जनकल्याण १२ औं वर्षमा

शेयेर गर्नुहोस


टीकापुर २९ असार /
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले बिहिवार १२ औं स्थापना दिवस मनाएको छ ।
सहकारी संस्थाले “सहकारीको आवश्यकता र महत्त्व” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गर्दै आफ्नो १२ औं स्थापना दिवस मनाएको हो । वक्तृत्वकला प्रतियोगितामा सहकारी संस्थाका सेयर सदस्यहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा टीकाराम चौधरी प्रथम भएका छन् । त्यस्तै धनबहादुर विक दोस्रो, रमेश प्रसाद भाट तेस्रो भएका छन् भन् यज्ञमान सेठ्ठी शान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र शान्त्वना हुने सेयर सदस्यले क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार नगद, प्रमाणपत्र र झोला प्राप्त गरेका छन् । प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो ।
सहकारी संस्थाका अध्यक्ष नृपराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक शाहले सहकारी संस्था बचतमा मात्रै सिमित नहुन निर्देशन दिएका छन् । उनले समुदायमा सामुहिक लगानीबाट थुप्रै सम्भावनाका काम गर्न सकिने भन्दै त्यसमा स्थानीय सरकार समन्वय गर्न तयार रहेको बताएका छन् । “स्थानीय सरकारले सहकारीलाई आर्थिक सहयोग गर्न सक्दैन । साझा योजनामा हातेमालो गर्न सकिन्छ । योजना ल्याएर आउनुहोस्, त्यसमा छलफल गरौं ।” नगर उपप्रमुख शाहले भने, “समुदायमा दाइत्व बोध हुनेगरी काम गर्नुपर्ने छ । उत्पादनलाई जोड दिएर सहकारीलाई अगाडि बढाउनुको विकल्प अब छैन ।”
कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष गणेश साउँदले सुशासन कायम भएको संस्थालाई गति लिन समय नलाग्ने बताउँदै सुशासन र पारदर्शिता महत्त्वपूर्ण कुरा भएको बताएका छन् । उनले पछिल्लो समयमा सहकारी प्रतिको नागरिकहरूमा जनविश्वास बढ्दै गएको दाबी समेत गरे । सहकारीका सल्लाहकार समिती संयोजक बद्रीप्रसाद भट्टराईले सहकारी संस्था समुदायका नागरिकहरुका लागि महत्त्वपूर्ण आर्थिक कारोबारको आधार बनेको भन्दै स्थानीय सरकारले सहकारीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शोभा शर्माले सहकारीहरु एकाअर्काको प्रतिस्पर्धी नभई समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएकी छन् ।
सहकारीका व्यवस्थापक छविलाल जैशीले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष मनोज साउँदले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *