शेयेर गर्नुहोस
टीकापुर १७ असार /
जनसंख्या सन्तुलन तथा व्यवस्थित शहरीकरण र जनस्वास्थ्य सवाल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रियात्मक छलफल गरिएको छ ।
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढी कैलालीको आयोजनामा उक्त सरोकारवाला निकायसँग छलफल गरिएको हो । छलफलका क्रममा सुदुरपश्चिम प्रदेशका पुर्व डिन सहप्राध्यापक भान सिंह चलाउनेले घट्दो जन्मदर, अव्यवस्थित शहरीकरण, बेरोजगारी र बसाइँसराइका कारण जनसंख्याको सन्तुलन मिलाउन निकै चुनौती देखिएको बताएका छन् । उनले घट्दो जन्मदरसँगै हिमाली र पहाडी क्षेत्रमा घट्दो जनसंख्याका अगाडि तराईमा शहरीकरण तिब्र रुपमा विस्तार भैरहेको बताए । अझै तथ्यांकलाई आधार मान्ने हो भने तराईका जिल्ला भन्दा हिमाली र पहाडी जिल्लामा जन्मदर निकै कम देखिएको छ ।
तथ्यांकका आधारमा तराईमा कुल जनसंख्याको ५३ दशमलव ६१ प्रतिशत बसोबास गर्दै आएको छ भने पहाडमा ४ दशमलव ३१ र हिमाली क्षेत्रमा ६ दशमलव ८ प्रतिशत जनसंख्या बसोबास गर्दै आएको छ । त्यसमा पनि शहरमा बस्ने जनसंख्या ६६ दशमलव १७ प्रतिशत छ । सहप्राध्यापक चलाउनेका अनुसार हाल देशमा काम गर्न सक्ने क्षमता भएको जनसंख्या सबैभन्दा बढी छ । “काम गर्न सक्ने जनसंख्या बढी छ तर नेपालमा निकै कम छ ।” उनले भने, “रोजगारीको सिलसिलामा अधिकांश काम गर्न सक्षम जनसंख्या देश बाहिर छ ।”
उनका अनुसार २० वर्षपछि काम गर्ने भन्दा काम गर्न नसक्ने अरुमा आश्रीत जनसंख्या बढी हुनेछ । दक्ष जनशक्तिको अभाव हुनेछ । सुदुरपश्चिममा सबैभन्दा बढी गरिबी दर रहेको छ । यहाँ ३४ दशमलव १६ प्रतिशत गरिबी दर छ । राष्ट्रिय बजेटको आधारमा पनि विनियोजन भएको बजेटको खर्च अनुपात निकै कमजोर रहेको देखिन्छ । प्रदेशमा कुल बजेटको आधा वर्षमा १० प्रतिशत मात्रै बजेट खर्च हुने गरेको तथ्यांकले देखाएको छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार सुदुरपश्चिम शिशु मृत्युदरको जोखिम अझै उच्च रहेको छ । प्रती हजारमा नेपालको तथ्यांक हेर्दा ३३ जना शिशुले ज्यान गुमाउँछ्न भने, प्रदेशमा ४९ जनाले ज्यान गुमाउनुपरेको छ । अझै जन्मेको २८ दिनभित्र २१ जना शिशुको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । “मातृ मृत्युदर विगत ५ वर्षको तथ्यांक हेर्दा करिब ३७ प्रतिशत घटेको छ । नेपालमा एक लाख आमा मध्ये एक सय ५१ जनाले ज्यान गुमाउँदा सुदुरपश्चिममा भने एक सय ३० जनाले ज्यान गुमाएका छन् ।” उनले भने, “मातृ मृत्युदर घट्दै गए पनि शिशु मृत्युदर घटाउन अझै चुनौती देखिएको छ ।” हाल ८० प्रतिशतले पुर्ण खोप पाएकोमा चार प्रतिशत खोपको पहुँच बाहिर रहेको पाइएको छ ।
सरोकारवालाले छलफलमा जनसंख्याको सन्तुलन मिलाउनको लागि स्थानीय तहले नागरिकहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सक्नुपर्ने बताएका छन् । आवश्यकताको आधारमा स्थानीय क्षेत्रमै रोजगारी, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर जन्मदर वृद्धि गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । पत्रकार एकिन्द्र तिमिल्सिनाले कम्तिमा तीनजना बच्चा जन्माने गरी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न सक्यो र सम्भावनाका आधार स्थापित गर्न सके मात्रै जनसंख्या बढाउनका लागि प्रेरित गर्न सकिने बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक लालबीर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता प्रादेशिक स्वास्थ्य प्रबर्द्धन केन्द्रका निर्देशक तेज विक्रम शाहीले गरेका थिए । कार्यक्रमा स्वागत टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रबर्द्धन शाखाका प्रमुख बलबहादुर रावलले गरेका थिए भने सञ्चालन मीनबहादुर धामीले गरेका थिए ।










