शेयेर गर्नुहोस
भजनी २७ चैत /
कैलालीको भजनीनगरपालिका वडा नं. ९ का हेमराज चौधरीको घरको आर्थिक अवस्था निकै कम्जोर छ । उहाँको घरमा हिजोसम्म खाना पकाउन दाउरा चाहिन्थ्यो । त्यो दाउराको आवश्यकता नजिकैको सामुदायिक वनले टार्दै आएको उहाँको भनाइ छ । तर, अब उहाँलाई दाउराको भरमा घरको चुलो जनाउनुपर्ने बाध्यताको अन्त्य ओम शान्ती सामुदायिक वनले गरिदिएको छ ।
सामुदायिक वनले विपन्न उपभोक्तालाई ग्यास र चुल्हो वितरण गरेसँगै हेमराज जस्तै एक सय ८० परिवार दाउराको निर्भरताबाट बाहिर आएका छन् । “एकातिर आर्थिक रुपले पनि ग्यास चुल्हो किन्न सक्ने स्थिति छैन भने अर्कोतिर नजिकै जंगल भएका कारण विकल्प खोज्न मन पनि लाग्दैनथ्यो ।” हेमराज भन्नुहुन्छ, “अब ग्यास चुल्हो पाएपछि त्यसैको सदुपयोग गर्छौं । जंगल गएर दाउरा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”
वर्षौदेखि आगोमा खाना पकाउनुपर्ने बाध्यताको अन्त्य हुने भएपछि सामुदायिक वनकी उपभोक्ता मधुदेवी चौधरी खुशी हुनुहुन्छ । अबका दिनमा उहाँलाई खाना पकाउन दाउराको चिन्ता हुनेछैन । “दाउराकै लागि महिनौं दिन जंगलमा बित्थ्यो । अब त्यो समय अन्य ठाउँमा सदुपयोग हुने छ ।” उहाँले भन्नुभयो, “वनले उपभोक्ताको मर्का बुझेर सामुदायिक वन जोगाउने सजिलो आधार खोजेको छ । हामी पनि ग्यास चुल्हो पाएपछि खुशी छौँ ।”
उपभोक्ता सुनिता चौधरीलाई यसवर्ष वर्षातको समयमा हुने चिन्ता हटेको छ । दाउरामै खाना पकाउनुपर्ने बाध्यतामा रहेकी सुनिताले वर्षातको समयमा दाउरा पानीले भिजेको हुने हुँदा खाना पकाउन निकै दु:ख हुने गरेको बताउनुभयो । “दाउरा ओभानोमा राख्ने ठाउँ छैन । आगनमा राखेका दाउरा राम्रोसँग जल्दैनन ।” उहाँ भन्नुहुन्छ, “अब त्यो पीडा फर्केर आउने छैन । घरमा ग्यास भएपछि खाना पकाएर खान दाउराको भर पर्नुपर्ने दिनबाट छुटकारा पाइएको छ ।”
विपन्न परिवारका आसाराम चाैधरी सामुदायिक वनले ग्यास चुल्हो उपलब्ध गराउँदा आगामी दिनमा समयको बचत हुने बताउनुहुँन्छ । उहाँले दाउरा खोज्ने समय उत्पादनका क्षेत्रमा सदुपयोग गर्न सकिने बताए । “एकजना दाउराको खोजीमा हिड्न पर्थ्यो । त्यतिमात्र नभई खाना पकाउन पनि एकजनाको दैनिकी बन्दै आएको थियो ।” उहाँले भन्नुभयो, “अब खाना पकाउन कसैलाई जिम्मा दिएर राख्नुपर्ने छैन । जतिबेला पनि खाना पकाएर खान सकिने भएको छ ।”
वनको आन्तरिक आम्दानीबाट एक सय ८० परिवारलाई प्रती परिवार ८ हजारका दरले ग्यास चुल्हो वितरण गरिएको वनका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिनुभयो । “बर्सेनि उपभोक्ताहरुलाई दाउरा उपलब्ध गराउनुपर्ने हुन्थ्यो । उहाँहरुको मागअनुसार दाउरा उपलब्ध नहुँदा झन जंगल बढी मासिन थाल्यो ।” उहाँले भन्नुभयो, “अब अधिकांश विपन्न परिवारले ग्यास चुल्हो पाएका छन् । जंगलको विनाश रोकिने आशा छ ।”
दिनप्रतिदिन वन क्षेत्र मासिँदै गएपछि सामुदायिक वनले विकल्प खोज्दै आएको थियो । वृक्षरोपणले मात्रै जंगल जोगाउन नसकिने भएपछि उपभोक्ताको आवश्यकतामा विकल्प खोज्नुपरेको अध्यक्ष चौधरीको भनाई छ ।










