शेयेर गर्नुहोस
टीकापुर २९ माघ /
नेकपा माओवादी केन्द्र टीकापुर नगर समितिले मनाउने ३० औं जनयुद्ध दिवसको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
फागुन १ गते माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसलाई भब्य रुपमा मनाउने योजना बनाएको नगर समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएको हो । पार्टीका नगर अध्यक्ष धनसिंह साउँदले उक्त दिन बृहत् रक्तदान कार्यक्रम, सहित तथा बेपत्ता परिवारलाई सम्मान सहित सहिदको सम्झनामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिने बताएका छन् । सबै कार्यक्रमको तयारी पूरा भएको बताउँदै बृहत् रक्तदान कार्यक्रममा सम्पुर्णलाई सरिक हुन पनि अध्यक्ष साउँदले आव्हान गरेका छन् ।
“देशको अहिलेको व्यवस्था स्थापना गर्नमा महत्त्वपूर्ण भुमिका खेलेको जनयुद्ध दिवसलाई भब्य देशव्यापी रुपमा पार्टी मनाउने छ । त्यसैअनुसार टीकापुर नगर समितिले पनि जनयुद्ध दिवसलाई मनाउने तयारी गरेको हो ।” उनले भने, “त्यस दिन टीकापुर नगरपालिका भित्रका सहिद तथा बेपत्ता परिवारका झण्डै ४० जनालाई सम्मान गर्ने कार्यक्रम पनि तय गरेका छौँ ।” पत्रकार सम्मेलनमा अध्यक्ष साउँदले जनयुद्धमा लाखौं जनतालाई गरिएको प्रतिबद्धता जनयुद्धका मुद्दालाई वास्तविक जनताको तहसम्म जनताले अनुभुत गर्नेगरी काम गर्ने जिम्मेवारी माओवादीको काधमा आएको पनि बताए ।
उनले अहिलेको व्यवस्थालाई स्विकार गर्न नसक्ने केही तत्वले जनयुद्ध जनयुद्ध शब्दलाई हिंसाको रुपमा व्याख्या गरेकोमा आपत्ति जनाउँदै त्यसले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता लगायतका जनयुद्धका उपलब्धिलाई भन्न हिचकिचाउने कुरा सत्य नभएको बताएका छन् । उनले जनयुद्ध दिवसका कार्यक्रममा निर्धक्क भएर सरिक हुन आग्रह पनि गरेका छन् ।










