शेयेर गर्नुहोस
टीकापुर २१ चैत /
जानकी गाउँपालिकाले सहकारी दिवसको अवसरमा सहकारीलाई सम्मान सहितको कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका उपाध्यक्ष लालमती कठरियाको अध्यक्षतामा भएको कार्यक्रमा गाउँपालिका भित्रका ११ वटा सहकारीलाई सम्मान गरिएको छ । गाउँपालिकामा ६८ वटा सहकारी रहेको देखिन्छ । जसमध्ये कृषि सहकारी मात्रै ३२ वटा रहेका छन् । त्यसैगरी ग्रामीण विद्युत सहकारी १८, बचत तथा ऋण ८, अन्य ५, बहुउद्देश्यीय चार र उपभोक्ता सहकारी एउटा रहेको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सहकारीले आफ्नो उद्देश्य अनुसार काम गर्दै उत्पादनलाई विषेश जोड दिनुपर्ने बताएका छन् । “एउटा उद्देश्य लिएर सञ्चालन भएको सहकारी सबै काम गर्न खोज्छन् ।” त्यो गलत हो, “जुन उद्देश्य हो त्यसैलाई आत्मसात गर्दै शेयर सदस्यको जीविकोपार्जनमा परिवर्तन ल्याउन सके मात्रै सहकारीले लक्ष्य हासिल गर्न सक्छन् ।”उनले बिना योजना काम गर्दा कैयौं सफलता हासिल गर्न नसकिएको बताउँदै परिवर्तनका लागि पनि योजना आवश्यक हुने बताए ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाका दिपक ढुंगानाले सहकारी श्रम केन्द्रित हुनुपर्ने भन्दै अहिले ठिक उल्टो पुँजी केन्द्रित भैरहेको बताएका छन् । उनले शेयर सदस्यको नाफा नै सहकारीको नाफा भएको बताउँदै सहकारी नाफा कमाउने माध्यम नभएको उल्लेख गरे । ढुंगानाले सहकारी विषयगत हुन नसकेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट, वडा नं.५ का वडा अध्यक्ष भीमबहादुर चौधरी, बिज वृद्धि कृषक सहकारीका अध्यक्ष विजयकुमार कठरिया, बप्पल रावत लगायतले शुभकामना मन्तव्य राखेका थिए । रामप्रसाद चौधरीले सञ्चालन गरेको कार्यक्रमको स्वागत सहकारी शाखा प्रमुख सन्दीप साउँदले गरेका थिए ।








