शेयेर गर्नुहोस
टीकापुर २४ साउन /
टीकापुर नगरपालिका क्षेत्रमा घरपालुवा जनावरमाथि बाघको आक्रमण बढ्दै गएपछि टीकापुर नगरपालिकाले सरोकारवालाहरुसँग बाघको खोजी कार्यका लागि छलफल गरेको छ ।
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालवीर चौधरीको अध्यक्षतामा भएको छलफलले दिनप्रतिदिन बजार क्षेत्र भित्रै बाख्राहरु माघले मार्न थालेपछि स्थानीयको चर्को विरोधका बाबजुद बाघको खोजीका लागि आवश्यक समन्वय र सहकार्य गर्ने गरी छलफल गरेको हो ।सरोकारवाला पक्षहरूसँग भएकाे छलफलले बाघले प्रभावित बनाएको क्षेत्रमा माइकिङ गर्ने, बाघले मारेका घरपालुवा जनावरहरूको क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालयसँग आग्रह गर्ने र बाघको खोजीमा पहल गर्ने जस्ता विषयहरुमा छलफल भएको बताइएको छ ।
उक्त छलफलमा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी, इलाका प्रशासन कार्यालयका प्रमुख भूमीश्वर पोख्रेल, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख विश्वराज अधिकारी, डिभिजन वन कार्यालय पहलमानपुरका अधिकृत राम विचारी ठाकुर लगायतको सहभागिता रहेको थियो ।
दिनप्रतिदिन बाघले बाख्रा मार्न थालेपछि डिभिजन वन कार्यालय पहलवानपुरको टोली बुधबार टीकापुर पुगेको छ ।
वन कार्यालयका डिएफओ रामविचारी ठाकुरसहितको टोलीले टीकापुर पुगेको थियो ।
मंगलबार राति पनि टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १८ का कोकिला दमाईका दुई र शेरबहादुर कुँवरका एक बाख्रा मारिएका छन । कुँवरको एक बाख्रा घाईते भएको छ भने मंगलबार राती नै टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका डिग्रा परियार र नरपता थापाका एकएक बाख्रा समेत घाईते भएका छन ।










