शेयेर गर्नुहोस
टीकापुर ०१ मंसिर /
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले नागरिकहरूलाई भड्काएर सामाजिक सद्भाव कायम हुन नसक्ने बताएका छन् ।
कैलाली क्षेत्र नं. १ प्रदेश “ख” बाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका डा. रावलले केही राजनीतिक दल तथा उम्मेदवारहरुले नागरिकहरूलाई भड्काएर सामाजिक सद्भावको मुद्दा उठाएको बताउँदै त्यस्ता कार्यले सद्भाव कायम हुनुको साटो झन समाजको दुरी फराकिलो बन्दै जाने बताएका हुन । मतदाताहरुसँग मत माग्ने क्रममा उनले नागरिकहरूसामु छरिएका भ्रमको पछाडि नलाग्न आग्रह गर्दै जात धर्मको नाममा हुने राजनीतिले ब्याक्तिगत स्वार्थ पूरा गर्न भन्दा अरु कुनै परिवर्तनको कुरालाई पूरा गर्न नसक्ने बताएका छन् ।
“हामी हिजो देखि सद्भावको कुरालाई जोड्दै सबैलाई सँगै समेटेर लैजानुपर्छ भन्नेमा लागि रहँदा केही तत्व आफ्नो निहित स्वार्थको लागि समाजलाई भाड्न खोजिरहेका छन् ।” डा. रावलले भने, “हामीलाई टीकापुरको चिन्ता छ । टीकापुरमा बस्ने आम नागरिकहरुको चिन्ता छ । जुन आफ्नो स्वार्थ पूरा गर्न टीकापुर आएका छन्, तिनबाट सचेत बन्नुपर्छ ।” उनले काम गर्ने एजेण्डा नभएकाहरुसँग जनताले अपेक्षा गर्न नसक्ने बताउँदै समग्र प्रदेश “ख”को विकासका लागि लोकतान्त्रिक बाम गठबन्धन विकल्प नभएको बताएका छन् ।
“जसको माथी समात्ने हाँगा छैन, त्यसबाट धेरै आशा के गर्नु ? यो जनतालाई पनि थाहा छ । यसले अझै हाम्रो क्षेत्र १० वर्ष गुमराहमा राख्नु जस्तै हुने छ ।” डा. रावलले भने, “विकासका योजना जस्ले बनाउन सकेपनि बजेटको लागि केन्द्रसम्म पहुँच भएको ब्याक्ती नेतृत्वमा गए मात्रै हामिले देखेको सुन्दर सपना पूरा हुन सक्छ ।” कम्प्युटरमा योजना बनाएर त्यसको कार्यान्वयन हुन नसक्ने भन्दै रावलले यसभन्दा पहिले स्थानीय सरकारमा हुँदा भएका कामको उपलब्धि जनताले माग्नुपर्ने बताएका छन् ।
“गर्न सक्ने कुराको प्रचारप्रसार गर्दा जनतालाई पनि विश्वास हुन्छ । जनताले पनि पत्याउँछन । जहाँ विश्वास नै गर्न नसकिने कुरा हुन्छ, त्यहाँ जनताले पत्याउने आधार कसरी बन्न सक्छ ।” रावलले भने, “यदि पत्याउने आधार हो भने हिजो स्थानीय सरकारको नेतृत्वमा हुँदा भएका उपलब्धिहरुको बारेमा बोल्न सक्नुपर्छ ।” उनले सपना देख्नु राम्रो कुरा भएको बताउँदै कर्णाली करिडोर लगायतका विकासका ठुला आयोजनाको लागि यसभन्दा पहिलेदेखि नै आफुले संघीय सरकारसँग निरन्तर समन्वय गर्दै आएको बताएका छन् ।
उनले आफुले गरेका कामको मुल्यांकन जनताले गरेको बताउँदै एकपटक प्रदेश “ख” ले आफुलाई विश्वास गर्नेमा विश्वस्त रहेको बताएका छन् । “मैले जनमत पाएको खण्डमा टीकापुरले प्रदेशको नेतृत्व गर्न पाउने निश्चित छ ।” रावलले भने, “त्यो अवसर टीकापुरको हुने छ ।”