चुनावमा कर्णाली करिडोरदेखि लालपुर्जा सम्मको चर्चा

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १६ कार्तिक /
चुनावमा विकासका एजेण्डा उठ्नु स्वभाविक हो । कैलालीको टीकापुर क्षेत्रमा सुकुम्बासी, मुक्त कमैयालाई लालपुर्जा वितरण, विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापना, रोजगारी सिर्जना लगायतका विषयहरू निर्वाचनका मुख्य एजेण्डा बन्दै आएका छन् । हिजो पनि त्यहीँ मुद्दालाई जनताको माझमा गएका उम्मेदवार र राजनीतिक दल आज पनि त्यहीँ मुद्दालाई प्राथमिकतामा राखेर चुनाव लड्दै छन् । हो अहिलेको निर्वाचनमा ब्याक्ती परिवर्तन भए होलान तर राजनीतिक दल र मुद्दा परिवर्तन हुन सकेका छैनन् । हिजोका दिनमा उठेका चुनावका एजेण्डामा सुकुम्बासीलाई लालपुर्जा, टीकापुर विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापना लगायतका कुनै पनि एजेण्डामा काम हुनसकेको छैन ।
मुख्य कुरा चुनावमा उठेका एजेण्डा कार्यान्वयन हुन्छन् वा हुँदैनन् भन्ने कुरा प्रमुख रहन्छ । यतिबेला देश संघ र प्रदेशको चुनावको दौडाहामा छ । नागरिकहरुलाई सम्भावना देखाएर चुनाव जित्ने कुरालाई नौलो मान्न सकिन्न । कैलाली क्षेत्र नं. १ मा विशेष चर्चाको विषय भएको छ कर्णाली करिडोर । विकासका एजेण्डामा हिजोका दिनमा पनि बहस र बिमर्श हुने गर्थ्यो । अहिलेको यो विषयलाई पृथक रुपमा हेरिएको छ ।
यतिबेला नेकपा एमालेले कर्णाली करिडोरको विषयलाई महत्त्वका साथ उठाएको छ । निर्वाचनमा मुख्य एजेण्डा नै बनाएर मतदाताको घरघरमा एमालेका उम्मेदवार पुगेका छन् । “एजेण्डा बनाउनु मात्रै नौलो कुरा होइन । त्यसलाई कार्यान्वयन गर्ने आधारहरू पनि जनताको माझमा बुझ्ने गरी लैजानु पर्छ ।” स्थानीय रामचन्द्र चौधरी भन्नुहुन्छ, “यस्ता विषय जनताको लागि नौलो होइन । यी सबै चुनाव सम्पन्न हुँदासम्मका लागि मात्रै हुन जस्तो लाग्छ ।”
टीकापुर नगरपालिका वडा नं. १ का रणबहादुर विक २०६४ सालको निर्वाचन देखि हालसम्म त्यहीँ सुकुम्बासीको लालपुर्जाको एजेण्डा महत्त्वका साथ उठ्दै आएको बताउनुहुन्छ । उहाँले निर्वाचनको समयमा उठेका एउटा पनि एजेण्डाले पुर्णता पाउन नसकेको बताउनुभयो । “१८ वर्षदेखि हामी लालपुर्जाकै पछाडि छौं । आफ्नो जग्गा नभएका कारण राज्यका हरेक सेवा सुविधाबाट पनि बञ्चित छौं ।” रणबहादुरले भन्नुभयो, “एजेण्डा बन्छ तर, निर्वाचनसँगै सकिन्छ । काम कतैबाट हुँदैन । लालपुर्जाको पछि दौडिएका हामी जहाँका त्यहीँ छौं, एजेण्डा बोक्नेहरुपनि त्यसैमा सिमित छन् ।”
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले कर्णाली करिडोरको विषय नौलो नभएको बताउनुभयो । उहाँले १० वर्ष अगाडिदेखि नै कर्णाली करिडोरको विषयमा बहस हुँदै आएको बताउँदै विकासका एजेण्डामा बहस हुनु राम्रो पक्ष भएको बताउनुभयो ।
“हामिले १० वर्ष पहिले कर्णाली करिडोर, मोहना/ कर्णाली नदीको त्रीवेणी माथी भेरी/कर्णालीको त्रीवेणीमा धामको रुपमा विकास गरी टीकापुर क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्ने योजना नौलो होईन ।” कैलाली क्षेत्र नं. १ प्रदेश “ख” का गठबन्धनबाट उम्मेदवार समेत रहेका डा. रावलले भन्नुभयो, “यसमा बजेट समेत विनियोजन भएको छ । दुई करोड ७० लाख बजेट विनियोजन भइ त्यसलाई क्रमागत आतोजनाको रुपमा लिने भनेका छौं । बर्दिया राष्ट्रिय निकुञ्जका कारण केही समस्या भएका कारण प्रक्रिया अगाडि बढ्न मात्रै नसकेको हो ।” उहाँले कर्णाली/ मोहना त्रीवेणीदेखि कर्णालीकै तटबाट कैलाश मानसरोवरसम्मको धार्मिक यात्रा गर्न सकिने गरी कर्णालीलाई व्यवस्थापन गर्न भारतसँग पनि छलफल भएको बताउँदै एकैपटकमा सबै कुरा सम्भव मात्रै नभएको बताउनुभयो ।
नेकपा एमालेबाट प्रदेश “ख” का उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले कर्णाली करिडोर निर्माण गर्नु कुनै अचम्मको कुरा नभएको बताउनुभयो । उहाँले टीकापुर क्षेत्रको पाँच लाख जनतालाई बाढी र डुवानको सास्तीबाट जोगाउनको लागि पनि कर्णाली करिडोर महत्त्वपूर्ण हुने बताउँदै विकासमा असम्भव भन्ने कुनै कुरा नहुने बताउनुभएको छ । “चुनाव जिताएर पठाउनुहोस, कर्णाली करिडोर बन्छ बन्दैन भन्ने कुरा म प्रमाणित गरेर देखाउँछु । अहिलेको डुवान कटानलाई न्यूनीकरण गर्नको लागि पनि कर्णाली करिडोर बन्नुपर्छ ।” न्यौपानेले भन्नुभयो, “हिजो कस्ले कति गर्यो त्यसको लेखाजोखा जनतासँग होला । अब हामी गर्न चाहान्छौं । त्यहीँ अवसरका लागि जनताको माझमा जानुपरेको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *