त्यस बारेमा पार्टीले स्पष्टिकरण सोध्ने जानकारी दिए ।
उनले आफूले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्दै आएको बताए । उनले सामाजिक सञ्जाल र कोठे बैठकका आधारमा धारणा नबनाई कार्यकक्षमा आउने रचनात्मक सल्लाह सुझावको सदैव स्वागत गर्ने पनि बताए । थारुले आफू खुशी काम गरेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले विमति जनाएका छन । त्यसमा विभिन्न राजनीतिक दलको समेत समर्थन रहेको छ ।
के भन्छन् संयोजक निसानी
यसअघि अनुगमन समितिबाट हटाइएका कार्यपालिका सदस्य दिपक बहादुर निसानीले नगर प्रमुखको अनुकुलमा योजनाको अनुगमन नहुँदा आफुलाई हटाइएको बताएका छन् । उनले विमानस्थल सरसफाइ तथा मर्मतका विषयमा आएको फाइल अनुगमन प्रक्रियामा नआएका कारण रोक्दा समस्या भएको बताए । “फाइलको प्रक्रिया पुगेको थिएन । प्रक्रिया नपुर्याएरै भए पनि भुक्तानीका लागि नगर प्रमुखले सिफारिस गर्न दबाब दिनुभयो । मैले कानुनसम्मत नभएको फाइलमा हस्ताक्षर गर्न सकिन ।” उनले भने, “त्यस विषयलाई जोडेर मलाई विकास विरोधीको बिल्ला लगाएर हटाइएको हो ।”
कार्यपालिकाको बैठकले प्रक्रिया नपुगेर भएको काममा नगर प्रमुखलाई रोहबरमा राखेर भुक्तानीका लागि सिफारिस गर्ने सहमति हुँदा आफू रोहबरमा बस्न नगर प्रमुखले नमानेको निसानीले बताए । “प्राविधिक तथा निर्माण कम्पनीबाट भुक्तानीका लागि दबाब आइरहेको थियो । कार्यपालिकाले नगर प्रमुखलाई रोहबरमा बसेर भुक्तानी गर्ने कुरा गर्यो ।” उनले भने, “त्यो कुरा उहाँले पहिला मान्नु भएन । अन्तिममा त्यहीँ प्रक्रियाबाट विमानस्थलको नाममा भएको खर्चको भुक्तानी भयो ।” जहाँ साढे पाँच लाख भन्दा बढि खर्च भएको थियो ।
नीति, नियम, विधि प्रक्रिया मिचेर आफ्नो नैतिकताले काम गर्न नदिने भन्दै कार्यपालिका सदस्य निसानीले नगर प्रमुखका लागि विधि प्रक्रिया भन्दा पनि आफू अनुकुलको काम गर्न नसकिने बताएका छन् । “जहाँ आवश्यक हो त्यहाँ कामै भएको छैन । हल्लाको पछाडि लागेर विकासको सपना देखेर हुन्छ ?” उनले भने,
कुनै व्यक्तिलाइ देखाएर जातीको कुरा गर्दा सक्ले पत्याउँछ भन्दै निसानीले नगरपालिकामा राखिएका कर्मचारीहरुमा अन्य समुदाय कति समेटिएका छन् र कसको मानसिकता नकारात्मक छ भन्ने कुरा प्रष्ट पारेको बताए ।
पाएको जिम्मेवारी पूरा गर्छु : चौधरी
नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा नगर प्रमुखले अनुगमन समितिमा संयोजकको जिम्मेवारी दिएका लौटन चौधरीले नगर प्रमुखले दिएको जिम्मेवारी पूरा गर्ने बताएका छन् । उनले राजनीतिक दल तथा केही जनप्रतिनिधिले निकालेको संयुक्त प्रेस बिज्ञाप्तिमा आफ्नो सहमति नरहेको बताए । “म जनप्रतिनिधि हु, राजनीतिक दलले भनेको कुरा भन्दा नगर प्रमुखको जिम्मेवारी महत्त्वपूर्ण कुरा हो ।” उनले भने, “राजनीतिक दलले भनेको मान्नुपर्छ भन्ने छैन । फेरि भित्र एक बाहिर अर्को गर्ने जनप्रतिनिधिका अगाडी पाएको जिम्मेवारी पूरा गर्छु ।”
अझै पनि कार्यपालिकाका सदस्यहरु आपसमा छलफल गरेर समाधानको बाटो खोज्ने कुरामा आफू प्रतिबद्ध रहेको वडा अध्यक्ष चौधरीको भनाई छ । उनले जनप्रतिनिधिहरुलाई पनि एउटै कुरामा अडिग रहन आग्रह गरे । “म आफ्नो बोलीमा अडिग छु । सबै साथीहरू त्यसैगरी अडिग रहनुपर्छ ।” उनले भने, “कसैले छोड भन्दैमा छोड्ने अनि जोड भन्दैमा जोड्ने होइन, आजसम्म कसैको दबाबमा आएर पाएको जिम्मेवारीबाट पछि हट्ने मनस्थिति बनाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *