छ लेन सडकका बत्ती बिग्रन थाले

शेयेर गर्नुहोस


टीकापुर १९ कार्तिक /
टीकापुर जमरा पुलदेखी कृषि हाटबजार सम्म छ लेन सडकमा जडान भएका सडक बत्ति छ महिना नपुग्दै बिग्रन थालेका छन् ।
टीकापुर नगरपालिकाले वैशाख महिनामा नयाँ वर्षको अवसर पारेर छ लेन सडकमा सडक बत्ति बालेको थियो । निर्माण सम्पन्न नहुँदै सिधै विद्युत लाइनबाट बत्ती बालेको नगरपालिकाले पछि सिस्टममा जडान गर्न बीचमा बत्ती बन्द गरेको थियो । बत्ती बलेको छ महिना नपुग्दै बत्ती बिग्रन थालेका छन् । जडान भएका केही बत्ती पुर्ण रुपमा बन्द भैसकेका छन् भने कतिपय बत्तीले मधुरो उज्यालो दिने गरेका छन् । अझै सडक बत्तीसँगै जडान भएको स्ट्रीप लाइट बन्द नै भैसकेको छ । बीचमा बन्द भएको स्ट्रीप लाइट अहिले सडकको एक किनारमा बलेको देखिन्छ भने अर्को किनारमा बल्न छोड्को महिनौं भएको छ ।
ड्राइभ इलेक्ट्रोनिक काठमाडौंले जडान गरेको सडक बत्ती मर्मतका लागि जानकारी गराइएको टीकापुर नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताएका छन् । “हामीले कम्पनीलाई खबर गरेका छौँ । केही काम तिहार अगाडि सम्पन्न पनि गरेको छ ।” उनले भने, “बाँकी काम समयमा सकेर बन्द भएका बत्ती बाल्न भनेका छौँ ।” उनका अनुसार जडान गर्ने प्राविधिक बाहिर भएका कारण बन्द भएका बत्ती बाल्न ढिलाई भएको हो । निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार सडक बत्तिको पाँच वर्षको वारेन्टी रहेको छ ।
उता लाइट जडान कम्पनीका सञ्चालक रविन थापाले काम गर्न पठाएको व्यक्तिले समयमा काम नगर्दा ढिलाई भएको बताएका छन् । उनले आवश्यक सामाग्री जडानका लागि पठाइसकेको बताए । “हामीले त्यहीँ एकजना प्राविधिकलाई कामको जिम्मा दिएका छौँ । आवश्यक केही सामाग्री पनि पठाएका छौँ ।” उनले भने, “पठाएको सामाग्रीले बन्ने स्थिति भए एकदुई दिनमा काम हुन्छ होइन भने समय पनि लाग्न सक्छ ।” उनका अनुसार कम्पनीले नगरपालिकाकै इलेक्ट्रोसियनलाई सडक बत्ती मर्मतको जिम्मेवारी दिइएको पाइएको छ ।
नयाँ वर्षको सुरुवातीसँगै सडक बत्ती जडान भएपछि रातिको समयमा फोटो खिच्ने र टिकटक बनाउने केही समय निकै भिड नै लागेको थियो । मध्यान्ह रातिसम्म मुख्य सडकमा मान्छेहरूको चहलपहल हुन्थ्यो । त्यो अहिले छैन । नगरपालिकाले पुनः त्यसै कम्पनीलाई कृषि हाट बजारदेखि बसपार्कसम्मको बाँकी छ लेन सडकमा बाँकी सडक बत्ती जडानका लागि ठेक्का दिइसकेको छ । कम्पनीले आवश्यक सामाग्री पनि ल्याइसकेको छ । तर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम अगाडि बढाउन सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *