शेयेर गर्नुहोस
झलनाथ खनाल भजनी ०५ असोज /
कोरोना भाइरसको महामारीका कारण अधिकांश मानिसहरु गाउँघरमै भएको बेला चोरीका घटनाहरु बढ्दै गएका छन् । कोरोनाका कारण व्यापार व्यवसाय तथा रोजगारी नभएको अवस्थामा घरमा पालेका पशु चौपायाहरु चोरी हुन थालेपछि स्थानीयबासी चिन्तित बनेका छन् । शनिबार रातिमात्रै भजनी नगरपालिका वडा नं. ८ गोड्चौराका सन्तोष चौधरीको दुईवटा खसी चोरी भएको छ । केही दिन अगाडि वडा नं. ८ कै खैराका हरिराम आचार्य र काढाँढिकका विष्णु शाहीको खसी चोरी भएको स्थानीयले बताएका छन् ।
खेती किसानी गरेर जीविका चलाउँदै आएका सन्तोष चौधरीले दशैं तिहारमा बेच्नका लागि तयार पारेका खसी चोरी हुँदा आयआर्जनको बाटो नै गुमेको बताउनुभएको छ । ‘बाढीले घर खेतबारी सबै सखाप बनाएको छ । त्यही बिपत्तीमा बेच्न तयार भएका खसी पनि चोरले लग्यो ।’ सन्तोषले भन्नुभयो, ‘घर व्यवहार कसरी चलाउने ? कोरोनाका कारण दैनिक ज्यालादारीको काम पनि गर्न पाएका छैन ।’
उहाँले बाढीका कारण लगाएको धान बाली पूर्णरुपमा नष्ट हुँदा भोकमरीको चिन्ता थपिएको भन्दै त्यसमाथि दैनिक चोरीका घटनाहरु हुन थालेपछि समुदायमै त्रास बढेको बताउनुभयो ।
त्यस्तै भजनी नगरपालिका वडा नं. ८ कै हरिराम आचार्यले गाउँघरमा रातिको समयमा चोरी डकैतीका घटनाहरु बढ्दै जाँदा त्रास फैलिएको भन्दै प्रहरी प्रशासनले पनि खासै चासो नदिएको गुनासो गरेका छन् । ‘एकातर्फ कोरोनाको त्रास, अर्कोतर्फ बाढीको त्रास ।’ आचार्यले भन्नुभयो, ‘त्यसैमा अहिले चोरीका घटनाको त्रास बढेको छ ।’
गोड्चौरमा शनिबार राति आफ्नै आँखा अगाडी रातो पल्सर मोटरसाइकलमा आएका चारजनाले खसी चोरेर भागेको राजकुमारी चौधरीले बताउनुभयो । ‘मोटरसाइकलमा चार जना आएका थिए । हारगुहार गरेँ । रातीको समयमा छिमेकी आए पनि मोटरसाइकलमा खसी लिएर चोर भाग्न सफल भयो ।’ राजकुमारीले भन्नुभयो, ‘घरमा अहिले कुनै पनि आयस्रोत छैन । त्यही पाठा–बाख्रा बेचेर घर खर्च चलाउँथेँ । त्यो पनि चोरले सहन सकेन ।’
उहाँले श्रीमान् दाङ काममा गएको बताउँदै घरमा सासु, आफू र सानो छोरामात्रै भएका कारण पनि आफ्नै अगाडिबाट चोरले खसी लिँदासमेत प्रतिकार गर्न नसकेको दुखेसो गर्नुभयो ।
‘एकातिर कोरोना र बाढीले आर्थिक अवस्था नाजुक बनाएको थियो । त्यही खसी बेचेर खाद्यान्न र घर खर्च धानौला सोचेकी थिएँ ।’ राजकुमारीले भन्नुभयो, ‘कुन पापीले खसी चोरेर लग्यो । अब के खाने ? के लाउने ?ं
दिन प्रतिदिन चोरीका घटनाहरु बढ्दै गएको भन्दै प्रहरीमा उजुरी समेत बढ्दै गएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले मोबाइल, पशु चौपाया लगायतका चोरीका घटनाहरु बढ्दै गएको भन्दै त्यसका लागि प्रहरीले आफ्नो गस्तीलाई समेत बढाएको बताउनुभयो । ‘हामीले उजुरी परेसँगै चोरको खोजतलास गरी कारवाहीको दायरामा ल्याएका छौं ।’ कार्यालय प्रमुख न्यौपानेले भने, ‘पीडितसँग मुद्दा चलाउन भन्छौं । तर, आपसी मिलापत्रमै सहमती भइहाल्छ । हामीले के गर्ने ?’ उनले चोरीका घटनाहरु बढ्दै गए पनि प्रहरीले चोरहरुलाई नियन्त्रणमा लिँदै गएको बताउनुभयो ।
त्यस्तै, इलाका प्रहरी कार्यालय भजनीका प्रमुख एवम् प्रहरी निरीक्षक जनकबहादुर धामीले चोरीका घटनाहरु बढ्न थालेसँगै प्रहरी गस्तीलाई सशक्त बनाएको बताउनुभयो । उहाँले चाडपर्वहरु नजिकिँदै गर्दा गाउँघरतिर चोरी–डकैतीका घटनाहरु बढ्दै गएपछि आफू मातहतका प्रहरी चौकीहरुलाई शान्ति सुरक्षाका लागि सशक्त भएर काम गर्न निर्देशन दिइसकेको बताउनुभयो ।