जाड खाने थलो महोत्सव नहोस्

शेयेर गर्नुहोस


सम्पादकीय २० पुस/
कला, संस्कृति, भेषभुषा अनि स्थानीय स्तरमा भएका सम्भावनालाई उजागर गर्दै त्यसको संरक्षण र सम्बर्द्धनका लागि केही वर्षदेखि हरेक क्षेत्रमा मेला महोत्सव आयोजना हुँदै आएका छन् । ती मेला महोत्सवले स्थानीय व्यापारको प्रवर्द्धनलाई पनि समेटेका हुन्छन् । त्यतिमात्र नभई, स्थानीय विकासका मुद्दालाई समेत समेट्दै महोत्सवको परिकल्पना गर्ने निकायको मुख्य उद्देश्य त्यहीँ हो त ? यदि हो भने आजसम्म मेला महोत्सवको नाममा कुन कला, संस्कृति अनि भेषभुषाको संरक्षण अनि सम्बर्द्धन भयो भन्ने कुराको ल्याकत खोज्ने समय भएको छ ।
किनभने यसमा प्रत्यक्ष रुपमा महोत्सवको अवलोकन गर्नेहरुले त मेला र महोत्सवको नाममा पैसा खर्च गर्दै आएका छन् । नत्र महोत्सव प्रती रुचि नभएका आम नागरिकहरूले सरकार मार्फत पनि त्यस्ता मेला महोत्सवमा कैयौं रकम दिँदै आएका छन् । खासगरी पश्चिम तराईका जिल्लामा आयोजना हुने महोत्सवमा थारु गाउँ बनाउने प्रचलन छ । त्यो थारु गाउँको जिम्मेवारी थारु कल्याणकारी संस्थाले लगभग लिएको हुन्छ । त्यसको उद्देश्य थारु पौराणिक कला र संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्ने नै हो जस्तो लाग्छ । तर, त्यो गाउँ महोत्सवमा विशुद्ध जाड रक्सी बिक्रीवितरणका लागि बनाइएको हो भन्ने कुरामा दुई मत छैन । महोत्सवको बाहिरी स्टलमा मदिरा बिक्रीवितरण गर्न पाइँदैन । त्यहीँ थारु गाउँको नाममा बनाइएको बन्द घेरबार भित्र मदिरा भन्दा अरु केहि पाइँदैन । अझै अनौठो कुरा त के भने लोकल मदिरा बिक्रीवितरणमा रोक लगाउने प्रहरी प्रशासन त्यहाँ देखेर पनि आँखामा पट्टी बाधेजस्तो गर्छ । त्यो ठाउँमा प्रायः लोकल भन्दा अरु मदिरा कम बिक्रीवितरण हुन्छ ।
त्यसले महोत्सवको नाममा कति अराजकता मौलाउने गरेको छ भन्ने कुरा सायद भनिरहनु पर्दैन । बिधालय उमेरका बालबालिका देखि जेष्ठ नागरिक भनेर महोत्सव भित्र प्रवेश गरेकाहरु सबै लठ्ठ हुन्छन् । यसले निश्चित समय महोत्सवलाई प्रभावित पार्ने काम मात्रै होइन समाजलाई नराम्रो लतमा फसाउने काम कतै महोत्सवले गरेको त छैन ? यो कुरामा गम्भीर हुनुपर्छ । कला अनि संस्कृतिलाई देखाएर जाड रक्सिको व्यापार महोत्सव भित्र हुनु हुँदैन । महोत्सवलाई जुन उद्देश्य अनुसार सञ्चालन गर्ने भनिएको हो, त्यसैअनुसार सञ्चालन गर्नुपर्छ । महोत्सव जाड रक्सिको आहाल बनाइनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *