जरिवाना तिरेर काम गर्दै निर्माण कम्पनी

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २९ फागुन
कैलाली टीकापुर नगरपालिकाले सम्झौताको समयावधिमा विकास निर्माणका काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराउन थालेको छ । गत आर्थिक वर्षमा सम्झौता भएर गतवर्षको असार मसान्तसम्म सम्झौता म्याद भइ चालू आर्थिक वर्षको पुस मसान्तसम्म म्याद थप भएर काम सम्पन्न नभएका आयोजनाको काम जरिवाना तिराएर गराउन थालेको हो । पुस मसान्तमा म्याद सम्पन्न भएर काम सम्पन्न नगरेका पाँचवटा निर्माण कम्पनीले दैनिक जरिवाना तिरेर काम गरिरहेका छन् । सम्झौता रकमको शून्य दशमलव ०५ प्रतिशत ती निर्माण कम्पनीले जरिवाना तिरेर काम गरिरहेको नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताउनुभयो ।
उहाँका अनुसार २०९१ साउन १० गते सम्झौता भएर निर्माण थालिएको वडा नं. ३ को बडघर घर ६ महिना म्याद थप गरेर पनि सम्पन्न भएको छ । ३१ लाख ५० हजारमा सम्झौता भएको उक्त बडघर घर निर्माणको जिम्मा सेतो बाघ बिल्डर्सले पाएको थियो । उसले सम्झौता अवधीभित्र काम सम्पन्न नगर्दा दैनिक एक हजार पाँच सय ७५ रुपैयाँ जरिवाना नगरपालिकालाई तिर्दै आएको छ । “आयोजनाको म्याद सकिएर थप भएन भने निर्माण कम्पनीले दुई सय दिन भित्र जरिवाना तिरेर काम सम्पन्न गर्नुपर्छ ।” इन्जिनियर रावलले भन्नुभयो, “त्यो समयावधिमा पनि सकिएन भने निर्माण कम्पनीलाई कालोसूचीमा राखेर योजनाको बाँकी कामका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्छ ।”
वडा नं. ९ को वडा गौरवको सडक कालोपत्रे आयोजनाको काम पाएको ओम निर्माण सेवा जरिवाना तिएर काम गरिरहेको छ । २०८१ मंसिर २७ गते सडक कालोपत्रेको सम्झौता भएको थियो । ५५ लाख ९५ हजार चार सय ५३ रुपैयाँमा सम्झौता गरेको निर्माण सेवाले दुई हजार ७ सय ९७ रुपैयाँ प्रतिदिन जरिवाना तिर्दै आएको छ । निर्माण कम्पनीका सञ्चालक दिनेश रावलले नगरपालिकाले समयमा बिल भुक्तानी नगर्दा समयमा काम सम्पन्न गर्न नसकिएको गुनासो गर्नुभएको छ ।
“असारमा पेश गरेको बिलको भुक्तानी अर्को वर्षको माघमा हुन्छ । कसरी समयमा काम सम्पन्न गर्नु ?” उहाँले भन्नुभयो, “नगरपालिकाबाट भएको ढिलासुस्तीको क्षतिपूर्ति हामीले पाउँदैनौं । अब म्याद थप नभएपछि जरिवाना त तिर्नै पर्यो ।” गत आर्थिक वर्षमा प्रमुख प्रशासकीय अधिकृतको समस्याका कारण कैयौं कामहरू अस्तव्यस्त भएका थिए । त्यसबेला सेवाग्राहीबाट नगरपालिकाको अन्य सेवा प्रवाहमा समेत निकै गुनासो आउने गरेको थियो ।
त्यसैगरी गत आर्थिक वर्षको वडा नं. ८ को गौरवको आयोजनाको काम पनि सम्पन्न हुन सकेको छैन । कंकृट वाल निर्माण गर्नुपर्ने भए पनि हिडा कन्स्ट्रक्सनले भरखरै काम सम्पन्न भएको जानकारी दिएको छ । २०८१ फागुन २२ गते असार १५ गतेसम्म सम्पन्न गर्ने गरी ५० लाख ५४ हजार दुई सय ५६ रुपैयाँमा आयोजनाको सम्झौता भएको नगरपालिकाका इन्जिनियर नवराज जोशीले जानकारी दिनुभएको छ । केही दिन अगाडि मात्रै काम सम्पन्न गरेको कन्स्ट्रक्सनका प्रबन्धक हर्कबहादुर साउँदले जानकारी दिनुभएको छ ।
हिडाले नै जिम्मा पाएको वडा नं. ४ को वडा गौरवको कालोपत्रे आयोजना अझै सम्पन्न भएको छैन । २०८१ चैत ४ गते ३९ लाख ७५ हजार ९ सय ७३ रुपैयाँमासम्झौता भएको उक्त आयोजना चैतको १५ गतेभित्र सम्पन्न गर्ने साउँदको भनाई छ । “सडकको बेसको काम कार्तिकमै सम्पन्न भएको थियो । यसवर्ष चिसो छिटो सुरु भएपछि समयमा कालोपत्रेको काम अगाडि बढाउन पाइएन ।” उहाँले भन्नुभयो, “कालोपत्रे गर्ने काम मात्रै बाँकी भएकोले चैत १५ गतेसम्म काम सम्पन्न गर्छौं ।”
त्यसैगरी टीकापुर नगरपालिका वडा नं. १ मा निर्माण भैरहेको जनयुद्ध तथा सहिद स्मृति पार्कको काममा पनि निकै ढिलासुस्ती देखिएको छ । २०८१ पुस १९ गते अस्मिता निर्माण सेवासँग नगरपालिकाले ५६ लाख ३८ हजार पाँच सय २० रुपैयाँमा सम्झौता गरेको थियो । असार मसान्तसम्म सक्नुपर्ने काम पुस मसान्तसम्म पनि सम्पन्न नभएपछि निर्माण सेवा जरिवाना तिरेर काम गरिरहेको इन्जिनियर जोशी बताउनुहुँन्छ ।
उता निर्माण कम्पनीका प्रबन्धक नेत्रबहादुर रावलले सम्झौतामा एकतर्फी हस्ताक्षर भएर केही महिना प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरले काम रोकिँदा ढिलाइ भएको बताउनुभयो । “समस्या आआफ्नै छन् । कार्यालयले गर्नुपर्ने काम समयमा नहुँदा, बजारमा आवश्यक सामाग्री समयमा नपाइँदा समयमा काम सम्पन्न गर्न समस्या हुँदै आएको छ ।” उहाँ भन्नुहुन्छ, “अब त जरिवानामा पर्न थालेपछि काम जुनसुकै हालतमा पनि सक्नै पर्छ ।”
नगरपालिकाले यसभन्दा पहिले पाँच पटकसम्म आयोजना सम्पन्न नहुँदा पनि म्याद थप्ने गरेको भए पनि यसवर्षबाट त्यो हटाएको छ । “हाम्रो अपेक्षा जतिसक्दो छिटो काम सम्पन्न होस् भन्ने हो । हिजो के नगरपालिका भित्रबाट के समस्या भयो थाहा भएन तर अब कुनै समस्या हुन्न ।” प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले भन्नुभयो, “समयमा आयोजनाको सम्झौता हुन्छ, समयमा सम्पन्न गर्नुपर्छ । म्याद थप अबका दिनमा अपबाद बाहेक हुन्न ।”

ताजा खबर

भजनीले सकेन शिक्षक सरुवा गर्न

अतिक्रमित जग्गा माथी चल्यो डोजर

क्वारेन्टाइन र सीमा समस्या बारे छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *