चितुवाको आतंकले स्थानीय आम्दानीको स्रोत गुमाउँदै

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर २६ साउन /

टीकापुर क्षेत्रमा चितुवाले एक साता देखि घरपालुवा जनावर बाख्रा, कुखुरा मार्न थालेपछि स्थानीयले लाखौंको क्षति बेहोर्नु परेको छ ।
घरको सामान्य खर्च व्यवस्थापन गर्नका लागि भन्दै पालेका बाख्रा दिनप्रतिदिन चितुवाले मार्न थालेपछि एकातिर त्रास बढेको छ भने एउटा घरायसी खर्च धान्ने स्रोत गुम्न थालेको छ । “घरको सानोतिनो खर्चको जोहो गर्नकै लागि दुईचारवटा बाख्रा पाल्ने गरेका थियौं । एकै रातमा चितुवाको आक्रमणबाट बाख्रा मरे ।” स्थानीय विक्की विकले भने, “खासगरी हाम्रो भन्दा आमाको दैनिकी नै अन्योलमा परेको छ । त्यहीँ बाख्राको रेखदेखमा दिन बिताउने आमालाई दिन काट्न गाह्रो भएको छ भने एउटा सानोतिनो खर्च व्यवस्थापन गर्ने स्रोत गुमेको छ ।”
सिमित अर्थात एक कट्ठा जग्गामा घर बनाएर बाँकी रहेको जग्गामा सानो खोर बनाएर अधिकांशले घरमा एकदुई बाख्रा पाल्ने गरेका छन् । आर्थिक रुपमा निकै समस्या परेका बेला त्यहीँ बाख्रा बचेर आवश्यकता पूरा गर्दै आएका स्थानीयका लागि चितुवा ठूलो चुनौती बनेर आएको स्थानीय गणेश शाहले बताएका छन् । “हेर्दा सामान्य लाग्छ । घरमा पालेको एकदुई बाख्राले कतिपयले आफ्नो जीविका नै चलाएका हुन्छन् । समस्या परेका बेला त्यहीँ महत्त्वपूर्ण स्रोत त्यहीँ बाख्रा हो ।” उनी भन्छन्, “सामान्य परिवारका लागि त चितुवा निकै चुनौती बनेको छ । कतिपयले कुनै पक्षबाट राहत पाउन सकेन भने उनीहरुको जीविकोपार्जन गर्ने स्रोत नै गुम्ने देखिन्छ ।”
चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा गरी एकै सातामा स्थानीयका २२ बाख्रा मारेको छ भने केही बाख्राहरु घाइते भएका छन् । त्यत्तिकै संख्यामा कुखुरा र कुकुर समेत मारेको स्थानीयहरु बताउँछन् । चितुवाले गए राति ब्लक नं. १७ मा रहेको मिनबहादुर नेपालीको खोरबाट २६ वटा कुखुरा मारेको छ । चितुवाले कुखुराकै खोरमा आक्रमण गरेपछि स्थानीय होहल्ला गर्दा दुई बच्चासहितको चितुवा भागेको स्थानीय तपेन्द्र रावलले बताएका छन् । गए राती नै ब्लक नं. १७ मा समेत चितुवाको आक्रमणबाट एक बंगुर मरेको छ ।
ब्लक नं. १७ र १८ मा चितुवाको जोखिम बढेपछि स्थानीय सँगै बिधालयले पनि असुरक्षाको महसुस गर्न थालेका छन् । बिधालय आउने क्रममा वा घर फर्किने क्रममा चितुवाको आक्रमणमा बालबालिका पर्नसक्ने जोखिम देखिएको छ । “अहिलेसम्म रातीको समयमा घटना भएका छन् । दिउँसो पनि घटना नहोला भन्न सकिने स्थिति छैन ।” अरनिको इङलिस बोर्डिङ स्कुलका प्राचार्य तेज कुँवरले भने, “चितुवालाई जतिसक्दो छिटो नियन्त्रणमा लिएर स्थिति सामान्य बनाउनुपर्छ । होइन भने भोलि कुनै मानवीय घटना नहोला भन्न सकिने स्थिति छैन ।”
चितुवा नियन्त्रणका लागि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली दुई दिनदेखि परिचालित छ । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, इलाका प्रहरी कार्यालय टीकापुर र नगर प्रहरीलगायत टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको छ । चितुवा नियन्त्रणमा लिन पासो थापिएको छ । ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने भन्दै स्थानीयलाई नआत्तिन र सचेत रहन आग्रह चितुवा खोजीमा संलग्न अधिकारीले आग्रह गरेका छन् ।
शहरमै चितुवा देखिन थालेपछि कतिपय किसानले बाख्रा घरभित्र बाँध्न थालेका छन् । “ड्रोन क्यामेराको सहायतले चितुवाको खोजी गर्ने निर्णय भएको छ’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले भने “स्थानीय वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयको जग्गामा रहेको उखुबारी र केराबारी नजिक पासो थापिएको थियो, अझ थप दुईवटा पासो थप गरेका छौं ।”
टीकापुर नगरपालिकाको वडा नं. ७ र ८ मा समेत चितुवाले आतङ्क मच्चाएको छ । त्यहाँ पनि चितुवाले दैनिक बाख्रा, घरपालुवा कुकुर र भैँसी मार्न थालेको वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताएका छन् ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *