जनश्रमदान मार्फत जैविक तटबन्ध गर्दै स्थानीय

शेयेर गर्नुहोस


पदमराज जैशी (नानु), भजनी ११ साउन /
बर्सेनि बाढी र डुवानका कारण आक्रान्त बन्दै आएका कैलालीको भजनीका स्थानीयले कान्द्रा नदीमा एक किलोमीटर जैविक तटबन्धको काम गरेका छन् । बर्सेनि आउने कान्द्रा नदीको बाढीले वस्ती विस्थापित हुँदै गएपछि भजनी नगरपालिका वडा नं. ४ झलझलियामा स्थानीयको जनश्रमदान मार्फत एक किलोमीटर भन्दा बढी जैविक तटबन्ध गरिएको हो । दुई हप्तासम्म दैनिक तीनचार सय स्थानीयको सहभागितामा नदी नियन्त्रणको काम भएपछि यतिबेला सो क्षेत्रका नागरिकहरु यसवर्ष विगत जस्तो बाढीले क्षति नगर्नेमा विश्वस्त छन् ।
“कान्द्रा नदी भजनीका लागि ठुलो दु:ख हो । बर्सेनि सयौं बिघा खेतीयोग्य जमिन बगर बनाउँछ । कयौं परिवार विस्थापित हुन्छन् ।” स्थानीय टेकबहादुर रावलले भन्नुभयो, “हामीले मागेको गुहार कसैले सुन्दैन ।” जैविक तटबन्धले केही हदसम्म नदी नियन्त्रण गर्ने बताउँदै सयौं स्थानीयले जनश्रमदान गर्दा पनि कुनै सरकारले नदेखिएको उहाँको गुनासो छ । बाढी आएपछि राहत ल्याएर आउनुभन्दा नदी नियन्त्रणका लागि तटबन्धको योजना ल्याएर आउन आफ्ना क्षेत्रका सांसदहरूलाई उहाँले आग्रह गर्नुभएको छ ।
२०६५ असोज ४ गते आएको कान्द्रा नदीको बढीले झलझलिया क्षेत्रका तीन सय ५० परिवार विस्थापित भएका थिए । त्यसबेला ३५ घर बाढीले बगाएको थियो भने स्थानीय धनपती जैशीले बाढीमा परी ज्यान गुमाउनुपरेको थियो । त्यसपछिका वर्ष कठिन बन्दै गएको स्थानीय बताउँछन् । सो क्षेत्रमा मात्रै कान्द्रा नदीका कारण बर्सेनि ५०/६० बिघा खेतीयोग्य जमीन बगर बन्दै गएको छ । दर्जनौं परिवार त्यहाँबाट स्थानान्तरण भैसकेका छन् । अर्को ठाउँ विकल्प नभएका स्थानीय संघर्षको जीवनयापन गर्न बाध्य रहेको बताइन्छ ।
उसो त बर्सेनि नदी नियन्त्रणमा भजनीका स्थानीयले जनश्रमदान गर्दै आएका छन् । जिल्लाकै बाढी र डुवानको उच्च जोखिममा रहेको भजनीलाई बाढी र डुवान मुक्त बनाउन सरकारले काम नगरेको सर्प धामी बताउनुहुँन्छ । उहाँका अनुसार पटकपटक नदी नियन्त्रणका लागि तटबन्धको विषय उठ्ने गरेको भए पनि त्यसले सार्थक रुप लिन सकेको छैन । “बजेट अहिले पनि आउँछ । संघ र प्रदेशले टुक्रे बजेट विनियोजन गरेर कार्यान्वयन हुँदै आएको छ ।” उहाँ भन्नुहुन्छ, “त्यो तटबन्ध प्रभावकारी बन्न सकेको छैन । टुक्राटुक्रामा बनेको तटबन्ध एक वर्ष पनि टिक्दैन । हामीले दीर्घकालीन अध्ययन सहितको योजना चाहिएको छ ।”
नदी नियन्त्रणका लागि पटकपटक हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ नभएपछि सरकारलाई चुनौती दिँदै स्थानीयहरु स्वस्फूर्त रुपमा नदी नियन्त्रणमा लागेको झलझलिया गाउँका भलमन्सा भरत चौलागाईंले बताउनुभयो । उहाँका अनुसार टोल विकास संस्थाको समन्वयमा तटबन्धको काम भैरहेको छ । “गाउँमा रहेका पाँचवटा टोल विकास संस्थाको समन्वयमा प्रती घर एक सय रुपैयाँ संकलन गरेर जैविक तटबन्धको काम सुरु गरेका थियौँ ।” उहाँ भन्नुहुन्छ, “अन्य सामाजिक संघसंस्था, कतिपयको व्यक्तिगत आर्थिक सहयोगले दुई हप्ता काम गर्न सकेका छौँ ।”
जैविक तटबन्ध निर्माणका लागि भजनी नगरपालिकाको सिफारिसमा १० हजार कट्टा सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय धनगढीले सहयोग गरेको थियो ।स्थानीय निर्माण व्यवसायीले जेसेभी सहयोग गरेका छन् । कतिपयले आर्थिक सहयोग पनि गरेका छन् । भजनी नगरपालिकाले एकदिन जेसीबी सहयोग गरेको छ । सहकर्मी समुहले सहयोग गरेको छ । सुरुवातमा काम गर्न चुनौती भए पनि पछिल्ला दिनमा भएको सहयोगले जनश्रमदानमा जोडिएका स्थानीयलाई खाजा पानीको व्यवस्थापन गर्न सकिएको चौलागाईं बताउनुहुँन्छ ।
भजनी नगरपालिका चारैतिरबाट नदीले घेरेको छ । भजनी क्षेत्र भएर कान्द्रा, काँढा, पथरैया र मोहना नदी बग्ने गर्छन् । चारै नदीले भजनीलाई बर्सेनि दु:ख दिँदै आएको छ । पथरैया नदीमा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले केही भाग तटबन्ध गरेको छ । तटबन्धको योजना माग्दा माग्दै संघ र प्रदेश सरकारसँग थाकिसकेको नगर प्रमुख केवल चौधरी बताउनुहुँन्छ । “कैयौंपटक तटबन्धको योजना लिएर प्रदेश र संघका मन्त्रालय पुगियो तर, काम कहिल्यै भएन ।” उहाँ भन्नुहुन्छ, “हाम्रो स्रोतले भ्याउने स्थिति छैन । करोडौं अर्बौंको लागत आवश्यक छ । हामी आग्रह गर्दै आएका छौँ सरकार सुन्दैन ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *